महानगर–प्रहरी सहकार्य बलियो बन्दै: सडकदेखि सहरी व्यवस्थापनसम्म संयुक्त पहल

काठमाडौँ । काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीबीच सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने सहमति भएको छ। सडक सुरक्षा, सहरी सुरक्षा र समग्र सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउन दुवै निकायबीच समन्वय थप सुदृढ गर्ने समझदारी बनेको हो।

महानगरपालिकाका कार्यवाहक प्रमुख र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच भएको भेटवार्तामा वर्तमान चुनौती, आवश्यक सुधार र साझा रणनीतिबारे विस्तृत छलफल भएको थियो। नागरिकलाई सहज, सुरक्षित र व्यवस्थित सेवा प्रदान गर्ने लक्ष्यसहित सहकार्यलाई परिणाममुखी बनाउनेमा दुवै पक्ष सहमत देखिएका छन्।

भेटमा कार्यवाहक प्रमुख डङ्गोलले सडक सुरक्षा र ट्राफिक व्यवस्थापनदेखि अतिक्रमित सार्वजनिक जग्गा संरक्षण, अव्यवस्थित बसोबास व्यवस्थापन र “सडक मानवमुक्त काठमाडौँ” अभियानसम्मका क्षेत्रमा नेपाल प्रहरीसँग सहकार्य गर्न चाहेको बताइन्। उनले महानगर प्रहरी बललाई नेपाल प्रहरीको सहयोगले अझ सशक्त बनाउँदै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरिन्।

प्रहरी महानिरीक्षक कार्कीले महानगरलाई आवश्यक सहयोग गर्न नेपाल प्रहरी पूर्ण रूपमा तयार रहेको स्पष्ट पारे। उनले उपत्यका प्रहरी कार्यालयमार्फत समन्वयलाई संस्थागत बनाउने र त्यसका लागि फोकल पर्सनसमेत तोकिएको जानकारी दिए। सचेतनामूलक कार्यक्रम, नागरिक सहभागिता र प्रविधिको प्रयोगमार्फत कम जनशक्तिबाट बढी प्रभावकारी नतिजा हासिल गर्ने प्रणाली विकासमा महानगरसँग सहकार्यको अपेक्षा पनि उनले व्यक्त गरे।

छलफलका क्रममा लागू औषध दुर्व्यसन नियन्त्रण, सार्वजनिक स्थलमा धुमपान तथा मद्यपान नियन्त्रण, व्यवस्थित पार्किङ, ट्राफिक सङ्केत सुधार, रात्रि तथा बिहान बस सेवाको सुरक्षा, र “सडक मानव मुक्त काठमाडौँ” अभियानमा प्रहरीको सक्रिय सहभागिताजस्ता विषयलाई प्राथमिकताका साथ उठाइएको थियो।

बैठकमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो। सहकार्यको यो पहलले राजधानीको व्यवस्थापनमा सुधार ल्याउँदै नागरिकको दैनिकी थप सुरक्षित र व्यवस्थित हुने अपेक्षा गरिएको छ।

Facebook Comments Box
TOP
353 Shares