गुण्डागर्दी नियन्त्रण अप्रेसन : पक्राउ परेकामध्ये १६ जना धरौटीमा रिहा, १७ अझै हिरासतमा

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले सञ्चालन गरेको विशेष अप्रेसनअन्तर्गत पक्राउ परेकामध्ये १६ जना धरौटीमा रिहा भएका छन् भने बाँकी १७ जनामाथि अनुसन्धान जारी रहेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ परेकाहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुमतिमा हिरासतमा राखिएको थियो। पछि सोही कार्यालयको आदेशमा १६ जनालाई धरौटीमा रिहा गरिएको हो।

प्रहरीले दुई दिनभित्रै ३३ जनालाई नियन्त्रणमा लिएको थियो। तीमध्ये युवा संघका सचिवालय सदस्य वकिल बमसहित १६ जना धरौटी बुझाएर छुटेका हुन्।

प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार वकिल बम १० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्। यस्तै, संजीव लामा ५० हजार रुपैयाँ र अशोक गिरी ६० हजार रुपैयाँ धरौटीमा छुटेका छन्। अन्य अभियुक्तहरू अणबहादुर तामाङ, मिनबहादुर तामाङ, आशिष क्षेत्री, सानुबहादुर तामाङ, लक्ष्मण साउद, रवि थिङ, ज्ञानबहादुर तामाङ, अकलबहादुर मोक्तान, साङ्गे लामा र अकलबहादुर थोकर १०/१० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।

यसअघि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत २० गते राति १३ जनालाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको थियो।

प्रहरीले बाँकी १७ जनामाथि भने थप अनुसन्धान जारी राखेको जनाएको छ।

Facebook Comments Box
TOP
443 Shares