
तीजमा पशुपति क्षेत्रमा विशेष ट्राफिक योजना, विभिन्न स्थानमा तोकियो पार्किङ

काठमाडौँ । हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजाका लागि आउने भक्तजनको चापलाई मध्यनजर गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार पशुपति क्षेत्रका लागि विशेष ट्राफिक व्यवस्थापन योजना लागू गरेको छ ।
भक्तजनको भीड बढ्ने भएकाले यातायात आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन विभिन्न स्थानमा छुट्टाछुट्टै पार्किङको व्यवस्था गर्नुका साथै आवश्यक स्थानमा वैकल्पिक रुटसमेत सञ्चालनमा ल्याइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले जनरक्षालाई जानकारी दिए ।
ट्राफिक प्रहरीले जारी गरेको सूचनाअनुसार रातोपुल र कालोपुल क्षेत्रबाट पशुपति दर्शनका लागि आउने भक्तजनका सवारी साधन सिफल खाली चौरमा पार्किङ गर्नुपर्नेछ । बौद्ध क्षेत्रबाट आउने सवारी साधनका लागि गौरीघाट करिडोरमा पार्किङको व्यवस्था गरिएको छ ।
त्यस्तै, भीभीआईपी तथा रातोपुल र पुरानो बानेश्वरतर्फबाट आउने सवारी साधनका लागि भण्डारखाल र अमालकोट कोषको कार्यालय क्षेत्रमा पार्किङ व्यवस्था गरिएको छ । एयरपोर्टतर्फबाट आउने सवारी साधनले तिलगंगा आँखा अस्पताल अगाडिको क्षेत्रमा पार्किङ गर्न सक्नेछन् ।
तीर्थयात्री तथा दर्शनार्थीका सवारी साधनका लागि बागमती करिडोरमा पार्किङको व्यवस्था गरिएको छ भने शिविर सञ्चालन गर्ने संघ–संस्था, दमकल, एम्बुलेन्स, खानेपानी तथा सुरक्षाकर्मीका सवारी साधनका लागि वनकाली चौर छुट्याइएको छ ।
यसैबीच, तीजका दिन पशुपति क्षेत्र आसपासमा मालवाहक सवारी साधनको प्रवेशमा रोक लगाइएको ट्राफिक प्रहरीले जनाएको छ । मालवाहक सवारी साधनलाई तोकिएको वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।
जोरपाटी, बौद्ध, चाबहिल हुँदै गौशालातर्फ जाने मालवाहक सवारी साधनले चुच्चेपाटी, चाबहिल, सुकेधारा हुँदै चक्रपथको बाटो प्रयोग गर्नुपर्नेछ ।
त्यस्तै, कोटेश्वर, तिनकुने, गौशाला हुँदै बौद्ध वा सुकेधारातर्फ जाने मालवाहक सवारी साधनले जडीबुटी, काँडाघारी हुँदै बौद्धतर्फको वैकल्पिक मार्ग प्रयोग गर्नुपर्नेछ ।
भक्तपुर तथा कोटेश्वरबाट बौद्ध र जोरपाटीतर्फ जाने मालवाहक सवारी साधनले जडीबुटी, पेप्सीकोला, गोठाटार पुल हुँदै बौद्ध–जोरपाटी पुग्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ ।
पशुपति क्षेत्रमा तीजका दिन भक्तजनको अत्यधिक भीड हुने भएकाले ट्राफिक प्रहरीले सवारी चालक तथा यात्रुलाई तोकिएको पार्किङस्थल र वैकल्पिक मार्ग प्रयोग गर्न तथा ट्राफिक प्रहरीको निर्देशन पालना गर्न अनुरोध गरेको छ ।
समाज
थप सामाग्री
परिवारको भविष्य २८ प्रहरीका सन्ततिलाई मास्टर्ससम्म निःशुल्क शिक्षा, आइजिपी दानबहादुर कार्कीको कल्याणकारी नेतृत्वको प्रशंसा
३ दिन अगाडि
2.8kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । कर्तव्य निर्वाहका क्रममा प्राकृतिक विपद्को प्रत्यक्ष मारमा परेका नेपाल…





