चोरीको आरोपको रिसमा ब्याट्री व्यवसायीको हत्या, बियरको बोतल र रडले प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलासा

विराटनगर । पसलमा सामान चोरी गरेको आरोप लगाएको रिसमा विराटनगरका ब्याट्री व्यवसायी लालजीप्रसाद गुप्ताको हत्या भएको प्रारम्भिक प्रहरी अनुसन्धानबाट खुलेको छ। हत्याको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–६ का ३७ वर्षीय अब्जर मियालाई पक्राउ गरेको छ।

सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पुष्पराज मल्लका अनुसार मियालाई मंगलबार साँझ पक्राउ गरिएको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा गुप्ताले आफ्नो पसलबाट सामान चोरी गरेको आरोप मियामाथि लगाउँदै आएका थिए। यही विषयलाई लिएर मियाले गुप्ताको हत्या गर्ने योजना बनाएको खुलेको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार राति मियाले गुप्तालाई आफ्नो घरमा खाना खान बोलाएका थिए। त्यहाँ दुवैले मदिरा सेवन गरेका थिए। सोही क्रममा मियाले बियरको बोतलले गुप्ताको टाउकोमा प्रहार गरेका थिए। त्यसपछि रडले समेत प्रहार गरी उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

हत्या गरेपछि मियाले शव व्यवस्थापन गर्न सिटी सफारी प्रयोग गरेको प्रहरीको भनाइ छ। शवलाई बोरामा राखेर सुनसरीको बर्जु गाउँपालिका–२, भीमपुरस्थित केसेलिया खोलामा फालिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

आइतबार बिहान स्थानीयवासीले खोलामा बोराभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै एसपी मल्लसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले शवको पहिचान गरेपछि घटनामा संलग्न व्यक्तिको खोजी र अनुसन्धान तीव्र बनाएको थियो।

एसपी मल्लले घटनामा पक्राउ परेका व्यक्तिको संलग्नता देखिएको र थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। हत्यामा अन्य व्यक्तिको संलग्नता रहे–नरहेको विषयमा समेत प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको उनले बताएका छन्।

भारतको उत्तर प्रदेशस्थित वाराणसीका स्थायी बासिन्दा गुप्ता लामो समयदेखि विराटनगर महानगरपालिका–६, महावीर रोडमा ब्याट्री पसल सञ्चालन गर्दै आएका थिए। उनी विराटनगरमा एक्लै बस्दै आएका थिए।

घटनाको अनुसन्धान प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय सुनसरी र मोरङको संयुक्त टोलीले गरिरहेको छ। प्रहरीले हत्याको कारण, घटनाको विस्तृत परिस्थिति तथा शव व्यवस्थापनमा प्रयोग गरिएका साधनबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Facebook Comments Box
प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारका लागि महासंघ आन्दोलनमा, मंसिर ९ गते देशव्यापी प्रदर्शन गर्ने
१ दिन अगाडि

1.6kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको…

TOP
15 Shares