

वालेन सरकारलाई प्रश्नः जडीबुटीको बसपार्क कहिले हटाउने ?
काठमाडौं महानगरपालिका–३२, जडीबुटीमा अरनिको बसपार्क सञ्चालित छ । बाटो छेउ र घना बस्तीमा रहेको यो बसपार्क कहिकतै दर्ता छैन। बसपार्कका कारण जडीबुटी, कोटेश्वर, लोकन्थली, कौशलटार, गठ्ठाघरसम्म सवारी जाम हुने गरेको छ । घण्टौंसम्म जाम हुँदा आम नागरिक मर्कामा पर्दै आएका छन्।
सुकुम्बासी हटाएर चर्चा कमाइरहेका प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) सँग आम सर्वसाधारण यो बसपार्क हटाउन सरकारसँग माग गर्छन् । बसपार्कको नाममा यहाँ लुटधन्दा चलिरहेको छ । बसपार्कभित्र तथा बाहिर व्यापार व्यवसाय सञ्चालन भएका छन् । एउटै सटरको मासिक ३० हजारदेखि डेढ लाख रुपैयाँसम्म भाडा असुलिने गरिएको छ भने सामानको मूल्य उपभोक्तासँग दोब्बर लिइन्छ ।
एकातिर दर्ता भएको छैन, अर्कोतिर मासिक लाखौं आम्दानी गरिरहेको अवस्था छ । राजनीतिक दलको आड र गुण्डागर्दी गरेपछि कानून पनि मान्नुपर्दैन भन्ने ज्वलन्त उदाहरण हो, यो बसपार्क । बसपार्क सञ्चालनका निम्ति काठमाडौं महानगरपालिकाले अनुमति दिएकै छैन ।
अर्कोतर्फ, कानूनमा स्पष्ट भनिएको छ कि घना बस्ती र बाटो छेउमा बसपार्क सञ्चालन गर्न पाइँदैन । केही वर्षअघि यो बसपार्क भत्काउन महानगर प्रहरीसहित डोजर पुगेको थियो । अरनिको यातायात प्रालिका अध्यक्ष केदार क्षेत्रीले हजारौं गुण्डा उतार्ने भन्दै आँट भए भत्काएर देखाउन महानगर प्रहरीलाई खुलेआम चूनौती दिएका थिए ।
अरनिको प्रालिले अहिलेपनि नयाँ गाडी हाल्ने धनीसँग सातदेखि १५ लाख रुपैयाँ असुल्छ । दिनको हजारदेखि पन्ध्र सय रुपैयाँ एउटै गाडीबाट लेबी उठाइन्छ । सरकारले पाँच सय रुपैयाँ भाडा तोकेको रुटमा पन्ध्र सय रुपैयाँ असुल्छ । ज्येष्ठ नागरिक, अपांग, विद्यार्थीलाई भाडा छुट दिइँदैन । सिन्धुपाल्चोक खाँडीचौरका क्षेत्री ०७४ सालमा बलेफी गाउँपालिकाको अध्यक्ष भएका थिए ।
कहिले काँग्रेस कहिले एमाले त कहिले नेकपा एसमा लागेका उनको पृष्ठभूमि केलाउने हो भने गुण्डा हुन् । हप्ता उठाएर र सिण्डिकेट लगाएर क्षेत्रीले अर्बौको सम्पत्ति जोडिसकेका छन् । उनीसँगै अरनिको यातायात प्रालिका पूर्वअध्यक्ष चित्रबहादुर कुँवरको पनि सम्पत्ति करोडौं छ । काभ्रेपलाञ्चोकको भूम्लु गाउँपालिकास्थित काभ्रेका उनको अहिले ललितपुरको टिकाथलीमा ठूलो घर छ ।
उनी विगतमा सहचालक थिए । सहचालक हुँदै चालक बनेका कुँवरको अहिले रहनसहन देखिए जोकोही दंग पर्न सक्छ । उता, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला ताप्लेजुङका हुन् । केही दशकअघिसम्म बसपार्कमा टिकट बेच्दै हिँड्ने उनीसँग अहिले अकुत सम्पत्ति छ । काठमाडौं उपत्यकासहित थुप्रै ठाउँमा सिटौलाको घरजग्गा भएको र होटलसमेत रहेको बताइन्छ । सिटौला विगतमा माओवादी थिए ।
दुर्गम जिल्लामा जन्मिएका महासंघका अध्यक्ष विजय स्वाँरसँग पनि थुप्रै सम्पत्ति रहेको बताइन्छ । उनी कुनै समय एयरपोर्टमा ट्याक्सी चलाउँथे। कमजोर आर्थिक अवस्था भएको परिवारमा जन्मिएका सार्वजनिक यातायात व्यवसायी महासंघका अध्यक्ष डोलनाथ खनालले पनि अर्बाैको सम्पत्ति जोडेका छन् । केही दशकअघिसम्म उनी जिप चलाउँथे ।
त्यस्तै, ग्यास टेम्पो र ट्याक्सी चलाउने सिन्धुपाल्चोकका महासचिव भरत नेपालको पनि अकुत सम्पत्ति छ । जनताले तिरेको करबाट सरकारले बनाएको बाटो कब्जा गरेर यातायात व्यवसायीहरु कसरी मोटाएका छन् ? यी उदाहरण काफी छन् । यातायात व्यवसायीहरु जताजतै घुस, कमिशन खान्छन् अनि जनता र राज्य ठग्छन् ।
