

पूर्वआईजीपी चन्द्र कुबेर खापुङको कविता : ‘सिंहदरबारलाई हुँडारहरूले घेरिसके’
काठमाडौं । नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङले सिंहदरबारको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत कविता सार्वजनिक गर्दै सिंहदरबार अभिमान, सत्ता र सभ्यताको केन्द्रबाट आतंक र निरिहताको प्रतीक बन्दै गएको टिप्पणी गरेका हुन्।
खापुङले आफ्नो कवितामार्फत राज्यसत्ताको केन्द्र मानिने सिंहदरबार आज स्वनिर्णयविहीन, किंकर्तव्यविमूढ र चारैतिरबाट ‘हुँडार’ र ‘हिंस्रक शिकारी’ले घेरिएको प्रतीकात्मक चित्रण गरेका छन्। उनका अनुसार सिंहदरबार अब आशा र अपेक्षाको केन्द्रभन्दा पनि असुरक्षा र दिशाहीनताको बिम्ब बन्न पुगेको छ।
हालै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र ऊर्जामन्त्री कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग विलय भएपछि उत्पन्न राजनीतिक तरंगप्रति आक्रोश पोख्दै खापुङले कविता लेखेको बुझिन्छ। उनले राज्य संरचना कमजोर बन्दै जाँदा सिंहदरबारको ऐतिहासिक पहिचान नै फेरिन थालेको संकेत गरेका छन्।
खापुङ आईजीपी रहेका बेला ‘Gen Z आन्दोलन’ का नाममा भएको हिंसात्मक विद्रोहका क्रममा सिंहदरबार, सर्वोच्च अदालतलगायत सयौं ऐतिहासिक धरोहर जलेर नष्ट भएका थिए। सोही घटनाक्रममा सयौं प्रहरी कार्यालयमा तोडफोड, आगजनी हुनुका साथै प्रहरीमाथि कुटपिटसमेत भएको थियो। रास्वपा सभापति रवि लामिछाने नख्खु कारागारमा रहेका बेला भएको आन्दोलनपछि हजारौं कैदी बाहिरिएको घटनालाई पनि खापुङले स्मरण गरेका छन्।
त्यसबेला सिंहदरबारमा लागेको आगो निभाउन दमकल नपठाएको आरोप काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहमाथि लागेको थियो।
खापुङको कविता (जस्ताको तस्तै)
सिंहको दरबार : सिंहदरबार
अभिमान र आतङ्कको प्रतीक
सिंहदरबार,
सत्ता र शक्तिको पर्याय
सिंहदरबार,
आकर्षण र आस्थाको धरोहर
सिंहदरबार,
अपेक्षा र आशाको केन्द्र
सिंहदरबार,
सभ्यता र इतिहासको बिम्ब
सिंहदरबार,
आज पहिचान फेरिँदै छ।
सिंहदरबार आज निरिह देखिँदैछ,
लाग्छ,
सिंहराज चारैतिरबाट
हुँडारहरूले घेरिएको छ।
अलि पर छ अर्को घेरा
अझ हिंस्रक शिकारीहरूको,
सिंह किंकर्तव्यविमूढ छ,
स्वनिर्णयविहीन छ।
सिंह आफैं अपेक्षी छ,
लाग्दो हो बरु चिडियाखाना ठीक,
आँधीअघिको सुन्यता जस्तो छ,
कोही सलबलाइरहेछन् त
केवल हुँडारहरू,
केवल हुँडारहरू।
खापुङको यो कविता केवल साहित्यिक अभिव्यक्ति मात्र नभई वर्तमान राजनीतिक अवस्था, राज्य संरचनाको कमजोर नेतृत्व र संस्थागत क्षयप्रतिको तीखो चेतावनीका रूपमा हेरिएको छ।
समाज
थप सामाग्री
घरबारविहीन नबनाउने सरकारको प्रतिबद्धता, सुकुम्बासी व्यवस्थापनमा विशेष आयोग गठन गरिने
१६ घण्टा अगाडि
1.7kViews 134 Shares Share on Facebook Share on Twitter काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घरबारविहीन नागरिकको…



