
खगेन्द्र सुनारविरुद्धको साइबर कसुरसम्बन्धी मुद्दामा पेश गरिएको तीन घण्टाको अडियो प्रमाण गायब

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारविरुद्धको साइबर कसुरसम्बन्धी मुद्दामा पेश गरिएको भनिएको करिब तीन घण्टाको अडियो प्रमाण गायब भएको आरोप लागेको छ ।
साइबर कसुर तथा सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा सुनारविरुद्ध काभ्रे जिल्ला अदालतमा मुद्दा दायर गरेकी अधिवक्ता मनिषा गौतमले आफूले प्रहरी र सरकारी वकिलमार्फत अदालतमा पेश गरेको अडियो प्रमाण गायब भएको आरोप लगाएकी हुन् ।
गौतमका अनुसार मुद्दामा लिपिबद्ध गर्न उनले करिब तीन घण्टाको अडियो ८ जीबी क्षमताको पेनड्राइभमा राखेर बुझाएकी थिइन् । तर, अदालतमा उक्त प्रमाण लिपिबद्ध गर्ने क्रममा तीन मिनेटको मात्रै अडियो भेटिएको जानकारी आफूलाई दिइएको उनको भनाइ छ ।
‘मुद्दामा लिपिबद्ध गर्न ८ जीबीको पेनड्राइभमा तीन घण्टाको अडियो दिएको थिएँ,’ गौतमले भनिन्, ‘तर त्यो एकाएक गायब पारियो । अहिले तीन मिनेटको अडियो मात्रै छ भनिरहेका छन् ।’
पेनड्राइभ अदालतमा बुझाउनुअघि प्रहरी र सरकारी वकिलले समेत उक्त अडियो सुनेको गौतमको दाबी छ । सरकारी वकिल निष्ठा कर्माचार्यसमेत त्यहीँ उपस्थित रहेको र पेनड्राइभमा अडियो रहेको पुष्टि गरेको उनले बताइन् ।
‘मिनेटको मात्रै अडियो हुन्थ्यो भने म ८ जीबीको पेनड्राइभ किन बुझाउँथेँ ?’ गौतमले प्रश्न गरिन् ।
अदालतका कर्मचारीकै मिलेमतोमा प्रमाण गायब पारिएको हुनसक्ने आशंका उनले व्यक्त गरेकी छन् । प्रमाण सुरक्षित हुनुपर्ने अदालतबाटै मुद्दाको महत्वपूर्ण प्रमाण हराउने अवस्था आए पीडितले न्यायको आशा कसरी गर्ने भन्ने उनको प्रश्न छ ।
यस विषयमा काभ्रे जिल्ला अदालतका स्रेस्तेदार सञ्जित गौतमसँग प्रतिक्रिया माग्दा उनले आफूलाई इजलासमा प्रमाण कसरी हेरिएको भन्नेबारे विस्तृत जानकारी नभएको बताए ।
‘माथि इजलासमा को–कोले हेर्नुभयो, त्यो मलाई थाहा छैन,’ स्रेस्तेदार गौतमले भने, ‘तर हामीले लिपिबद्ध गर्दा पेनड्राइभमा जे–जे थियो, त्यसैलाई लिपिबद्ध गरिसक्यौँ ।’
सुनारविरुद्ध गौतमले अदालतको अवहेलना तथा सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन् । उक्त मुद्दामा पक्राउ परेका सुनार ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए ।
गौतमका अनुसार सुनारले सामाजिक सञ्जालमार्फत आफूलाई अश्लील गालीगलौज गर्नुका साथै चरित्रमाथि प्रश्न उठाउने अभिव्यक्ति दिएका थिए । केही न्यायाधीशको नाम नै किटान गरी फोटोसहित ब्यानर बनाउन तथा ‘मुर्दावाद’को नारा लगाउन उक्साएको आरोपसमेत उनले सुनारमाथि लगाएकी छन् ।
सुनारले आफूलाई लक्षित गर्दै ‘त्यो केटीभन्दा ठमेलका बारमा नाच्ने केटी राम्रा छन्’ भन्दै गालीबेइज्जती गरेको भिडियो सामाजिक सञ्जालमा अहिले पनि उपलब्ध रहेको गौतमको दाबी छ । विभिन्न फेसबुक समूहमा आफ्नो तस्वीर प्रयोग गरेर भ्रम फैलाउने कामसमेत सुनारबाट भएको उनको आरोप छ ।
यद्यपि, अदालतमा पेश गरिएको भनिएको अडियो प्रमाण कसरी र कुन चरणमा तीन घण्टाबाट तीन मिनेटमा सीमित भयो भन्ने विषयमा सम्बन्धित निकायबाट औपचारिक छानबिन तथा प्रमाणको प्राविधिक परीक्षण हुन बाँकी छ । प्रमाण गायब पारिएको आरोपसमेत हाल पीडित पक्षको दाबीका रूपमा रहेको छ ।
समाज
थप सामाग्री
परिवारको भविष्य २८ प्रहरीका सन्ततिलाई मास्टर्ससम्म निःशुल्क शिक्षा, आइजिपी दानबहादुर कार्कीको कल्याणकारी नेतृत्वको प्रशंसा
३ दिन अगाडि
2.8kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । कर्तव्य निर्वाहका क्रममा प्राकृतिक विपद्को प्रत्यक्ष मारमा परेका नेपाल…





