

दलको साथ र सुरक्षाकर्मी कमजोर हुँदा छिमेकी भूभाग मिच्ने,जनता सरकारी सम्पत्ति हड्पने
सन् १९५० मा नेपाल र भारतबीच शान्ति तथा मैत्री सन्धि भयो । यो सन्धि हुनुअघि सिक्किम, दार्जिलिङ, टिष्टा कागडा, हाजीपुर, बाबाघाम, तिब्बत नेपाली भूमि थियो । तर, सन्धिपछि यी भूभाग भारतको स्वामित्वमा गयो । सन्धिपछि पनि कालापानी, लिम्पियाधुरा, लिपुलेक, टकनपुर, कोलकत्तासम्म नेपाली भूभाग भारतले कब्जा गर्यो ।
नेपाल विश्वकै पुरानो देशमध्ये एक हो । इतिहास साक्षी छ कि नेपाल कहिल्यै विदेशीको कब्जामा पुगेन । त्यसैले, नेपाल विश्वसामु स्वतन्त्र, अखण्ड, स्वाधिनता भएको देशका रुपमा चिनिन्छ । हाम्रो देशमा पटकपटक राजनीतिक परिवर्तन भयो । राणा शासनदेखि राजतन्त्र, पञ्चायत, बहुदल हुँदै लोकतन्त्र गणतन्त्रसम्ममा हामी आइसकेका छौं ।
यसबीचमा मुलुकको नेतृत्व विभिन्न व्यक्तित्व, शक्ति वा राजनीतिक दलहरुले गरे । आखिर जोकोहीले सत्तामा पुग्दा जनतालाई आश्वासन दिलाउँछन् कि भारतले कब्जा गरेको नेपाली भूभाग फिर्ता ल्याउँछौं । विडम्बना, यतिका दशकौं बितिसक्यो न भारतले कब्जा गरेको नेपाली भूभाग फिर्ता हुन सकेको छ न भारतजति हामी बलियो ।
उल्टै नेपाल विश्वमै कमजोर बन्दै गइरहेको अवस्था छ । भारत स्वतन्त्र भएको शताब्दीसमेत भएको छैन । तर, उसले हाम्रो भूभाग मिचेको मिच्यै छ । हामीलाई हेपेर भारतले मनलाग्दी गतिविधि गर्दै आएको छ । कहिले सीता भारतमा जन्मिएको दाबी गर्छ त कहिले बुद्ध । कहिले त नेपाल नै भारतको थियो भन्न पनि भ्याउँछ । अनि इतिहास बोकेको हाम्रोजस्तो देश अनि भारतसामु निरीह ?
किन राजनीतिक दलका नेताहरुको भारतसामु बोली पनि फुट्दैन ? जहिल्यै चुनावका बेला राजनीतिक दल र नेताहरु भारतको विरोध गर्छन् । भारतले यसो–त्यसो गरेको र कब्जा भएको नेपाली भूभाग कब्जा ल्याउँछौं भन्दै जनताको मन जित्छन् अनि सत्तामा पुग्छन् । सत्तामा पुगेपछि चाँहि ठ्याक्कै उल्टो । भूभाग फिर्ता ल्याउने कुरा त परको हो, सीमासमेत बन्द गर्न सक्दैनन् ।
भारतका कारण नेपालमा आपराधिक घटनाहरु बढिरहेका छन् । सीमाबाट सजिलै नेपाल पस्ने भारतीयहरुले नेपालीको हत्या, हिंसा, चोरी, लुटपाट गरिरहेका छन् । दुर्भाग्य, सरकार केही गर्न सक्दैन । भारतले नेपाललाई छिमेकीजस्तो समेत व्यवहार गर्दैन । ऊ त हाम्रो भूभागमाथि मात्र आँखा गाडेर बसेको छ । नेपाल नै कब्जा गर्ने उसको दाउ छभन्दा पनि फरक नपर्ला ।
भारतको नियतबारे सबै नेपाली जनता जानकार छन् । त्यसैले त जनता सरकार घच्घचाइरहेका छन् । सरकारलाई जनताको साथ छ । जनताभन्दा ठूलो शक्ति अरु केही होइन । तैपनि, हाम्रो सरकार भारतसामु लाचार देखिन्छ । भारतले जे भन्छ, त्यँही कुरा हाँसीहाँसी गर्छन् सरकारमा बसेकाहरु । आखिर किन ? उनीहरु भारतदेखि डराएका हुन् कि केही व्यक्तिगत स्वार्थ छ ?
