धरातल बिर्सनुभयो कि संघर्षको आवाज बन्नुभयो? खगेन्द्र सुनारलाई दल मर्दन कामीको कठोर प्रश्न

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीविरुद्ध प्रहरी तथा म्यादी प्रहरीका लागि खरिद गरिएका जुत्ता, मोजा र कपडामा अनियमितता तथा भ्रष्टाचार भएको आरोपबारे संसद र सार्वजनिक लेखा समितिमा प्रश्न उठाउँदै आएका छन्।

सुनारले उठाएका विषयमा निष्पक्ष छानबिन हुनुपर्नेमा कुनै दुईमत नरहेको, तर आरोप लाग्नु र आरोप प्रमाणित हुनु एउटै कुरा नभएको भन्दै दलित अधिकार अभियन्ता दल मर्दन कामीले सुनारलाई प्रश्न गरेका छन्।

कामीले जारी गरेको धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘तपाईंलाई कसैले आफ्नो स्वार्थ राखेर केही प्रमाण दिए होलान्, तर ती प्रमाण अनुसन्धान र कानुनी निष्कर्षका आधारमा सत्य स्थापित हुनुपर्छ।’

कामीले सिंहदरबार तथा संसद् भवनबाट करिब आधा किलोमिटरको दूरीमा रहेको माइतीघर मण्डलामा जातीय विभेदविरुद्ध १६७ दिनदेखि सत्याग्रह गरिरहेकी दीपा नेपालीप्रति सुनारको मौनतामाथि प्रश्न उठाएका छन्।

उनका अनुसार दीपा नेपालीको ‘सरकार, कोठा खाली छ?’ भन्ने आन्दोलन कुनै व्यक्तिगत सुविधा माग्ने आन्दोलन नभई राजधानी काठमाडौंलगायत देशका विभिन्न शहरमा जातका आधारमा कोठा नदिने, घरबाट निकाल्ने तथा नागरिकको आत्मसम्मानमाथि हुने सामाजिक विभेदविरुद्धको संघर्ष हो।

कामीले सुनारलाई प्रश्न गर्दै भनेका छन्, ‘सदनमा आईजीपी दानबहादुर कार्कीमाथि प्रश्न उठाइरहँदा जातीय विभेदविरुद्ध ६ महिनादेखि माइतीघरमा सत्याग्रह गरिरहेकी दीपा नेपालीप्रति तपाईंको मौनता कसरी बुझ्ने?’

उनले सुनार दलित अधिकारको आवाज बोल्ने प्रतिनिधिका रूपमा संसद्मा पुगेको उल्लेख गर्दै आफूलाई दलितको प्रतिनिधि नभएको बताए पनि संसद्मा पुग्न कामी, दमाई, सार्की, पासवान, डोम–चमारलगायत समुदायका नागरिकको सहयोग रहेको बताएका छन्।

‘तपाईंले उठाउनु भएको साङ्लो आन्दोलनमा मैले आफैं पनि ऐक्यबद्धता जनाएको छु, त्यस्तै हजारौंले जनाएका छन्,’ कामीले भनेका छन्, ‘आज तपाईं भन्दै हुनुहुन्छ कि म दलितको प्रतिनिधित्व गर्ने संसद होइन, तर फेरि आफू तल्लो वर्ग, गरिब, सिपाही र श्रमिकको पक्षमा उभिएको बताउनुहुन्छ।’

कामीले सुनारलाई प्रश्न गरेका छन्, ‘यदि तपाईं तल्लो वर्गको प्रतिनिधित्व हुनुहुन्छ भने माइतीघरमा ६ महिनाभन्दा बढी समयदेखि एउटा दलित महिला आफ्नो समुदायको आत्मसम्मान र अधिकारका लागि संघर्षमा उभिँदा तपाईंको नजर त्यहाँसम्म किन पुगेन?’

कामीले आईजीपी दानबहादुर कार्कीको बाल्यकालको प्रसंगसमेत उल्लेख गरेका छन्। उनका अनुसार कार्की बागलुङको गाउँबाट काठमाडौं आउँदा उनका छिमेकी भोटे दमाईले च्यातिएको झोला सिलाइदिएका थिए। त्यही झोला बोकेर काठमाडौं आएका कार्कीले लामो संघर्षपछि प्रहरी संगठनको सर्वोच्च पद आईजीपीसम्म पुग्दा पनि आफूलाई सहयोग गर्ने भोटे दमाईलाई नबिर्सिएको कामीको भनाइ छ।

कामीका अनुसार आईजीपी बनेपछि कार्की भोटे दमाईको घरमै पुगेर भेटघाट गरेका थिए। उनले सहयोगस्वरूप २० हजार रुपैयाँ प्रदान गर्नुका साथै दमाईको हातबाट टीका ग्रहण गरेको प्रसंग उल्लेख गर्दै यसलाई आफ्नो विगत र संघर्षमा साथ दिने व्यक्तिप्रतिको सम्मानका रूपमा चित्रण गरेका छन्।

