न्यूनतम तलब ३० हजार टका पुर्‍याउन माग गर्दै बंगलादेशमा १० लाख वस्त्र मजदुर आन्दोलनमा

काठमाडौं । न्यूनतम मासिक तलब वृद्धि गर्न माग गर्दै बंगलादेशका करिब १० लाख वस्त्र उद्योगका मजदुर आन्दोलनमा उत्रिएका छन्। मजदुरहरूको प्रदर्शन चर्किएपछि देशभरका ५२९ वटा कारखानाको उत्पादन पूर्ण रूपमा ठप्प भएको छ।

राजधानी ढाकासहित प्रमुख औद्योगिक क्षेत्रमा आन्दोलन चर्किएको हो। बीबीसी बंगलाका अनुसार गत आइतबार मात्रै करिब ९ लाख ८७ हजार मजदुर काममा अनुपस्थित भएका थिए। उनीहरूले हाल कायम १२ हजार ५०० टका न्यूनतम मासिक तलब बढाएर ३० हजार टका पुर्‍याउनुपर्ने माग गरेका छन्।

खाद्यान्न, घरभाडा, यातायात तथा स्वास्थ्य सेवाको मूल्य निरन्तर बढ्दै गएको तर न्यूनतम तलबले दैनिक गुजारा चलाउनसमेत कठिन भएको मजदुरहरूको गुनासो छ। बढ्दो महँगीअनुसार पारिश्रमिक वृद्धि गर्नुपर्ने उनीहरूको माग छ।

ढाकानजिकका सावर, अशुलिया, मिरपुर र गाजीपुर क्षेत्रमा प्रदर्शनले उग्र रूप लिएको छ। आन्दोलनका क्रममा तोडफोड, सडक अवरुद्ध तथा प्रहरीसँग झडप भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेको समाचारमा उल्लेख छ।

प्रदर्शनकारीले केही प्रहरीका गाडीमा आगजनी गर्नुका साथै कालियाकैरस्थित एउटा गोदाममा समेत आगो लगाएको गृह मन्त्रालयले जनाएको छ।

आन्दोलन चर्किएपछि प्रधानमन्त्री तारिक रहमानले सचिवालयमा मन्त्री तथा सल्लाहकारहरूसँग आपत्कालीन बैठक गरेका छन्। बैठकपछि गृहमन्त्री सलाहुद्दीन अहमद र श्रम तथा रोजगारमन्त्री आरिफुल हक चौधरीले हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकार दृढ रहेको बताएका छन्।

गृहमन्त्री अहमदले आन्दोलनमा केही नकाबधारी व्यक्ति प्रवेश गरी तोडफोड तथा हिंसा मच्चाएको दाबी गरेका छन्। सीमापारबाट समेत बंगलादेशको निर्यात व्यापार प्रभावित पार्ने उद्देश्यले आन्दोलनलाई उक्साउने प्रयास भइरहेको उनको आरोप छ।

त्यस्तै, श्रममन्त्री चौधरीले केही समूहले आगामी डिसेम्बरलाई लक्षित गरी देशमा अस्थिरता सिर्जना गर्न खोजेको आरोप लगाएका छन्।

मजदुरहरूको आन्दोलन अन्त्य गर्ने प्रयासस्वरूप सरकारले ६ सदस्यीय नयाँ तलब बोर्ड गठन गरेको छ। श्रममन्त्री चौधरीले मजदुरहरूलाई काममा फर्कन अपिलसमेत गरेका छन्। तर मजदुरहरूले नयाँ न्यूनतम तलब औपचारिक रूपमा घोषणा नभएसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन्।

यसअघि सन् २०२५ मा भएको विद्यार्थी आन्दोलनपछि बंगलादेशमा सत्ता परिवर्तन भएको थियो। पछिल्लो श्रमिक आन्दोलनले त्यहाँको औद्योगिक उत्पादन, निर्यात व्यापार र राजनीतिक स्थिरतामाथि थप चुनौती खडा गरेको छ।

Facebook Comments Box
प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारका लागि महासंघ आन्दोलनमा, मंसिर ९ गते देशव्यापी प्रदर्शन गर्ने
२१ घण्टा अगाडि

1.6kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको…

TOP
15 Shares