सचिव हुन नपाएको झोँकमा मन्त्रालय नै गइनन् संगीता, साढे ३ महिनादेखि बिदामा

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रा गत फागुन २२ गतेदेखि बिदामा छिन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उपयुक्त जिम्मेवारी नदिएको भन्दै उनी साढे ३ महिनायता बिदामा बसेकी हुन् । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार मिश्रा गत फागुन २२ गतेदेखि बिदामा छिन् । प्रवक्ता डा. बुढाथोकीले रातोपाटीसँग भने, ‘उहाँ पहिला घर बिदा बस्नुभयो । त्यो बिदा सकिएपछि पनि अहिले उहाँ भैपरी आउने बिदामा हुनुहुन्छ ।’
अतिरिक्त सचिव डा. मिश्रा मन्त्रालयको सचिव बढुवामा असन्तुष्टि जनाएकी थिइन् । त्यसपछि अहिलेसम्म उनी मन्त्रालयले दिएको जिम्मेवारीमा नफर्किएको मन्त्रालय स्रोत बताउँछन् । लोक सेवा आयोगका अध्यक्ष नेतृत्वको सचिव सिफारिस समितिले स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल अनिवार्य अवकाशमा गएपछि मिश्रासहित अतिरिक्त सचिवत्रय डा. विकाश देवकोटा र डा. टंकप्रसाद बाराकोटीलाई बढुवाका लागि सिफारिस गरेको थियो ।
जहाँ मिश्रा एक नम्बरमा थिइन् भने देवकोटा दुई र बाराकोटी तीन नम्बरमा थिए । स्वास्थ्यमन्त्री पौडेल देवकोटा तथा प्रधानमन्त्री केपी ओली र सिंगो एमाले डा. बाराकोटीलाई सचिवमा बढुवा गर्न चाहन्थे ।
मन्त्री पौडेलसहित केही नेतासमक्ष मिश्राले आफूलाई सचिवमा बढुवा गरिदिन आग्रह गरेकी थिइन् । नेपाली कांग्रेसभित्रका मधेसवादी केही नेताहरूले मिश्रा सक्षम र मधेसीसमेत भएकाले सचिवमा बढुवा गराउने पक्षमा पनि थिए । तर, मन्त्री पौडेलको लबिङसामु उनीहरूको केही लागेन । र देवकोटाले बाजी मारे । बढुवामा नपरेपछि पहिलो वरीयतामा सिफारिस भएकालाई उसको राजाइमा कार्यालय दिइन्छ । त्यो मिश्राले पाउने अवस्था थिएन, किनकि प्रधानमन्त्रीसँग नजिकको सम्बन्ध भएका डा. बाराकोटीले मन्त्रालयअन्तर्गत सबैभन्दा आकर्षक मानिने स्वास्थ्य सेवा विभाग राजे/पुगे । त्यतिमात्र नभई, मन्त्रालयमा पनि आकर्षक मानिने महाशाखा पनि उनी पाइनन् ।
उनलाई मन्त्रीले थन्क्याउने ठाउँ (समन्वय महाशाखा) मा राखे । समन्वय महाशाखा १२औँ तहका कर्मचारीलाई थन्क्याउने स्थान रहेको मन्त्रालयकै कर्मचारीहरू बताउँछन् । त्योभन्दा तल्लो तहका कर्मचारीलाई भने त्यो महाखाशा आकर्षक पनि मानिन्छ ।
मन्त्रालयका सचिव देवकोटाले मिश्रा नआएकाले र आएपछि जिम्मेवारी दिइने बताए । उनले मिश्रा आइतबारबाट काममा आउने पनि जानकारी दिए । तर, मिश्राले पटक–पटक गर्दै विभिन्न शीर्षकमा बिदा थपेकाले आइतबारबाट पनि उनी मन्त्रालय आउने निश्चित नभएको कर्मचारीहरू बताउँछन् ।
‘उहाँलाई खटाइएको स्थानमा म स्वयं र अन्य दुई अतिरिक्त सचिवले हेरिरहेका छौँ,’ सचिव डा. देवकोटाले बताए । तर यता मन्त्री पौडेलले भने कानुनअनुसार सहसचिव र अतिरिक्त सचिवलाई सरुवा गर्ने र जिम्मेवारी दिने अधिकार मन्त्रीलाई हुने भन्दै जिम्मेवारीमा खटाउने काम सचिवको भएको तर्क गरे । भने, ‘यसबारे सचिवले व्यवस्थापन गरेका होलान्, उतै सोध्नुस् । मलाई थाहा भएन ।’
उपल्लो तहका कर्मचारी यसरी लामो समय बिदामा बस्दा काममा बाधा देखिएकाले यसबारे मन्त्रालयकले ध्यान दिनुपर्ने मन्त्रालयका कर्मचारी बताउँछन् । मिश्राले भने आफू लामो समय बिदामा बस्नुपरेको कारण खुलाउन चाहिनन् । भनिन्, ‘म जनकपुरमा छु । यसबारे काठमाडौँ आएपछि कुरा गरौँला ।’ रातोपाटी
समाज
थप सामाग्री
मुग्लिन– नारायणगढ सडक खण्ड ११ बजेदेखि १ बजेसम्म बन्द
३ दिन अगाडि
1.7kViews 384 Shares Share on Facebook Share on Twitter काठमाण्डौ – मुग्लिन – नारायणगढ सडक खण्डमा आज दिउँसो केही समयका…