‘दुःखमा साथी हुँदा सुखमा पुगेपछि तिनै दुःखका साथीलाई बेवास्ता गर्नु मुर्खता हो, अमानवीय स्वार्थ हो,’ कामीले भनेका छन्, ‘एकपटक आत्मआलोचना गरेर दानबहादुर कार्कीसँग खगेन्द्र सुनारले सिक्नुपर्छ।’

कामीले सुनारले आईजीपी कार्कीको विगत खोजिरहँदा एकपटक आफ्नो विगत पनि हेर्नुपर्ने बताएका छन्। कार्कीले आफूलाई काठमाडौंसम्म पुर्‍याउने दलित श्रमिकको योगदान सम्झिएझैँ सुनारले पनि आफूलाई संसद्सम्म पुर्‍याउन सहयोग गर्ने दलित, भूमिहीन, सुकुम्बासी, श्रमिक तथा विभेदपीडित नागरिकको संघर्ष सम्झनुपर्ने उनको भनाइ छ।

‘संघर्षको सिँढी चढेर संसद् पुग्ने अनि सिँढीमै उभिएका पीडितहरूलाई बिर्सने हो भने त्यो परिवर्तन होइन, सत्ताको सुविधामा रूपान्तरण भएको संघर्ष हो,’ कामीले भनेका छन्।

उनले आईजीपी कार्कीमाथि लागेको आरोप भए निष्पक्ष छानबिन हुनुपर्ने र दोष प्रमाणित भए कानुनअनुसार कारबाही तथा निर्दोष भए आरोपबाट मुक्त हुनुपर्ने बताएका छन्। यही न्यायको सिद्धान्त सबै सार्वजनिक व्यक्तिमा समान रूपमा लागू हुनुपर्ने उनको भनाइ छ।

कामीले भनेका छन्, ‘कसैलाई प्रमाणबिना दोषी घोषणा गर्नु न्याय होइन। तर पीडितको आवाज प्रमाणित नभएसम्म सुन्नै नपर्ने ठान्नु पनि न्याय होइन।’

उनले दलित मुक्ति आन्दोलन केही महिनाको राजनीतिक गतिविधि नभई पुस्तौँदेखि जारी सामाजिक न्याय र समानताको संघर्ष भएको बताएका छन्। जातीय विभेदविरुद्धको संघर्षलाई निरन्तरता, इमानदारी र धैर्य आवश्यक पर्ने उनको भनाइ छ।

कामीले सुनारलाई माइतीघरमा जारी दीपा नेपालीको सत्याग्रहप्रति ध्यान दिन आग्रह गर्दै प्रश्न गरेका छन्, ‘सरकार, कोठा खाली छ?’ भन्ने उनको मागसँगै ‘तपाईंको संसदमा पीडितका लागि आवाज उठाउने ठाउँ खाली छ?’

उनले संसद्मा पुगेपछि संघर्ष सकिने नभई सडकमा रहेका पीडितका आवाज संसद्मा पुर्‍याउने जिम्मेवारी थपिने बताएका छन्।

कामीले सुनारलाई आफ्नो संघर्षको धरातल नबिर्सन आग्रह गर्दै भनेका छन्, ‘जसरी आईजीपी दानबहादुर कार्कीले गाउँमा आफ्नो झोला सिलाइदिने भोटे दमाईलाई सम्झिए, त्यसरी नै तपाईंले पनि आफ्नो संघर्षको धरातल सम्झनुहोस्।’

उनले सुनारले आईजीपी कार्कीविरुद्ध संसद्मा प्रश्न उठाउनु उनको अधिकार र जिम्मेवारी भएको स्वीकार गर्दै जातीय विभेद, दलित मुक्ति, सुकुम्बासी–भूमिहीन तथा अव्यवस्थित नागरिकको न्याय र आवासको विषयलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

कामीले सुनारको पार्टी र त्यसको नेतृत्वमा बनेको सरकारले काठमाडौं उपत्यकालगायत विभिन्न स्थानका सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित नागरिकका घरटहरा भत्काएको र त्यसक्रममा नागरिकले ज्यान गुमाएको विषयसमेत उठाएका छन्। उनले ती नागरिकको आवास तथा भूमिको अधिकारको आन्दोलन अझै जीवित रहेको दाबी गरेका छन्।

अन्त्यमा कामीले सुनारलाई संसद्मा पुगेपछि सडकमा रहेका पीडितको आवाज बिर्सन नहुने भन्दै संघर्षलाई सुविधा बनाउने नभई सुविधालाई संघर्षको साधन बनाउन आग्रह गरेका छन्।

‘जात, धर्म र व्यक्तिविरुद्धको आरोप तथा राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर पुस्तौँदेखि विभेद सहँदै आएका लाखौँ नागरिकको अधिकारको पक्षमा उभिनुपर्छ,’ कामीले भनेका छन्।

Facebook Comments Box
TOP
15 Shares