वरिष्ठ कला निर्देशक पासाङ टी शेर्पाको निधन, नेपाली चलचित्र क्षेत्रमा शोक

काठमाडौँ । वरिष्ठ कला निर्देशक तथा कलाकार पासाङ टी शेर्पाको निधन भएको छ। उनको मंगलबार निधन भएको हो, जसले नेपाली चलचित्र क्षेत्रलाई शोकमा डुबाएको छ।

उनको निधनप्रति चलचित्र विकास बोर्डले गहिरो दुःख व्यक्त गर्दै शोक विज्ञप्ति जारी गरेको छ। बोर्डले शेर्पालाई नेपाली चलचित्रको दृश्य–सौन्दर्य, कला–निर्माण तथा रचनात्मक अभिव्यक्तिमा महत्वपूर्ण योगदान पुर्‍याउने स्रष्टाका रूपमा स्मरण गरेको छ।

दशकौँदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय शेर्पाले ‘दौतरी’, ‘राजु राजाराम’, ‘सावधान’, ‘को आफ्नो को विरानो’, ‘मुग्लान’, ‘चोर सिपाही’, ‘ए मेरो हजुर’, ‘कोहिनूर’, ‘शासन’, ‘हिफाजत’ र ‘क्रोध’ लगायतका दर्जनौँ चर्चित चलचित्रमा कला निर्देशक तथा कलाकारका रूपमा काम गरेका थिए।

उनका सिर्जनात्मक कामहरूले नेपाली चलचित्रको दृश्य प्रस्तुति र कलात्मक स्तरलाई उचाइमा पुर्‍याएको मानिन्छ। बोर्डले उनलाई सरल, मेहनती र सबै कलाकर्मीका प्रिय व्यक्तित्वका रूपमा स्मरण गर्दै उनको निधनले नेपाली चलचित्र क्षेत्रमा अपूरणीय क्षति पुगेको ठहर गरेको छ।

शेर्पाको योगदानले नेपाली सिनेमामा दीर्घकालसम्म प्रभाव छाडिरहने विश्वास गरिएको छ।

Facebook Comments Box
TOP
423 Shares