‘परान’ले छोयो यति एयरलाइन्स परिवारको मन

काठमाडौं। ‘परान’ ले दर्शकको चौतर्फी प्रशंसा पाउन थालेपछि यति एयरलाइन्स परिवारले पनि आफ्ना कर्मचारी तथा कर्मचारीका अभिभावकसहित केएल टावरको एफक्यू सिनेमा हलमा फिल्म हेरेका छन्।

फिल्म हेरिसकेपछि यति एयरलाइन्सका कर्मचारीहरू भने निकै भावुक देखिएका थिए । कसैले आँसु पुछिरहेका थिए त कोही स्तब्ध थिए । तुरून्तै प्रतिक्रिया जनाउन सक्ने अवस्थामा पनि थिएनन् । “अहिलेसम्म कुनै फिल्म हेरेर रोएको थिइनँ, आँखाबाट आँसु नै बगेको थिएन, तर यो परान फिल्मले रूवायो ।” भावुक भएका ती कर्मचारीले प्रतिक्रिया दिँदै भने, “गाउँ छाड्ने बेला कान्छो छोराले बुवालाई जब अँगालो हालेर रुन थाल्छ, त्यसबेला त झनै भक्कानिएको थिएँ, छोरा हिँडेपछि बुबा पनि रुन थाल्दा   कसैले मन थाम्न सकेनन् ।” सन्तान र अभिभावकबीचको प्रेम, विदेशमा बस्ने छोरा–बुहारीको संवाद र घर–घरकै कथा समेटिएकाले दर्शकको मन जित्न सफल भएको बताए ।

नेपाली समाजको पारिवारिक कथा समेटिएको ‘परान’ फिल्म जीवनको उत्तरार्धमा सन्तानको साथ र माया खोजिरहेका एक बाबुको कथामा आधारित छ । फिल्मले बाबुआमाले बुढेसकालमा सन्तानको सामीप्य चाहने र सन्तानले आफ्ना आकांक्षालाई प्राथमिकता दिँदा उत्पन्न हुने भावनात्मक दूरी र अवस्थालाई यथार्थपरक रूपमा चित्रण गरेको छ ।

फिल्मको शीर्ष भूमिकामा वरिष्ठ अभिनेता नीर शाह रहेका छन् । नेपाली फिल्म उद्योगमा अभिनयका भीष्मपितामाका रूपमा परिचित शाहले धेरै वर्षपछि शीर्ष भूमिका निभाएकाले यो फिल्म विशेष चासोको विषय बनेको छ । पारिवारिक दर्शकका लागि सन्देशमूलक र भावनात्मक कथा प्रस्तुत गर्ने यो चलचित्रले सबै उमेरका दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ ।

‘परान’ फिल्मलाई डेब्यु निर्देशक दीपकप्रसाद आचार्य (काकु) ले निर्देशन गरेका हुन् । फिल्मको कथा पनि आचार्यकै हो भने पटकथा र संवाद यम थापाले लेखेका हुन् । यो चलचित्र देशका प्रतिष्ठित व्यवसायिक समूह गोल्छा समूह र प्रिज्मा समूहको संयुक्त लगानीमा स्थापना भएको बाइस्कोप सिनेमा प्रा.लि. ले निर्माण गरेको हो ।

फिल्ममा नीर शाह, महेश शाह, अञ्जना बराइल, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई तथा बाल कलाकार आर्यादीप आचार्यलगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ ।

सांस्कृतिक अभिवृद्धि र मनोरञ्जनलाई संस्थागत स्तरमै प्रोत्साहन गर्ने उद्देश्यले यति एयरलाइन्सले आयोजना गरेको यो चलचित्र प्रदर्शन कार्यक्रमले कर्मचारीबीच आपसी सम्बन्ध र सकारात्मक उर्जा सुदृढ गर्ने विश्वास गरिएको छ ।

Facebook Comments Box
प्रचण्डको सरकारमाथि कडा आरोप: निरंकुश शैलीतर्फ उन्मुख भएको दाबी
६ घण्टा अगाडि

1.7kViews 406 Shares Share on Facebook Share on Twitter सुर्खेत । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारमाथि निरंकुश…

TOP
208 Shares