
सुमेरु सहकारीको अस्पताल, कलेज र जग्गा लिलाम हुँदै, ३५ दिने सूचना जारी

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पुल्चोकको स्वामित्व तथा पूर्ण लगानी रहेका सम्पत्ति तथा व्यवसाय लिलाम बिक्री गर्ने भएको छ।
समितिले २०८३ असोज १७ गते ३५ दिने सार्वजनिक सूचना जारी गर्दै सहकारीको सम्पत्ति तथा व्यवसाय लिलाम बिक्रीमार्फत बचतकर्ताको बचत रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाएको हो।
लिलाम बिक्रीमा ललितपुर महानगरपालिका–३ मा रहेको सुमेरु सिटी अस्पताल प्रालि तथा राजमाया महर्जनका नाममा रहेका विभिन्न कित्ताका जग्गा समावेश गरिएको समितिले जनाएको छ। ती जग्गामा निर्मित भवन तथा अन्य संरचना, बायोमेडिकल इन्जिनियरबाट मूल्याङ्कन गरिएका अस्पतालका पुँजीगत सामग्री तथा उपकरणसमेत लिलाममा राखिएका छन्।
त्यस्तै, सुमेरु अस्पताल र शङ्खरापुर कलेजको सञ्चालन अनुमति पत्र (लाइसेन्स), कलेजले सञ्चालन गर्दै आएका सम्पूर्ण शैक्षिक कार्यक्रम तथा चल सम्पत्तिसमेत लिलाम बिक्री गरिने सूचनामा उल्लेख छ।
लिलाम प्रक्रियामा सहभागी हुन इच्छुक व्यक्ति, फर्म, संगठित संस्था वा कम्पनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र गोप्य सिलबन्दी बोलपत्रमार्फत प्रस्ताव पेस गर्नुपर्नेछ। बोलपत्र फारामका लागि ३ हजार रुपैयाँ बुझाउनुपर्नेछ। फाराम अनामनगरस्थित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयबाट खरिद गर्न सकिने जनाइएको छ।
बोलपत्रदाताले आफूले कबोल गरेको रकमको १० प्रतिशत धरौटी राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, पुतलीसडकमा रहेको समितिको खातामा जम्मा गरी त्यसको भौचर बोलपत्रसँगै पेस गर्नुपर्नेछ।
समितिका अनुसार प्राप्त बोलपत्रहरू ३५औँ दिनको भोलिपल्ट दिउँसो १ बजे खोलिनेछन्। लिलाममा राखिएका सम्पत्ति तथा संरचना जे-जस्तो अवस्थामा छन्, सोही अवस्थामा खरिद गर्नुपर्नेछ।
बोलपत्र स्वीकृत भएपछि नामसारी, दर्ता, दाखिल खारेज, नवीकरण तथा लाभांश करलगायतका सम्पूर्ण शुल्क तथा खर्च बोलपत्रदाता स्वयंले व्यहोर्नुपर्नेछ। प्राप्त बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार समितिमा निहित रहने सूचनामा स्पष्ट गरिएको छ।
सहकारी समस्याग्रस्त घोषित भएपछि बचतकर्ताको रकम फिर्ता गर्ने उद्देश्यले संस्थाको सम्पत्ति व्यवस्थापन तथा बिक्री प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ।
समाज
थप सामाग्री
परिवारको भविष्य २८ प्रहरीका सन्ततिलाई मास्टर्ससम्म निःशुल्क शिक्षा, आइजिपी दानबहादुर कार्कीको कल्याणकारी नेतृत्वको प्रशंसा
३ दिन अगाडि
2.7kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । कर्तव्य निर्वाहका क्रममा प्राकृतिक विपद्को प्रत्यक्ष मारमा परेका नेपाल…





