प्रधानमन्त्रीज्यू, मन्त्रिमण्डलमा सुरक्षा विज्ञ भएनन् कि?

बसन्त कुँवर
मन्त्रिमण्डल विस्तार भइ रहेको छ र सम्माननीय प्रधानमन्त्रीज्यूको नियत असल र योग्य व्यक्तिहरू छान्नेमा नै देखिन्छ।यद्यपि छानिएका अधिकांश मन्त्रीहरूलाई कुनै बारबरा फाउण्डेसन भन्ने अन्तर्राष्ट्रिय अमेरिकी संस्था र भारतीय दूतावासको इन्टेरेस्टमा पठाइएको छ भन्ने पनि आम सञ्चारमा आइरहेको छ, तर पनि वहाँहरू कसैको पनि नैतिकतामा प्रश्न उठेको वा उठाइएको देखिँदैन।
देशको नागरिक, नागरिकहरूको सरकारमा हुनु कुनै आश्चर्यको विषय भएन। मन्त्रालय त पद्धतिमै चल्ने कुरा भयो। वहाँहरूको योग्यता भोलि देखिने छ।
यो सरकार नेपालमा ६०÷७० वर्षसम्म जरा गाडेर बसेका र संविधानअनुसार मरे पनि नसकेका (ज्यूँदै रहेका) राजनीतिक दलहरूलाई विस्थापित गरी आएको हुँदा ती दलहरूले केही समयपछि नै एक्सनको रियाक्सन सुरु गर्ने निश्चित छ र त्यसपछि यही आन्दोलनले पहिल्यै नराम्ररी बिगारी सकेको शान्ति सुरक्षाको स्थिति झन् थप जटिल बनाउने पनि प्रचुर सम्भावना छ। त्यस स्थितिमा चुनाव गर्नु भन्दा पनि मुलुक जोगाउन गाह्रो हुन सक्छ! ती दलका शीर्षस्थ भनिनेहरूसँग जनताको चरम आक्रोश भए पनि दल र तन्त्रसँग जनताको आक्रोश देखिँदैन। अतः दल र तन्त्रले पनि आफ्ना रक्षा र हकका लागि सामूहिक रूपमा निश्चित रियाक्सन दिने छन्, जसले शान्ति सुरक्षामा असहजता ल्याउने छ।
देशको अहिलेको सबैभन्दा ठूलो चुनौती शान्ति सुरक्षाको बहाली नै हो र यो नभई अरू कुनै मन्त्रालयका काम वा उद्योगधन्दा चल्न पनि सक्दैनन्। तर हालको मन्त्रिमण्डलमा अरू विषयका विज्ञ भेटिए पनि शान्ति सुरक्षाका विशेषज्ञ देखिएनन्। सुरक्षाका विज्ञको उपस्थिति यस मन्त्रिमण्डलमा अति जरुरी देखिन्छ।
मेरो आदरणीय सम्माननीय प्रधानमन्त्रीज्यूसँग अनुरोध छ कि “भोलि आउने चुनौतीहरू सामना गर्न”, पहिलो त यहाँको वरिपरि नै अत्यन्त सक्षम व्यक्तिहरू सल्लाहकारका रूपमा रहन जरुरी छ र दोस्रो, यस मन्त्रिमण्डलमा एक जना सुरक्षाका अनुभवी व्यक्तिलाई समावेश गर्दा भोलिका दिनमा शान्ति सुरक्षा बहाली गर्न र चुनावमा सुरक्षा योजना बनाउन वहाँलाई धेरै मद्दत पुग्न सक्छ। ती व्यक्ति पूर्व सेना, प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान, जहाँबाट पनि हुन सक्छन्, तर जरुरी छन्। म त पूर्व जनपथ प्रहरीबाट लिँदा अझै राम्रो हुने विश्वास राख्दछु।मैले यो कुरा तपाईंको सफलताकै लागि लेखिरहेको छु। तपाईंको कार्यकाल देश र नागरिकहरूको सकारात्मक परिवर्तनका लागि उच्च सफल रहोस्।

राष्ट्रिय अध्यक्ष
नेपाल पूर्व प्रहरी संगठन

Facebook Comments Box
TOP
301 Shares