स्कुलबाट रिटायर भएका शिक्षकलाई हेलिकप्टरबाट आकाशीय बिदाई : उत्तरी गोरखामा बनेको अनौठो इतिहास

गोरखा–धार्चे गाउँपालिका–२, रुन्चेत।
गण्डकी माध्यमिक विद्यालयका प्राचार्य इन्द्रबहादुर उपरकोटीले ३७ वर्षसम्म शिक्षणमै जीवन समर्पण गरे। गाउँका बच्चोंलाई अक्षर चिन्न सिकाउनेदेखि भविष्यको बाटो देखाउने उनका हातहरू आज विद्यालयको आँगनमा मात्र होइन, आकाशमै सम्मानित भए।

निवृत्त बन्दै गरेका गुरुलाई विद्यार्थी, पूर्वविद्यार्थी, अभिभावक र स्थानीय समुदायले हेलिकप्टरमार्फत बिदाई गरेर उत्तरी गोरखामा दुर्लभ उदाहरण स्थापित गरेका छन्। भुईँबाट उड्ने सपना बोकेर विद्यार्थीलाई भविष्यतर्फ डोर्याउने शिक्षकलाई नै आकाशबाट बिदाई—यही दृश्यले सबैलाई भावुक बनायो।

उपरकोटी उत्तरी गोरखाका दुर्गम बस्तीका बालबालिकालाई दशकौँदेखि अध्ययन–अध्यापन गराउँदै आएका समर्पित र लोकप्रिय शिक्षकका रूपमा चिनिन्छन्। फिनाममा जन्मिएका र हाल परिवार चितवनको भरतपुर बसोबास गर्ने उपरकोटीलाई रुन्चेतबाट काठमाडौँ हुँदै भरतपुरसम्म पुर्याउने सम्पूर्ण व्यवस्था भूतपूर्व विद्यार्थीहरूले आफ्नै खर्च जुटाएर मिलाए।

शिक्षकलाई सम्मान गर्न एक–एक रुपैयाँ जोड्दै, हृदयबाट प्रस्फुटित कृतज्ञता देखाउँदै, उनीहरूले ‘गुरु प्रतिष्ठा’को यस्तो उदाहरण बनाए जसले शिक्षाको मूल्य र शिक्षकप्रतिको सम्मानलाई नयाँ उचाइ दिएको छ।

बिदाइ कार्यक्रममा आँसु, भावनात्मक आलिङ्गन र कृतज्ञताका शब्दहरू मिसिँदा रुन्चेतका डाँडाकाँडाले पनि असाधारण दृश्यको साक्षी बन्न पाए।
३७ वर्षको समर्पणलाई आकाशबाट दिएको यो सम्मान स्थानीय समुदायका लागि मात्र होइन, देशकै लागि प्रेरणादायी कथा बन्यो।

 

Facebook Comments Box
TOP
245 Shares