
उपेन्द्र यादव : ‘प्राप्त उपलब्धिमाथि खतरा, अधिकार र पहिचानका लागि फेरि सङ्घर्ष गर्नुपर्छ’

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आन्दोलनबाट प्राप्त उपलब्धिमाथि खतरा उत्पन्न भएको भन्दै अधिकार र पहिचानको रक्षाका लागि पुनः सङ्घर्ष गर्नुपर्ने बताएका छन्।
जनमत पार्टीको दोस्रो महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै यादवले नेपालमा अझै पनि मधेसी समुदाय उत्पीडनमा रहेको दाबी गरे। उनले अधिकार प्राप्तिका लागि मधेसीलगायत सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए।
जनमत पार्टी र जसपा नेपालबीच धेरै विषयमा समान धारणा रहेको उल्लेख गर्दै यादवले समानता हुँदाहुँदै पनि दुई पार्टी एकसाथ अघि बढ्न नसकेको विषयमा प्रश्न उठाए। अब आपसी सहकार्य र एकताका आधारमा अघि बढ्नुपर्ने उनको भनाइ थियो।
‘हामी आफ्नो अधिकार र पहिचानका लागि लड्छौँ। त्यसका लागि अग्रगामी मोर्चा गठन गरेका छौँ र एकसाथ अगाडि बढ्ने प्रयास भइरहेको छ,’ यादवले भने।
मधेस आठ जिल्लामा मात्र सीमित नरहेको दाबी गर्दै उनले मेचीदेखि महाकालीसम्मको भूभागलाई मधेसका रूपमा व्याख्या गरे। सरकार र तत्कालीन मधेसी मोर्चाबीच भएको आठबुँदे सम्झौतामा ‘एक मधेस, एक स्वायत्त प्रदेश’को विषय समेटिएको स्मरण गर्दै उनले संविधान निर्माणका क्रममा मधेसी समुदायमाथि दमन भएको आरोप लगाए।
‘जबरजस्ती मधेसलाई आठ जिल्लामा कायम गरिएको छ,’ उनले भने।
यादवले प्रदेशमा आफ्नो शासन र प्रशासनको अधिकार स्थापित नभएसम्म मधेसी समुदायले वास्तविक अधिकार प्राप्त गरेको अनुभूति गर्न नसक्ने बताए। संघीय तहमा समेत समान अधिकार र प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो।
उनले राष्ट्रियसभामा मधेसको जनसङ्ख्याका आधारमा पर्याप्त प्रतिनिधित्व नभएको गुनासो गर्दै मधेसको जनसङ्ख्या करिब आधा रहे पनि राष्ट्रियसभामा करिब १० प्रतिशत मात्रै प्रतिनिधित्व रहेको दाबी गरे।
सात प्रदेशको वर्तमान संरचनामा समेत पुनर्विचार गर्नुपर्ने धारणा राख्दै यादवले प्रदेश संरचनामा परिवर्तन नगरेसम्म संघीयता थप बलियो बन्न नसक्ने बताए। उनले विभेद र असमानता कायम रहेसम्म अधिकार प्राप्तिको पूर्ण अनुभूति हुन नसक्ने उल्लेख गर्दै मधेसी समुदायबीच एकता कायम गरेर राजनीतिक तथा सामाजिक अधिकारका लागि सङ्घर्ष अघि बढाउनुपर्नेमा जोड दिए।
समाज
थप सामाग्री
परिवारको भविष्य २८ प्रहरीका सन्ततिलाई मास्टर्ससम्म निःशुल्क शिक्षा, आइजिपी दानबहादुर कार्कीको कल्याणकारी नेतृत्वको प्रशंसा
३ दिन अगाडि
2.8kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । कर्तव्य निर्वाहका क्रममा प्राकृतिक विपद्को प्रत्यक्ष मारमा परेका नेपाल…