अटो शोरुमसँग कमिशन खान्छन् । गाडी र यात्रुको बीमा गर्दासमेत उनीहरुलाई नै कमिशन आउँछ । सवारी दुर्घटना हुँदा ज्यान गुमाएका यात्रुको आफन्तलाई भने एक लाख रुपैयाँ क्षतिपूर्ति दिएर मिलापत्र गराइन्छ । बाँकी बीमा रकम उनीहरु पचाउँछन् । यातायात कम्पनीहरुलाई महासंघको सदस्य बनाइन्छ ।
सदस्यताको पाँचदेखि २० हजार र मासिक त्यति नै लेबी उठाउने गर्छन् । देशभरको बाटो कब्जा गर्छन् अनि सरकारले तोकेकोभन्दा बढी भाडा असुली दिनमै १८ करोड रुपैयाँ ठग्छन् । यातायात व्यवसायीहरुले राज्यलाई विभिन्न ३२ वटा शीर्षकमा तिर्नुपर्ने कर साढे तीन दशकदेखि बढेको छैन ।
व्यवसायीहरु सरकारलाई कर बढाउन दिँदैनन् तर यात्रुसँग आफूले लिनुपर्ने भाडा भने तेलको मूल्य नबढ्दासमेत बढाउन माग गर्छन् । यातायात क्षेत्रमा पाँच दशकदेखि सिण्डिकेट छ । हरियो–कालो प्लेटको ट्याक्सी, फोस्टक टेम्पो, ढुवानी गाडी, माइक्रो बस, बसको नयाँ दर्ता नखुलेको दशकौं बितिसक्यो । वि.सं. २०३२ सालदेखि सट्टाभर्नामै गाडी चलाउने क्रम जारी छ । जसका कारण यात्रु मर्कामा पर्नुका साथै राज्यसमेत राजस्वविहीन बनिरहेको छ ।
सीमित व्यवसायीहरुले जनता र राज्य लुटेर अर्बौको सम्पत्ति जोड्दा आम सर्वसाधारण थोत्रा, पुराना, कवाडी गाडीमा चढेर ज्यान गुमाइरहेका छन् । गाडी चलाएर देशमै केही गर्छु भन्ने युवाहरु सिण्डिकेटका कारण विदेशिरहेका छन् । चर्को भाडा तिरेर गाडीमा झुण्डिएर यात्रा गर्न बाध्य छन्, जनता । राज्य राजस्वविहीन बनिआएको छ ।
यतिमात्र होइन, सुपरडिलक्सको नाममा थोत्रा गाडी चलाएर व्यवसायीहरु यात्रुसँग बढी भाडा असुल्छन् । कानूनमा गाडी दर्ता भएको मितिले तीन वर्ष पुगेपछि सुपरडिलिक्सको भाडा लिन पाइँदैन । तर, यहाँ त मापदण्डमै नपरेकादेखि दर्ता भएको दश–पन्ध्र वर्ष पुगेका सवारीसाधनले समेत सुपरडिलक्सको भाडा उठाइरहेका छन् । सँगै तीन वर्ष पुराना गाडी रातिकालिन यात्राका निम्ति प्रयोजन गर्न नपाउने भएपनि हामी कहाँ दशैं वर्ष पुराना गाडी चलाउने गरिएको छ ।
०७५ वैशाख ४ गतेको क्याबिनेटले संस्था दर्ता ऐन, २०१८ अन्तर्गत सञ्चालित ३०७ यातायात समिति र संस्था दर्ता ऐन, ०३४ अन्तर्गत सञ्चालित नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ खारेजीको निर्णय गर्यो । त्यसपछि नेपाल राष्ट्र बैंकले २४५ वटा समितिको बैंक खाता रोक्का गर्यो । ६२ वटा समितिको खाता सहकारीमा रहेकोले हुन सकेन ।
कानूनमा स्पष्ट लेखिएको छ कि संस्था दर्ता ऐनअन्तर्गत दर्ता भएका संघसंस्था खारेजीपछि त्यसको नाममा रहेका चल–अचल सम्पत्ति सरकारको हुन्छ । तर, यातायात व्यवसायीहरुले राजनीतिक दललाई हातामा लिई राज्यको नाममा जानुपर्ने खर्बौको सम्पत्ति रोक्का फुकुवा गर्न लगाए । सँगै आफ्नो सम्पत्ति पनि छानबिन हुन दिएनन् ।
त्यसैले, अब वालेन्द्र शाह –वालेन) सरकारले फेरि यातायात समिति र महासंघ खारेजीको निर्णय गर्दै यी समिति–महासंघको सबै सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ । सँगै समिति र महासंघमा रहेका पदाधिकारीको पनि सम्पत्ति छानबिन गरी स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ । सिण्डिकेट लगाउने, गुण्डागर्डी गर्ने अनि राज्य र जनतालाई ठग्ने यातायात व्यवसायीहरुमाथि अब कारबाही हुन आवश्यक छ । यसतर्फ सरकारको चाँडो ध्यान जाओस् ।रुषा थापा
समाज
थप सामाग्री
न्यूरोडको शिव फुड्सलाई ५० हजार जरिवाना, खाद्य वस्तुमा किराको भेट
१४ घण्टा अगाडि
1.6kViews 483 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यूरोडस्थित ‘श्री शिव फुड्स प्रा.लि.’ लाई ५०…



