यिन्लाई पाप त लाग्नै पर्ने होइन र ?

बसन्त कुँवर

म भारतको केदारनाथमा तीर्थयात्रीहरूलाई डोकोमा बोकी पहाडी बाटो हुँदै मन्दिर पुर्‍याउने “नेपाली भारीया” हरुको भिडियो हेर्दै थिएँ, जसमा एक नेपालीले सारमा भन्नु हुन्छ –

“काम बहुतै गाह्रो छ तर परिवार पाल्न यो कठिन काम गर्न विदेश आउनु पर्छ। नेपालमा काम गरेर पेट पाल्न सकिन्न। तर यहाँ पनि विदेशबाट आएर हाम्रो देशमा पैसा कमायो भनेर रिस गर्नेहरू छन्। उनीहरूले हामीलाई भीरमा ठेलेर मारी नै दिन्छन्। यहाँ भारी बोक्ने गधा भन्दा पनि अपमानित छन् नेपालीहरू।”

यो भिडियो हेर्दा मेरो पनि मन नै रोयो। मनमनै सोचेँ, जुन देशमा सर्वोच्च हिमाल छ, पशुपतिनाथ छ, संसारमै चौथो जलस्रोतबाट बिजुली निकाल्ने सम्भावना छ, जुन देशमा हिमालदेखि तराईसम्म कृषि योग्य जमिन र जडीबुटीको भण्डार छ, जुन देश पर्यटनका हिसाबले संसारकै सुन्दर देशमा पर्छ, जुन मुलुकका मानिसहरू संसारमा बहादुर र मेहनती भनेर चिनिएका छन्, जुन देशको कला-संस्कृति संसारमै अलौकिक छ, जुन मुलुकमा बाघदेखि गैँडा र हिमाली चितुवादेखि दुर्लभ चराचुरुङ्गी र प्रकृति छ — त्यो देशका जनता किन अर्को देशमा भारी बोक्न जान र चरम गर्मीमा मरुभूमि तिर काम गर्दै गर्दा मर्न बाध्य छन् ??

म कसलाई दोष लगाऊँ? यसका लागि? दोष मेरै छ, किनभने म भोटद्वारा देश जसलाई जिम्मा दिन्छु, तिनको छनोटमा मबाटै गम्भीर चुक भयो। जसलाई सरकारी कर्मचारी बनाई पेन्सनदेखि अनेकौँ सुविधा दिई पालियो, सायद तिनको छनोट र पदस्थापनामा पनि चुक भयो।

हाम्रा गल्तीले विदेशमा मर्न बाध्य नेपालीहरू सङ्ग, नेपालमा भोट हाल्नेहरूले “माफी सम्म त माग्नै पर्ला कि?”

ति सबै नेपालीहरूमा हार्दिक श्रद्धाञ्जली, जसलाई एक छाक खाने र परिवार पाल्नेसम्मको रोजगार दिन नसकी, हामीले विदेश जान बाध्य बनायौँ र उतै मार्यौँ।

हामीलाई पाप त पक्कै लाग्नै पर्ने होइन र? कुरो यत्ति हो — पाप सासकलाई कति लाग्ने? भोट हाल्नेलाई कति लाग्ने? र कर तिरेर संवेदनहीन सरकारी कर्मचारी पाल्नेहरूलाई कति लाग्ने?

पूर्व एसएसपी

Facebook Comments Box
TOP
475 Shares