

दबाबबीच मौखिक आदेशमै कमाण्ड सम्हालेको कार्कीको खुलासा
काठमाडौं । जेनजी आन्दोलनका क्रममा उत्पन्न जटिल सुरक्षा अवस्थाबीच तत्कालीन एआईजी (हाल आईजीपी) दानबहादुर कार्की ले मौखिक आदेशकै आधारमा काठमाडौं उपत्यका प्रहरी कार्यालयको कमाण्ड सम्हालेको खुलासा गरेका छन्।
गत भदौ २३ र २४ गते भएको आन्दोलनका घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्की नेतृत्वमा गठित आयोगसमक्ष बयान दिँदै कार्कीले सहकर्मी अधिकारीहरू जिम्मेवारीबाट पछि हटेपछि आफूले नेतृत्व लिनु परेको बताएका हुन्।
उनका अनुसार भदौ २३ सम्म उनी प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा कार्यरत थिए भने काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी एआईजीविहीन अवस्थामा थियो। भदौ २४ मा केही एआईजीहरूले कमाण्ड सम्हाल्न अनिच्छा देखाएको र केहीले बिरामीको बहाना बनाउँदै जिम्मेवारीबाट पन्छिएपछि आफूले मौखिक निर्देशनमै कमाण्ड सम्हालेको उनले बताएका छन्।
कार्कीले सो दिन बिहान ९ बजे कार्यालय पुगेर आवश्यक निर्देशन दिएको र त्यसपछि गृह मन्त्रालय पुगेको उल्लेख गरेका छन्। “एकैसाथ हिंसा, तोडफोड र आक्रमण फैलिँदै गएको अवस्थामा समयको अभाव र अत्यधिक दबाबबीच निर्णय लिनुपरेको थियो,” उनले बयानमा भनेका छन्।
उनका अनुसार उक्त समयमा काठमाडौं उपत्यकामा ४ हजार ३९६ प्रहरी परिचालन गरिएको थियो। सामाजिक सञ्जाल बन्द गरिएको समाचार बाहिरिएपछि तत्कालीन सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ लाई प्रतिबन्ध खोल्न सुझाव दिएको पनि उनले खुलाएका छन्।
त्यस्तै, भदौ २३ मै सम्भावित क्षति न्यूनीकरणका लागि राजनीतिक तहमा राजीनामासमेत विकल्प हुनसक्ने सुझाव दिएको उनले बताएका छन्। साथै, रवि लामिछाने कारागार बाहिर आएको विषयमा समेत बयानमा उल्लेख गर्दै उनले प्रहरी नेतृत्वको दौडमा रहेको अस्वस्थ प्रतिस्पर्धाको संकेत गरेका छन्।
हिरासत व्यवस्थापनबारे स्पष्ट पार्दै कार्कीले थुनुवाको ज्यान जोखिममा परेको अवस्थामा मात्र मानवअधिकारको न्यूनतम मापदण्ड पालना गर्दै अभिलेख राखी, खोजेको बेला उपस्थित हुने सर्तमा सीमित रूपमा थुनुवा छाड्ने निर्देशन दिएको बताएका छन्।
आन्दोलनको तनावपूर्ण परिस्थितिमा सुरक्षा संयन्त्रभित्रकै समन्वय अभाव र नेतृत्व संकट देखिएको कार्कीको बयानले संकेत गरेको छ, जसले घटनाक्रमको थप राजनीतिक तथा संस्थागत पाटो उजागर गरेको छ।
समाज
थप सामाग्री
गाडीले ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु
१३ घण्टा अगाडि
2.4kViews 344 Shares Share on Facebook Share on Twitter दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना हुँदा…



