एसईई परीक्षा केन्द्रमा लापरबाही: जुम्लामा केन्द्राध्यक्ष र निरीक्षक पदमुक्त

जुम्ला — माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनकै क्रममा गम्भीर लापरबाही देखिएपछि जुम्लाको तातोपानी गाउँपालिका–५ स्थित दुर्गा मावि लाम्रा परीक्षा केन्द्रका केन्द्राध्यक्ष मुकुन्दराज शर्मा र निरीक्षक हरिदेवी रावललाई पदमुक्त गरिएको छ।

पहिलो दिन बिहीबार सम्पन्न अङ्ग्रेजी विषयको परीक्षामा उत्तरपुस्तिका व्यवस्थापनमा कमजोरी देखिएको आरोपमा जिल्ला परीक्षा समितिले उनीहरूलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो। शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका प्रमुख रमेश लुवारका अनुसार परीक्षाको क्रममा एउटा उत्तरपुस्तिका हराएको भनिएको र पुनः गणनामा भेटिएको घटनाले गम्भीर प्रश्न उठाएको थियो।

घटनापछि प्रमुख लुवारकै नेतृत्वमा टोली बिहानै परीक्षा केन्द्रमा पुगेर विस्तृत छानबिन गरेको थियो। बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म चलेको अनुसन्धानमा सुरुमा नभेटिएको उत्तरपुस्तिका दोस्रोपटक गन्दा लट्पटिएको अवस्थामा फेला परेको जानकारी दिइएको छ।

छानबिनका क्रममा उक्त उत्तरपुस्तिका प्रहरी र सशस्त्र प्रहरी बलको रोहबरमा खोलिएको थियो। यद्यपि थप उत्तरपुस्तिका थपिएको पुष्टि नभए पनि व्यवस्थापनमा गम्भीर कमजोरी देखिएको निष्कर्ष निकालिएको छ।

“उत्तरपुस्तिका हराउनु र पछि भेटिनु आफैंमा ठूलो लापरबाही हो,” प्रमुख लुवारले भने, “परीक्षाको विश्वसनीयता कायम राख्न कडाइ गर्नैपर्छ, त्यसैले सम्बन्धित जिम्मेवारलाई पदमुक्त गरिएको हो।”

यसैबीच, नयाँ केन्द्राध्यक्षका रूपमा सोही विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर शाहीलाई नियुक्त गरिएको छ। उनले अब परीक्षा सञ्चालन थप कडाइका साथ गरिने र अङ्ग्रेजी विषयको परीक्षामा संलग्न व्यक्तिहरूलाई निरीक्षकको जिम्मेवारी नदिइने स्पष्ट पारे।

नवनियुक्त केन्द्राध्यक्ष शाहीले परीक्षा प्रणालीलाई मर्यादित, पारदर्शी र शान्तिपूर्ण बनाउन विशेष ध्यान दिइने बताएका छन्।

यस घटनाले एसईई जस्तो संवेदनशील परीक्षामा व्यवस्थापन पक्षको जिम्मेवारी र सतर्कताको आवश्यकता फेरि एकपटक उजागर गरेको छ।

Facebook Comments Box
भक्तपुरमा ‘स्विप अपरेसन’ तीव्र : एकै दिन ६० जना पक्राउ, बिस्केट जात्रा लक्षित सुरक्षा कडाइ
७ घण्टा अगाडि

2.3kViews 419 Shares Share on Facebook Share on Twitter भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले सञ्चालन गरेको ‘स्विप अपरेसन’ अन्तर्गत…

TOP
401 Shares