मनोहरा सुकुम्बासी बस्ती पूर्ण रूपमा हटाइयो, ८१० संरचना भत्काइए

भक्तपुर । भक्तपुर र काठमाडौंको सीमा क्षेत्रमा पर्ने मनोहरा खोला किनारस्थित सुकुम्बासी बस्ती पूर्ण रूपमा हटाइएको छ। मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली–जडीबुटी क्षेत्रमा रहेका सबै संरचना भत्काएर खाली गराइएको प्रहरीले जनाएको छ।

भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार बस्तीका ८१० घरटहरा पूर्ण रूपमा भत्काइएका छन्। संरचना हटाउने कार्यका लागि आज २४ वटा जेसिबी प्रयोग गरिएको थियो। सो क्रममा एक सामुदायिक विद्यालयसहित सम्पूर्ण बस्तीका संरचना हटाइएको हो।

शनिबार साँझ संरचना हटाउने प्रयासका क्रममा स्थानीय सुकुम्बासी र सुरक्षाकर्मीबीच झडप भएको थियो। ढुङ्गामुढासहितको उक्त घटनामा प्रहरी वृत्त थिमीका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानासहित २२ जना सुरक्षाकर्मी घाइते भएका थिए।

त्यसपछि आइतबार बिहान करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो। सुरक्षा उपस्थिती बढेपछि करिब ८० प्रतिशत बासिन्दाले स्वेच्छाले बस्ती छाडेका थिए।

प्रहरीका अनुसार आइतबार र सोमबार बस्ती खाली गराउने कार्य शान्तिपूर्ण रूपमा सम्पन्न गरिएको हो। मनोहरा क्षेत्र खाली गरिएसँगै नदी किनारको अतिक्रमण हटाउने अभियानले पूर्णता पाएको छ।

Facebook Comments Box
TOP
332 Shares