छोटी भन्सार खोल्न माग गर्दै रामपुर खापमा तेस्रो दिन पनि धर्ना, सोमबारदेखि आमरण अनसनको चेतावनी

रामपुर खाप छोटी भन्सार खुलाउन तेस्रो दिन पनि रिले अनसन जारी: सीडीओ र भन्सार प्रमुखद्वारा समस्या सुल्झाउनुको सट्टा धम्क्याउने शैलीमा कुराकानी गरेको आरोपरौतहट। रौतहट जिल्लाको परोहा नगरपालिका वडा नं. ९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय पुनः सुचारु गर्न माग गर्दै स्थानीयबासीले सुरु गरेको धर्ना तथा रिले अनसन आज तेस्रो दिन पनि निरन्तर जारी रहेको छ। लामो समयदेखि नाका बन्द हुँदा सीमा क्षेत्रका बासिन्दाहरूलाई भारततर्फ आवतजावत गर्न र दैनिक जीविकोपार्जन गर्न निकै सास्ती भइरहेको छ।यसअघि पनि यस क्षेत्रका समस्या समाधानका लागि रौतहट जिल्लाका सम्पूर्ण सरोकारवाला निकायहरूसँग पटक-पटक मौखिक सम्झौता र सहमति भए पनि त्यसलाई कार्यान्वयन गर्न आनाकानी गरिएकाले स्थानीय सीमाबासी झन् ठूलो समस्यामा परेका हुन्।यसैबीच, आज धर्ना तथा रिले अनसन स्थलमा अनुगमन र बार्ताका लागि पुगेका रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ), सुरक्षा निकायका प्रमुखहरू र गौर भन्सार कार्यालयका प्रमुखले जनताको मर्का बुझेर समस्या समाधान गर्नुको सट्टा उल्टै थर्काउने र धम्क्याउने शैलीमा छलफल गरेको आन्दोलनकारीहरूले गम्भीर आरोप लगाएका छन्। राज्यका जिम्मेवार अधिकारीहरूको यस्तो गैरजिम्मेवार व्यवहारले आन्दोलित सीमाबासीलाई थप आक्रोशित बनाएको छ।नेपाल सिमाना सँघर्ष समिति र आन्दोलनरत स्थानीयका अनुसार विक्रम संवत २००७ सालदेखि नै रामपुर खापमा छोटी भन्सार कार्यालय सञ्चालनमा रहेको ऐतिहासिक तथ्य छ। तर, गौर भन्सार कार्यालयका प्रमुखको गलत नीतिका कारण यो नाका बन्द हुँदा अर्बौँ रुपैयाँ बराबरको राजस्व संकलन प्रभावित भई ठूलो मात्रामा राजस्व चुहावट (तस्करी) भइरहेको सिमाना नजिकका बासिन्दाहरू बताउँछन्। एकातिर राज्यले राजस्व गुमाइरहेको छ भने अर्कोतिर सर्वसाधारण आम जनताले अनावश्यक रूपमा सास्ती र दुःख खेप्नु परिरहेको छ।सरोकारवाला निकायले आजको छलफलमा पनि कुनै सकारात्मक निकास ननिकालेकाले पूर्व निर्धारित कार्यक्रम अनुसार आगामी सोमबारदेखि अनिश्चितकालीन आमरण अनसन बस्ने तयारी अन्तिम चरणमा पुगेको नेपाल सिमाना सँघर्ष समितिले स्पष्ट पारेको छ।

Facebook Comments Box
TOP
15 Shares