
अत्यधिक वर्षाको जोखिमपछि पोखराका सबै विद्यालय दुई दिन बन्द

पोखरा । अत्यधिक वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढेपछि पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित सबै विद्यालय दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
मौसम विज्ञान विभागले आगामी दिनमा भारी वर्षा हुनसक्ने तथा त्यसबाट विभिन्न क्षेत्रमा बाढी, पहिरो लगायतका विपद्को जोखिम रहने भन्दै सतर्कता अपनाउन सूचित गरेपछि महानगरपालिकाले पूर्वसावधानीस्वरूप विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सूचना जारी गर्दै महानगर क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आज असोज ८ गते र भोलि असोज ९ गते स्थानीय बिदा दिने निर्णय गरिएको जानकारी दिएका छन्।
महानगरले उक्त दुई दिनको बिदा पछि दिइने अन्य सार्वजनिक बिदासँग समायोजन गर्ने जनाएको छ।
मौसम प्रतिकूल बन्दै गएको र सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिबाट जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै विद्यार्थी, शिक्षक तथा अभिभावकको सुरक्षालाई प्राथमिकतामा राखेर विद्यालय बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ।
यसअघि शिक्षा मन्त्रालयले पनि भारी वर्षा तथा सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार विद्यालयमा बिदा दिन आग्रह गरेको थियो। मन्त्रालयको आग्रहसमेतलाई ध्यानमा राख्दै पोखरा महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
महानगरपालिकाले यस अवधिमा विद्यार्थी, अभिभावक, शिक्षक तथा सम्पूर्ण महानगरवासीलाई सतर्क र सुरक्षित रहन आग्रह गरेको छ। सम्भावित जोखिमयुक्त क्षेत्रमा नजान तथा विपद्बाट जोगिन आवश्यक सावधानी अपनाउनसमेत महानगरले अनुरोध गरेको छ।
‘सुरक्षा नै पहिलो प्राथमिकता हो’ भन्दै महानगरपालिकाले प्रतिकूल मौसमका कारण उत्पन्न हुनसक्ने जोखिमबाट बच्न सबैलाई सचेत रहन आग्रह गरेको छ।
समाज
थप सामाग्री
परिवारको भविष्य २८ प्रहरीका सन्ततिलाई मास्टर्ससम्म निःशुल्क शिक्षा, आइजिपी दानबहादुर कार्कीको कल्याणकारी नेतृत्वको प्रशंसा
३ दिन अगाडि
2.7kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । कर्तव्य निर्वाहका क्रममा प्राकृतिक विपद्को प्रत्यक्ष मारमा परेका नेपाल…





