
विपद्का बेला रमिता होइन, जिम्मेवारी खोजौं

काठमाडौं । देश यतिबेला प्राकृतिक विपत्तिको गहिरो पीडाबाट गुज्रिरहेको छ। प्रलयकारी बाढीले सयौं परिवारको सहारा खोसेको छ, हजारौं नागरिकलाई विस्थापित बनाएको छ र कतिपयको घरबार, सम्पत्ति तथा जीवनभरको कमाइ एकै झट्कामा बगाएको छ। परिवारका सदस्य, आफन्त र सर्वस्व गुमाएका नागरिकको पीडा शब्दमा व्यक्त गर्न कठिन छ।
यस्तो राष्ट्रिय संकटको घडीमा सुरक्षा निकाय, निजामती कर्मचारी, प्राविधिक तथा विभिन्न क्षेत्रका विज्ञहरू उद्धार, खोज तथा पुनःस्थापनामा अहोरात्र खटिरहेका छन्। मन्त्री, सांसद र स्थानीय तहका जनप्रतिनिधिहरू पनि आ–आफ्नो जिम्मेवारीअनुसार मैदानमा उत्रिरहेका छन्। यस्तो अवस्थामा राज्यका हरेक जिम्मेवार निकाय र जनप्रतिनिधिको पहिलो प्राथमिकता नागरिकको ज्यान जोगाउने, विस्थापितलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने र संकटलाई सामान्य अवस्थामा फर्काउने हुनुपर्छ।
तर यही संवेदनशील समयमा केही सांसदको गतिविधिले गम्भीर प्रश्न उठाएको छ। संसद् नीति, विधि र कानुन निर्माण गर्ने सर्वोच्च जनप्रतिनिधिमूलक संस्था हो। जनताको आवाज उठाउने नाममा संसद्को मर्यादा र संवैधानिक सीमालाई भुल्ने छुट कसैलाई छैन।
देशमा नदी किनारबाट विस्थापित नागरिकको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। बजारमा ग्यासको अभाव देखिएको छ। दैनिक उपभोग्य वस्तुको मूल्य बढिरहेको छ। बाढीपहिरोले सडक, पुल, विद्युत्, खानेपानी र सञ्चार संरचनामा ठूलो क्षति पुर्याएको छ। हजारौं नागरिक अझै आफन्तको खोजीमा छन्। यस्तो बेला संसद्मा यी विषयमा गम्भीर बहस हुनुपर्ने हो। सरकारलाई जवाफदेही बनाउनुपर्ने हो। तत्कालीन र दीर्घकालीन समाधानका उपाय खोजिनुपर्ने हो।
तर त्यसको सट्टा एउटा मात्र विषयलाई लिएर राज्यको एउटा महत्वपूर्ण सुरक्षा संगठनका प्रमुखलाई हटाउनुपर्छ भन्ने अभियान चलाउनु कति उचित हो भन्ने प्रश्न उठ्नु स्वाभाविक छ।
कुनै व्यक्ति वा संस्था कानुनभन्दा माथि हुँदैन। प्रहरी संगठनको नेतृत्वमा रहेका व्यक्ति पनि त्यसको अपवाद होइनन्। प्रहरी महानिरीक्षक वा अन्य कुनै उच्च पदाधिकारीमाथि गम्भीर आरोप छन् भने त्यसको निष्पक्ष छानबिन हुनुपर्छ। प्रमाणले दोषी देखाए कानुनबमोजिम कारबाही हुनैपर्छ। यसमा कसैको विमति हुन सक्दैन।
तर आरोप लाग्नु र दोषी प्रमाणित हुनु एउटै कुरा होइन।
राज्यसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अदालत, सम्पत्ति छानबिन तथा अनुसन्धान गर्ने अन्य संवैधानिक र कानुनी संयन्त्र छन्। प्रमाणसहित उजुरी परे ती निकायले अनुसन्धान गर्न सक्छन्। आवश्यक परे अभियोजन र कारबाहीको प्रक्रिया अघि बढ्न सक्छ। त्यसैले संसद्को लोगो लागेको छ भन्दैमा कसैलाई प्रमाणबिनै सार्वजनिक रूपमा दोषी करार गर्ने अधिकार प्राप्त हुँदैन।
