

१४ करोड क्यासिनो लुटपाट प्रकरण: मुख्य नाइके धरौटीमा मुक्त, प्रहरी–अदालत सेटिङको गम्भीर आरोप
काठमाडौं । जेनजी आन्दोलनको उथलपुथलबीच गत भदौ २४ गते होटल ह्यातस्थित प्राइड इन्टरटेन्टमेन्ट रिक्रेसन सेन्टर (क्यासिनो) मा भएको करिब १४ करोड रुपैयाँ लुटपाट प्रकरणले नयाँ मोड लिएको छ। घटनाका मुख्य नाइके भनिएका ‘कुले’ उर्फ कुलबहादुर लामा र ‘कोरियन’ उपनामले चिनिने राकेश लामा पक्राउ परेको दुई दिनमै धरौटीमा छुटेपछि प्रहरीको भूमिका र न्यायिक प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ।
काठमाडौं प्रहरीले फागुन ३० गते बौद्ध क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको थियो। तर, पक्राउ परेको भोलिपल्टै जिल्ला अदालतमा पेश गरिएका दुवै जनालाई जनही ५ लाख रुपैयाँ धरौटीमा रिहा गरिएको प्रहरीले जनाएको छ।
यसअघि सोही प्रकरणमा संलग्न ४२ वर्षीय दावा सेट्टी, २९ वर्षीय रञ्जित खड्गी ‘रणे’ र दोर्जे शेर्पा भने पुर्पक्षका लागि थुनामा छन्। तर मुख्य योजनाकार मानिएका कुलबहादुर र राकेश भने सुरुदेखि नै फरार सूचीमा राखेर पछि ‘सेटिङ’ मार्फत आत्मसमर्पण गराई सहज रुपमा छुटाइएको आरोप स्रोतहरूले लगाएका छन्।
प्रहरीभित्रै सेटिङको आरोप
प्रहरी स्रोतका अनुसार, प्रारम्भिक अनुसन्धानका क्रममा नै केही प्रहरी अधिकारीको मिलेमतोमा मुख्य अभियुक्तलाई भगाइएको दाबी गरिएको छ। विशेषगरी काठमाडौं परिसरका एक इन्स्पेक्टर र उपत्यका प्रहरी कार्यालयका एक डीएसपीको नाम यस प्रकरणमा जोडिएको स्रोतको भनाइ छ।
यदि उनीहरूलाई घटनाकै समयमा पक्राउ गरिएको भए अन्य अभियुक्तसरह पुर्पक्षमै थुनामा जानुपर्ने अवस्था हुने थियो। तर फरारमै मुद्दा दर्ता गरी पछि अदालतमा प्रस्तुत गर्दा धरौटीमा छुट्ने वातावरण बनाइएको आरोप छ।
बयानमा रकम कम देखाउने खेल
लुटपाटमा संलग्न समूहले प्रहरीसमक्ष दिएको बयानमा करिब २७ लाख रुपैयाँ मात्र लुटिएको र ९ जनाबीच ३–३ लाखका दरले बाँडिएको उल्लेख गरिएको बताइन्छ। तर स्रोतहरूका अनुसार वास्तविक रकम निकै ठूलो—प्रत्येक व्यक्तिले ६० लाख रुपैयाँभन्दा बढी बाँडेको दाबी गरिएको छ।
यसले अनुसन्धानमै तथ्य लुकाउने प्रयास भएको आशंका बलियो बनाएको छ।
पुनः पक्राउ गर्न सक्ने अवस्था हुँदाहुँदै पनि निष्क्रियता
कानुनविद्हरूका अनुसार, यस्तो प्रकृतिको संगठित लुटपाटमा संलग्न व्यक्तिलाई संगठित अपराध, सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर मुद्दामा पुनः पक्राउ गर्न सकिने कानुनी आधार हुन्छ। तर प्रहरीले त्यस्तो पहल नगर्नु पनि शंकास्पद मानिएको छ।
क्यासिनोमा छापा, साना खेलाडी मात्र पक्राउ
यता, प्रहरीले चैत ३ गते बुढानीलकण्ठस्थित लेमन ट्री होटलभित्र सञ्चालित गडुल क्यासिनो र ताहाचलस्थित माजोङ क्यासिनोमा छापामारी गरी १४ जना नेपाली जुवाडेलाई पक्राउ गरेको थियो। उनीहरूबाट जम्मा १ लाख ९० हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूलाई पटक–पटक म्याद थप गर्दै अनुसन्धान जारी राखिएको छ। तर कानुन विपरीत नेपालीलाई जुवा खेलाउन दिने क्यासिनो सञ्चालकहरू भने कारबाहीबाट बाहिर छन्।
क्यासिनो नियमावलीअनुसार खेल्ने मात्र होइन, खेलाउने पक्ष पनि उत्तिकै दोषी हुने व्यवस्था भए पनि सञ्चालकहरूलाई उन्मुक्ति दिइएको भन्दै आलोचना बढेको छ।
‘दस्तुरी असुली’को आरोप
प्रहरीले साना जुवाडे पक्राउ गरेर म्याद थप गर्दै जाने तर ठूला सञ्चालकलाई नछुने प्रवृत्तिले ‘दस्तुरी असुली’को संकेत गर्ने आरोपसमेत लागेको छ।
विशेषगरी जेनजी आन्दोलनपछि बन्न लागेको नयाँ सरकारको पूर्वसन्ध्यामा क्यासिनो क्षेत्रमा छापामार शैलीमा कारबाही गर्दै आर्थिक चलखेल सुरु गरिएको आरोप स्रोतहरूले लगाएका छन्।
समग्रमा, १४ करोडको क्यासिनो लुटपाटजस्तो गम्भीर अपराधमा मुख्य अभियुक्तहरू सहजै धरौटीमा छुट्नु र साना घटनामा भने कडा कारबाही देखिनु, प्रहरी संगठनभित्रको निष्पक्षता र विश्वसनीयतामाथि नै प्रश्न उठाउने घटनाका रूपमा हेरिएको छ।
समाज
थप सामाग्री
गाडीले ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु
१३ घण्टा अगाडि
2.4kViews 344 Shares Share on Facebook Share on Twitter दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना हुँदा…



