नारायणीमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने प्रयास असफल, उद्धार तयारीमाथि प्रश्न

चितवन । नारायणी नदीमा बगेको ‘राइनो क्रुज’ पिल्लरमा अड्किएपछि त्यसलाई निकाल्न पटक–पटक गरिएको प्रयास अझै सफल हुन सकेको छैन। आवश्यक प्राविधिक उपकरण, पर्याप्त स्रोत–साधन र पूर्वतयारीको अभावका कारण उद्धार कार्य लम्बिँदै गएपछि सम्बन्धित निकायको तयारी र समन्वयमाथि प्रश्न उठ्न थालेको छ।

भारी वर्षाको पूर्वसूचना हुँदाहुँदै नारायणी नदीमा पानीको बहाव बढेपछि क्रुज बगेर नदीको पिल्लरमा अड्किएको थियो। क्रुज अड्किएपछि केही समय चितवन–नवलपुरतर्फको आवागमनसमेत प्रभावित भएको थियो।

घटनास्थलको निरीक्षण गर्दै चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले क्रुज सञ्चालकलाई नियन्त्रणमा लिन निर्देशन दिएको बताइएको छ। त्यसपछि जिल्ला प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीहरू नारायणी किनारस्थित एक होटलमा करिब एक घण्टा छलफलमा बसेका थिए।

क्रुज निकाल्न बुटवलबाट क्रेन ल्याउनुका साथै त्रिशूली हाइड्रोपावरबाट समेत क्रेन ल्याएर प्रयास गरिएको थियो। तर, पटक–पटकको प्रयास गर्दा पनि क्रुजलाई सुरक्षित रूपमा निकाल्न सकिएको छैन।

उद्धार प्रयाससँगै यसको नेतृत्व, पूर्वतयारी र सार्वजनिक अभिव्यक्तिमाथि समेत प्रश्न उठेको छ। घटनास्थलमा क्रुज ‘निकाल्न लागिएको’ तथा ‘केही समयमै निस्कने’ जस्ता अभिव्यक्ति आए पनि त्यसअनुसार आवश्यक उपकरण र प्राविधिक तयारी पर्याप्त नभएको भन्दै आलोचना भइरहेको छ।

विशेषगरी जिल्ला प्रशासनको तयारी, उपलब्ध स्रोत–साधन र उद्धार योजनाबीचको समन्वयबारे प्रश्न उठेको छ। उद्धारको प्राविधिक तयारीभन्दा प्रचारात्मक गतिविधि बढी देखिएको भन्दै कतिपयले घटनालाई ‘स्टन्ट’ का रूपमा समेत टिप्पणी गरेका छन्।

यद्यपि, नारायणीको तीव्र बहाव, क्रुज अड्किएको स्थान, पिल्लरको अवस्था तथा तत्काल आवश्यक क्षमताको उपकरण उपलब्ध हुन नसक्नु उद्धारका प्रमुख चुनौतीका रूपमा देखिएका छन्।

क्रुज अझै नारायणी नदीमै अड्किएको छ। अब सार्वजनिक प्रचारभन्दा सुरक्षित उद्धारका लागि आवश्यक प्राविधिक अध्ययन, पर्याप्त उपकरण, दक्ष जनशक्ति र स्पष्ट उद्धार योजनालाई प्राथमिकता दिनुपर्ने देखिएको छ।

Facebook Comments Box
TOP
30 Shares