संसद् न्यायालय होइन। संसद्ले अनुसन्धान गर्न सक्छ, सरकारलाई प्रश्न गर्न सक्छ, जवाफदेही बनाउन सक्छ र आवश्यक कानुन तथा नीतिगत निर्णय गर्न सक्छ। तर अदालतले गर्ने अन्तिम न्यायिक निर्णयको स्थान संसद्ले लिन मिल्दैन। सार्वजनिक पदमा बसेका व्यक्तिको चरित्रहत्या गर्ने वा प्रमाण पुष्टि नभएका आरोपलाई बारम्बार दोहोर्याएर जनमतमा दोषी ठहर गर्ने प्रवृत्ति लोकतान्त्रिक संस्कार होइन।
राजनीतिक असहमति हुनु स्वाभाविक हो। सरकारका निर्णयमाथि प्रश्न उठाउनु सांसदको अधिकार हो। तर अधिकारसँगै जिम्मेवारी पनि आउँछ। जनप्रतिनिधिले बोलेको प्रत्येक शब्दको प्रभाव समाजमा पर्छ। त्यसैले सांसदको अभिव्यक्ति व्यक्तिगत रिस, पूर्वाग्रह वा राजनीतिक प्रतिशोधभन्दा माथि हुनुपर्छ।
झन् आफ्नै सरकारका विषयमा ‘सरकार असफल भयो’, ‘यो सत्ता तासको पत्ता हो’ जस्ता टिप्पणी गर्दै सार्वजनिक रूपमा निराशा र अविश्वास बढाउने कामले राजनीतिक दललाई बलियो बनाउँदैन। सरकारको कमजोरी देखिए त्यसलाई पार्टीभित्र संस्थागत रूपमा उठाउने, संसद्मा प्रश्न गर्ने र जनताको पक्षमा सुधारका लागि दबाब दिने बाटो लोकतान्त्रिक हुन्छ। सार्वजनिक जिम्मेवारीमा रहेका नेताले आफ्नै राजनीतिक घर भत्काउने शैली अपनाउनु कसैका लागि पनि हितकर हुँदैन।राष्ट्रिय स्वतन्त्र पार्टीले यस विषयमा अझ गम्भीर भएर सोच्नुपर्ने समय आएको छ।
कुनै पनि राजनीतिक दल ठूलो हुँदैमा सुरक्षित हुँदैन। दलभित्र अनुशासन, नेतृत्वप्रति उत्तरदायित्व, संस्थागत निर्णयको सम्मान र सार्वजनिक अभिव्यक्तिमा संयम भएन भने ठूलो जनसमर्थन पनि विस्तारै कमजोर हुन सक्छ। इतिहासमा धेरै दलहरू बाहिरी शक्तिले भन्दा भित्री अव्यवस्था, गुटबन्दी र अनुशासनहीनताले कमजोर भएका उदाहरण छन्।
नेकपा एमाले र नेपाली कांग्रेसजस्ता पुराना र ठूला दलमा समेत नेतृत्वको कमजोरी, गुटगत स्वार्थ र केही व्यक्तिको गतिविधिले पार्टीको छविमा असर पुर्याएको बहस समय–समयमा हुँदै आएको छ। रास्वपा पनि त्यही बाटोमा जाने जोखिमबाट मुक्त छैन।
पार्टीमा अधिकांश नेता–कार्यकर्ता असल हुँदैमा मात्र पुग्दैन। एउटा कुहिएको आलुले पूरै बोरा बिगार्न सक्छ भन्ने सामान्य भनाइ राजनीतिमा पनि उत्तिकै लागू हुन्छ। पार्टी नेतृत्वले समयमै गलत प्रवृत्तिलाई नियन्त्रण गर्न सकेन भने त्यसको मूल्य अन्ततः पूरै संगठनले चुकाउनुपर्छ।
यसको अर्थ पार्टीभित्र प्रश्न उठाउन नहुने होइन। बरु प्रश्न उठ्नुपर्छ, आलोचना हुनुपर्छ, नेतृत्वमाथि दबाब पनि पर्नुपर्छ। तर प्रश्न प्रमाणसहित हुनुपर्छ, आलोचना तथ्यमा आधारित हुनुपर्छ र असहमति संस्थागत प्रक्रियाबाट व्यक्त हुनुपर्छ। यही लोकतान्त्रिक संस्कार हो।
आज देशलाई भाषणभन्दा काम चाहिएको छ। आरोप–प्रत्यारोपभन्दा उद्धार चाहिएको छ। सामाजिक सञ्जालमा एकअर्कालाई दोषी देखाउने प्रतिस्पर्धाभन्दा विस्थापित नागरिकको सुरक्षित पुनःस्थापना आवश्यक छ। ग्यासको लाइनमा उभिएका नागरिकको समस्या समाधान गर्नुपर्छ। महँगी नियन्त्रण गर्नुपर्छ। बाढीले भत्काएका संरचना पुनर्निर्माण गर्नुपर्छ। बेपत्ता नागरिकको खोजीलाई तीव्र बनाउनुपर्छ। पीडित परिवारलाई राहत र न्यायको अनुभूति दिलाउनुपर्छ।
सांसदको मुख्य परीक्षा यही हो—संकटको बेला उसले जनताको पक्षमा कति काम गर्यो?
