सडक सबैको हो: इटहरीमा ट्राफिक सचेतना अभियान, जनतासँगै प्रहरी सडकमा

इटहरी । “सडक सबैको हो, त्यसैले ट्राफिक नियम पालना गर्नु हाम्रो कर्तव्य हो” भन्ने मूल नारासहित इटहरीमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी र सचेत नागरिक युवा मञ्चको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रमले स्थानीय नागरिकमा ट्राफिक अनुशासनप्रति जागरण फैलाउने लक्ष्य राखेको थियो।
एसपी दीपक गिरीको प्रमुख आतिथ्यतामा इटहरीको मुख्य चौकमा आयोजित कार्यक्रममा ट्राफिक लाइटको सही प्रयोग, पैदल यात्रु र सवारी चालकले पालन गर्नुपर्ने नियमबारे प्रत्यक्ष रूपमा जानकारी दिइएको थियो। कार्यक्रममा ट्राफिक प्रहरीले सडकमा खटिएरै नागरिकसँग संवाद गर्दै नियम उल्लंघन गर्दा हुने जोखिम र दुर्घटनाबाट बच्ने उपायहरूबारे सचेतना फैलाएको थियो।
कार्यक्रमका क्रममा सवारी चालक, पैदल यात्रु तथा सर्वसाधारणलाई ट्राफिक संकेतहरूको महत्वबारे जानकारी गराउँदै जिम्मेवार सडक प्रयोगकर्ताको भूमिका निर्वाह गर्न आग्रह गरिएको थियो। सहभागीहरूले पनि यस्ता कार्यक्रमले व्यवहारमै परिवर्तन ल्याउन मद्दत पुग्ने प्रतिक्रिया दिएका थिए।
सुरक्षित, व्यवस्थित र अनुशासित सडक निर्माणका लागि यस्ता जनचेतनामूलक कार्यक्रमहरू प्रभावकारी हुने विश्वास लिइएको आयोजकले बताएका छन्।

Facebook Comments Box
TOP
284 Shares