मुलुकको भूभागको सुरक्षा गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल राखिएको छ । सुरक्षाकर्मी लाखौंको संख्यामा छन् । तर, उनीहरुले भारतले लगेको वा कब्जा गरेको नेपाली भूभाग फिर्ता ल्याउनु त परको कुरा हो, सीमा मिच्दासमेत मौन बसेको अवस्था छ । राष्ट्र एक व्यक्ति वा एउटा पार्टीको मात्र होइन, नेपाल तीन करोड नेपाली जनताको भूभाग हो ।
त्यसैले, देशको भूभागको सुरक्षा गर्नु सुरक्षाकर्मीसँगै जनताको पनि दायित्व हो । हिजो हाम्रा पुर्खाहरुले आफ्नो रगत बगाएर बचाएको देश हो नेपाल । उनीहरुले आफ्नो ज्यान गुमाए तर देशलाई हार्न दिएनन् । नेपालमा विदेशीको हस्तक्षेप हुन दिँदैनन् । विडम्बना, पुर्खाले रगत बगाएर जोगाएको देशका छोराछोरी अहिले व्यक्तिगत स्वार्थमा मात्र रमाइरहेको अवस्था छ ।
अहिले जनतालाई देशभन्दा पार्टी प्यारो बनेको छ त सुरक्षाकर्मी तलब खान मात्र जागिर गरिरहेका छन् । उनीहरुलाई तलबसँग मात्र मतलब छ। तलब समयमा पाइन्छ कि पाइँदैन ? बढ्छ कि बढ्दैन ? बढुवा हुन्छ कि हुँदैन ? भनेर मात्र उनीहरुमा चिन्ता देखिन्छ । अनि जनता चाँहि पार्टीको कार्यक्रममा मासुभात खान पाइन्छ कि पाइँदैन ? पैसा पाइन्छ कि पाइँदैन ? भनेर हिँडिरहेको देखिन्छ ।
जसको उदाहरण हालै सम्पन्न नेकपा एमालेको एघारौं महाधिवेशनसमेत हो । गत मंसिर २७ गते भक्तपुरको सल्लाघारी तीनकुने चौरमा एमाले महाधिवेशनको उद्घाटन सत्र थियो । त्यसक्रममा एमाले नेता प्रदीप ज्ञवालीले राष्ट्रिय गान बजाउँदै एक मिनेट मौन धारण गर्न आग्रह गरे । राष्ट्रिय गान केबल गीत मात्र होइन, यो हाम्रो अस्तित्व र राष्ट्रियतासँग जोडिएको छ ।
त्यसैले, राष्ट्रिय गान बज्दा जोकोही नेपाली उठ्नुपर्छ र छातीमा हात राखेर गाउनुपर्छ । यो नौंटकी होइन, देशप्रतिको सम्मान हो । तर, एमाले महाधिवेशनमा राष्ट्रिय गान बज्दा यसको उल्टो देखियो । सुरक्षाकर्मीदेखि एमाले कार्यकर्तासम्मले राष्ट्रिय गानलाई बेवास्ता गरे । गीत बज्दा सुरक्षाकर्मीहरु एकापसमा गफ गर्न व्यस्त थिए त एमाले कार्यकर्ताहरु बजेर बदाम खाइरहेका थिए । यसले उनीहरुको त बदनाम भयो नै सँगै हाम्रो राष्ट्रियकै अपमान भएको छ । ०५८ जेठ १९ गते तत्कालिन राजा वीरेन्द्र वीरविक्रम शाह र उनको परिवारकै हत्या भयो । नारायाणहिटी दरबारमै राजाको वंश नासियो ।
त्यतिबेला राजाको सुरक्षाको जिम्मेवारी सेनालाई दिइएको थियो । तर, सेनाले राजा र उनका परिवारलाई त बचाउन सकेन नै सँगै राजपरिवार हत्या कसरी, कसले र किन गर्यो ? भनेर जवाफ पनि दिन सकेन । अनि आफ्नै राजाको देशभित्र सुरक्षा गर्न नसक्ने सेनाबाट मुलुकको भूभागको सुरक्षा हुन्छ भनेर सोच्नु पनि लाजमर्दो हो ।
दरबार हत्याकाण्डपछि पनि सेना पटकपटक चुकेको छ । त्यो माओवादी जनयुद्धकालमा होस् या जेनजी आन्दोलनमा । सेना माओवादीसँग लड्न सकेन अनि मुलुकबाट राजतन्त्र हट्यो । राजा ज्ञानेन्द्र दरबार छोडेर नार्गाजुनको जंगल पस्नुपर्यो । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा मुलुकको इतिहास सिंहदरबारसहित विभिन्न सम्पदा, धरोहरहरु खरानी बन्यो ।
त्यतिबेला सेनाले चाहेको भए ती सम्पदा जोगाउन सक्थ्यो । तर, सेना हेरेर बसिरह्यो । अनि देश जलिरह्यो । नेपाली सुरक्षाकर्मीका कारण भारतले त नेपाली भूभाग कब्जा गर्यो नै सँगै नेपाली जनतामा पनि देशको सम्पत्ति कब्जा गर्ने मनोबल बढ्यो । अहिले देशभित्रका जतिपनि सरकारी सम्पत्ति कब्जा भएको छ, त्यो जनताबाटै भएको छ ।
देशभरिका लाखौं रोपनी सार्वजनिक जग्गा, तालपोखरी, खोलानदी, वनजंगल, मठमन्दिर, राजपरिवारलगायतको खर्बौको सरकारी सम्पत्ति व्यक्तिको कब्जा गइसकेको छ । अनि राज्यको सम्पत्ति दोहन वा कब्जा गर्ने आँट जनतामा कसरी आयो त ? सुरक्षाकर्मीको कमजोरीका कारण होइन र ?
सुरक्षाकर्मीसँगै सरकार र राजनीतिक दल पनि यसमा दोषी छन् । यदि उनीहरुले पहिल्यै भारतलाई नेपाली भूभाग कब्जा गर्न नदिएको भए र जनताले पनि सरकारी सम्पत्ति कब्जा गर्नेबित्तिकै कडा कदम चालेको भए आज सरकारी सम्पत्ति हड्पने आँट कसैमा आउँदैन्थ्यो ।रुषा थापा
समाज
थप सामाग्री
घरबारविहीन नबनाउने सरकारको प्रतिबद्धता, सुकुम्बासी व्यवस्थापनमा विशेष आयोग गठन गरिने
१६ घण्टा अगाडि
1.7kViews 134 Shares Share on Facebook Share on Twitter काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घरबारविहीन नागरिकको…



