प्रचण्डद्वारा बालेन सरकारको ६ महिने कार्यशैलीप्रति असन्तुष्टि, ‘संसद्प्रति जबाफदेही भएन’

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारको ६ महिने कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको नेकपाको सङ्घीय संसदीय दलको बैठकमा सरकारको ६ महिनाको कामकारबाहीको समीक्षा गर्दै प्रचण्डले सरकार संसद्प्रति पर्याप्त जबाफदेही र पारदर्शी ढङ्गले अघि नबढेको धारणा राखेका हुन्।

बैठकमा प्रचण्डले सरकारको कार्यशैली, संसद्प्रतिको उत्तरदायित्व तथा पारदर्शितालगायत विषयमा प्रश्न उठाएका थिए। नेकपाका प्रमुख सचेतक युवराज दुलालका अनुसार प्रचण्डले वर्तमान सरकार अपेक्षित ढङ्गले अघि बढ्न नसकेको बताएका थिए।

दुलालले भने, ‘उहाँले वर्तमान सरकार ठिक ढङ्गले अगाडि गएको छैन भन्नुभयो। ६ महिनामा सरकारले गरेका कामकारबाहीबारे समीक्षा गर्नुभयो। बालेनजी संसद्प्रति जबाफदेही हुनुहुन्न, पारदर्शी ढङ्गले पनि काम भइरहेको छैन, यसको रहस्य के होला भन्नुभएको थियो।’

बैठकमा रास्वपाको आन्तरिक विवादबारे भने प्रचण्डले कुनै धारणा नराखेको दुलालले बताए। संसद्को प्रभावकारिता, जनसरोकारका विषयमा पार्टीको भूमिका, कानुन निर्माणमा संसदीय समितिको भूमिका, आगामी दिनमा संसद्मा निर्वाह गर्नुपर्ने भूमिका तथा पार्टी सङ्गठन सुदृढीकरणका विषयमा समेत बैठकमा छलफल भएको थियो।

त्यसैगरी आगामी स्थानीय तह निर्वाचनको तयारी, प्राकृतिक विपत्तिमा राहत तथा उद्धार र पुनर्निर्माणमा पार्टीका तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्ने विषयमा पनि बैठकले निर्णय गरेको छ। संसद् अधिवेशन अन्त्यसँगै सांसदहरूलाई आ–आफ्ना निर्वाचन क्षेत्रमा केन्द्रित हुन प्रचण्डले निर्देशन दिएका छन्।

रुकुम पश्चिमबाट निर्वाचित सांसद गोपाल शर्माका अनुसार प्रधानमन्त्री शाहले सत्तापक्षकै सांसदहरूलाई समेत बाइपास गरेर अघि बढिरहेको विषयमा बैठकमा सामान्य छलफल भएको थियो।

उनका अनुसार वर्तमान सरकारको कार्यशैलीप्रति विपक्षी दल मात्र नभई सत्तापक्षका सांसदहरूमा समेत असन्तुष्टि देखिएको विषय बैठकमा उठेको थियो। रास्वपाभित्र देखिएको आन्तरिक अन्तर्विरोधले समेत सरकारको स्थायित्वमा प्रश्न उठाएको उनको भनाइ थियो।

शर्माले प्रधानमन्त्री शाह र रास्वपा सभापति रवि लामिछानेबीचको सम्बन्ध उनीहरूको आन्तरिक विषय भएको स्पष्ट पार्दै नेकपाले कुनै एक पक्षसँग नजिक वा अर्को पक्षसँग टाढा रहने नीति नलिएको बताए।

‘रविजीसँग मिलेर सरकारलाई असहयोग गर्ने भित्रभित्रै षड्यन्त्र भइरहेको छ कि भन्ने कुरामा कुनै सत्यता छैन। रवि र बालेनबीचको सम्बन्धको विषय उनीहरूको आन्तरिक मामिला हो,’ शर्माले भने।

उनले प्रधानमन्त्रीले पार्टीभित्रकै एक पक्षलाई बाइपास गरेर अघि बढ्ने कार्यशैलीले समस्या निम्त्याउन सक्ने धारणा पनि राखे।

सुरुवाती चरणमा बालेन नेतृत्वको सरकारप्रति सकारात्मक देखिएका प्रचण्ड पछिल्लो समय भने सरकारका कामकारबाहीप्रति निरन्तर प्रश्न उठाउँदै आएका छन्। पार्टीका आन्तरिक बैठक, प्रशिक्षण तथा सार्वजनिक अभिव्यक्तिमा समेत उनले सरकारको कार्यशैलीको समीक्षा गर्दै आएका छन्।

बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै प्रचण्डले सरकारले गरेका सबै कामलाई नकारात्मक रूपमा नहेरेको तर समग्रमा सरकार सही दिशामा अघि बढ्न नसकेको बताएका थिए।

‘हामीले सरकारको राम्रो कामको समर्थन गर्छौँ, नराम्रो कामको आलोचना गर्छौँ भनेका छौँ। सरकारले ६ महिनामा केही पनि राम्रो काम गरेन भन्ने पक्षमा हामी छैनौँ। तर, समग्रमा हेर्दा सरकार ठिक दिशातिर गइरहेको छैन’, प्रचण्डले भनेका थिए।

Facebook Comments Box
TOP
30 Shares