कुनै प्रहरी अधिकारीमाथि प्रमाणसहित प्रश्न छन् भने छानबिन गरौं। दोषी भए कारबाही गरौं। निर्दोष भए आरोपबाट मुक्त गरौं। तर कानुनी प्रक्रिया पूरा नगरी सार्वजनिक रूपमा कसैको तेजोवध गर्ने अभ्यासलाई लोकतन्त्रको नाम दिन सकिँदैन।
रास्वपाका सभापति रवि लामिछानेले पनि यस विषयमा समयमै गम्भीर हस्तक्षेप गर्न आवश्यक छ। पार्टी ठूलो छ, धेरै मानिस राम्रा छन् भनेर मात्र संगठन बलियो हुँदैन। गलत प्रवृत्तिलाई समयमै सच्याउन नसक्ने नेतृत्व अन्ततः त्यसकै भारमा थिचिन सक्छ।
हामी त सबैको राम्रो देख्न चाहने वर्ग हौं। कुनै व्यक्ति, दल वा संस्थाको विनाशमा होइन, सुधार र सफलतामा हाम्रो चासो छ। प्रहरी संगठन सक्षम होस्, सरकार सफल होस्, संसद् मर्यादित होस् र राजनीतिक दलहरू जनताको विश्वास जित्ने बाटोमा अघि बढून्—हाम्रो चाहना यत्ति हो।
त्यसैले अहिलेको प्रश्न कसलाई हटाउने भन्ने होइन, कसले के प्रमाणसहित प्रश्न उठाएको छ र राज्यले त्यसको कानुनी परीक्षण कसरी गर्ने भन्ने हो।
विपद्को यो घडीमा देशलाई राजनीतिक रमिता होइन, जिम्मेवार राजनीति चाहिएको छ। जनताको आँसुमा राजनीति गर्ने होइन, त्यो आँसु पुछ्ने नेतृत्व चाहिएको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
दानबहादुर कार्कीको रिटमा आज सर्वोच्चमा सुनुवाइ, न्यायाधीश पौडेलको इजलासमा पेसी
-
आजको राशिफल : मंसिर २ गते बुधबार, कुन राशिलाई कस्तो छ आजको दिन ?
-
सरकार! प्रहरीमाथिको गैरकानुनी हस्तक्षेप टिक्ने छैन, विधिको शासनमाथिको खेल अन्ततः फेल हुनेछ
-
प्रहरी संगठन विधिको शासनले चल्ने कि प्रधानमन्त्रीको सनकले ? दानबहादुर कार्की हटाउने निर्णयमा सात गम्भीर कानुनी प्रश्न
-
१८ महिना कार्यकाल बाँकी छँदै हटाइएका दानबहादुर कार्कीको सरकारमाथि कानुनी प्रहार, निर्णय स्वेच्छाचारी भएको जिकिर
प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारका लागि महासंघ आन्दोलनमा, मंसिर ९ गते देशव्यापी प्रदर्शन गर्ने
२१ घण्टा अगाडि
1.6kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको…





