हेटौँडामा एक साताभित्र विधि विज्ञान प्रयोगशाला सञ्चालन गर्दै नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले हेटौँडास्थित प्रदेश प्रहरी कार्यालयमा एक साताभित्रै विधि विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले हेटौँडामा विधि विज्ञान प्रयोगशाला सञ्चालनका लागि आवश्यक उपकरण ल्याइसकिएको र हाल ‘सेटअप’को काम भइरहेको जानकारी दिएका हुन् ।

आईजीपी कार्कीका अनुसार प्रयोगशाला सञ्चालनमा आएपछि प्रदेशस्तरमै वैज्ञानिक परीक्षणको सुविधा उपलब्ध हुनेछ । उनले भने, “हेटौँडास्थित प्रदेश प्रहरी कार्यालयमा पनि चाँडोभन्दा चाँडो अर्को प्रयोगशाला सञ्चालन गर्दैछौँ । मेसिन ल्याइसकेका छौँ, ‘सेटअप’ भइरहेको छ । एक हप्ताभित्र सञ्चालनमा आउँछ ।”

नेपाल प्रहरीको हाल सञ्चालनमा रहेको विधि विज्ञान प्रयोगशालाबाट वार्षिक करिब ४०० शवको डीएनए परीक्षण हुँदै आएको छ । तर पछिल्लो समय भोटेकोशी बाढी तथा त्यसबाट भएको ठूलो मानवीय क्षतिपछि शव पहिचानका लागि डीएनए परीक्षणको चाप बढेको छ ।

बाढीमा परी ज्यान गुमाउने तथा बेपत्ता भएकाहरूको पहिचानका लागि डीएनए परीक्षण आवश्यक पर्ने भएकाले हालको प्रयोगशालामाथि बढेको चाप कम गर्न हेटौँडामा नयाँ प्रयोगशाला सञ्चालन गर्न लागिएको हो ।

हेटौँडामा प्रयोगशाला सञ्चालनमा आएपछि शव तथा अन्य फरेन्सिक नमुनाको परीक्षणका लागि काठमाडौंमै निर्भर रहनुपर्ने अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ । यसले अनुसन्धान प्रक्रियालाई थप छिटो, प्रभावकारी र वैज्ञानिक बनाउनसमेत सहयोग पुग्ने प्रहरीको विश्वास छ ।

Facebook Comments Box
TOP
30 Shares