
‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ नारासहित राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

काठमाडौं । ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदैछ ।
बालमैत्री वातावरण निर्माण गर्दै बाल अधिकारको संरक्षण, प्रवर्द्धन र सुनिश्चितताका लागि नागरिक समाज तथा सबै सरोकारवालालाई थप जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले प्रत्येक वर्ष भदौ २९ गते राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै आएको छ ।
यस वर्षको बाल अधिकार दिवस प्राकृतिक विपद्बाट प्रभावित बालबालिकाको संरक्षणमा केन्द्रित हुनुपर्ने अवस्था देखिएको छ । भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो धनजनको क्षति भएको छ ।
बाढी तथा विपद्का कारण कतिपय बालबालिकाले बाबुआमा, संरक्षक तथा अभिभावक गुमाएका छन् भने केही अभिभावक तथा बालबालिका अझै बेपत्ता छन् । कतिपय बालबालिका स्वयं घाइते भएका छन् । यस्तो अवस्थामा प्रभावित बालबालिकाको तत्काल उद्धार, राहत, संरक्षण तथा पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिएको छ ।
राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले विपद्बाट प्रभावित बालबालिकालाई अस्थायी संरक्षण, मनोसामाजिक परामर्शलगायत आवश्यक सेवा उपलब्ध गराउन राज्य तल्लीन रहेको बताए ।
उनका अनुसार अभिभावक गुमाएका, बेपत्ता भएका वा विपद्का कारण असुरक्षित अवस्थामा पुगेका बालबालिकाको पहिचान गरी उनीहरूको संरक्षण र आवश्यक सेवामा पहुँच सुनिश्चित गर्नुपर्ने चुनौती रहेको छ ।
बालबालिकाको अधिकार संविधान तथा प्रचलित कानुनले सुनिश्चित गरे पनि प्राकृतिक विपद्, पारिवारिक विघटन तथा अन्य संकटका समयमा उनीहरू थप जोखिममा पर्ने भएकाले राज्य, स्थानीय तह, नागरिक समाज र सम्बन्धित सबै निकायबीच समन्वय आवश्यक रहेको सरोकारवालाको भनाइ छ ।
राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा आज राष्ट्रिय बाल अधिकार परिषद्लगायत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले बाल अधिकार संरक्षण र प्रवर्द्धनसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गर्दैछन् ।
बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा, संरक्षण र सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्दै विपद्का कारण जोखिममा परेका बालबालिकालाई सुरक्षित वातावरण प्रदान गर्नु यस वर्षको दिवसको प्रमुख सन्देश बनेको छ ।
समाज
थप सामाग्री
परिवारको भविष्य २८ प्रहरीका सन्ततिलाई मास्टर्ससम्म निःशुल्क शिक्षा, आइजिपी दानबहादुर कार्कीको कल्याणकारी नेतृत्वको प्रशंसा
३ दिन अगाडि
2.8kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । कर्तव्य निर्वाहका क्रममा प्राकृतिक विपद्को प्रत्यक्ष मारमा परेका नेपाल…





