प्रहरी सहायक हवल्दार पवन गिरी ‘पुलिस अफ द मन्थ’ घोषित, चितवन प्रहरीको सम्मान

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले चैत महिनाका लागि प्रहरी सहायक हवल्दार पवन गिरीलाई ‘पुलिस अफ द मन्थ’ (Police of the Month) घोषणा गरेको छ ।

उत्कृष्ट कार्यसम्पादन, अपराध अनुसन्धानमा सक्रियता तथा अनुशासित सेवाभावका आधारमा गिरीलाई उक्त सम्मान प्रदान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी संगठनभित्र कार्यक्षमता अभिवृद्धि गर्दै सेवाप्रति थप जिम्मेवार बनाउन प्रत्येक महिना उत्कृष्ट प्रहरी छनोट गर्ने परम्परा अनुसार गिरी यसपटक उत्कृष्ट घोषित भएका हुन् ।

प्रहरी कार्यालयका अनुसार गिरीले आफ्नो जिम्मेवारी क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै अपराध नियन्त्रण र अनुसन्धानमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए । उनको समर्पण, इमान्दारिता र सेवामुखी व्यवहारलाई उच्च मूल्याङ्कन गर्दै ‘पुलिस अफ द मन्थ’ घोषणा गरिएको हो ।

चितवन प्रहरीले यस्ता कार्यक्रमले प्रहरी कर्मचारीमा सकारात्मक प्रतिस्पर्धा बढाउने, कार्यक्षमता अभिवृद्धि गर्ने र सेवाग्राहीप्रति उत्तरदायित्व झन् मजबुत बनाउने विश्वास व्यक्त गरेको छ ।

Facebook Comments Box
TOP
197 Shares