

रेमिटेन्सको भरमा टेको पाएको अर्थतन्त्र
8.2kViews
400
Shares
नेपाल राष्ट्र बैंकका पछिल्ला तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८२/०८३ को पहिलो दुई महिनामा (साउन र भदौ) रेमिटेन्समार्फत नेपालमा ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ भित्रिएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३.१ प्रतिशतले वृद्धि भएको हो । सोही अवधिमा मुलुकको विदेशी विनिमय सञ्चिति पनि ७.६ प्रतिशतले बढेर २८ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार हालको विदेशी मुद्रा सञ्चिति १९.७ महिनासम्मको वस्तु आयात र १६ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । यी तथ्यांकहरूले स्पष्ट गर्छन् नेपालको आर्थिक रक्तसञ्चार अहिले रेमिटेन्सकै भरमा चलिरहेको छ ।
तर यति ठूलो रकमले पनि देशलाई दिगो आर्थिक मार्गमा लैजान सकेको छैन । सरकार र नीति–निर्माताले रेमिटेन्सलाई योजनाबद्ध रूपमा उत्पादनमुखी क्षेत्रमा प्रवाहित गर्न नसक्दा यसको प्रभाव अस्थायी राहतमा सीमित भएको छ । नेपालको अर्थतन्त्र अझै पनि उद्योग होइन वैदेशिक श्रममा निर्भर छ । कृषि क्षेत्रमा सुधारका प्रयास भए पनि व्यावसायिक कृषि विस्तार हुन सकेको छैन । हजारौँ युवाहरू उत्पादनभन्दा वैदेशिक रोजगारीमा आकर्षित भइरहेका छन् । श्रमशक्ति पलायन बढ्दै जाँदा रेमिटेन्सको मात्रा त बढेको छ तर देशको उत्पादनशीलता घट्दै गएको छ ।
रेमिटेन्सले व्यक्तिगत जीवनमा उल्लेखनीय परिवर्तन ल्याएको छ घर चल्छ, शिक्षा र स्वास्थ्यमा पहुँच बढेको छ, बैंक खातामा पैसा जम्मा हुन्छ । तर यही रकम उपभोगमा बढी खर्च हुँदा उत्पादनमुखी लगानीमा रोक लागेको छ । अहिले पनि रेमिटेन्सको ठूलो हिस्सा घर निर्माण, उपभोग्य वस्तु खरिद र आयातमा खर्च हुन्छ । यसको परिणामस्वरूप कृषि उत्पादन घट्दै गएको छ गाउँहरू बाँझा बन्दै गएका छन् र देशको आत्मनिर्भरता कमजोर बन्दै गएको छ । वैदेशिक मुद्रा सञ्चिति बढे पनि त्यसले दीर्घकालीन आर्थिक शक्ति निर्माण गर्न सकेको छैन ।
रेमिटेन्सले व्यापार घाटा सन्तुलनमा टेको दिएको छ भुक्तानी सन्तुलनमा राहत दिएको छ र विदेशी विनिमय बजारलाई स्थिर राखेको छ । तर अर्थशास्त्रीहरू चेतावनी दिन्छन् यो दीर्घकालीन समाधान होइन । राष्ट्र बैंकका पूर्व गभर्नरहरू भन्छन् “रेमिटेन्सले देशलाई बचाउँछ, तर उठाउँदैन।” उत्पादन र रोजगारी सिर्जना नगरी रेमिटेन्समा निर्भर रहँदा मुलुकको विकासको आधार नै हल्लिएको छ । कोभिड–१९ महामारीका बेला रेमिटेन्स घट्नेबित्तिकै अर्थतन्त्र कस्तो संकटमा पर्यो भन्ने उदाहरण अझै ताजै छ । बैंक निक्षेप घटे, राजस्व संकलनमा कमी आयो र सरकारले बजेट सञ्चालनमै कठिनाइ भोग्यो ।
नेपालको श्रम निर्यातको स्वरूप हेर्ने हो भने यो एक किसिमको “मानव संसाधन व्यापार” बनेको छ । औद्योगिक वस्तु वा प्रविधि बेच्ने सट्टा हामी आफ्ना युवाहरू बेच्दैछौं । दक्षिण कोरियाले १९७० को दशकमा श्रम निर्यातबाट कमाएको पूँजीलाई घरेलु औद्योगीकरणमा लगायो र आज विश्वको अग्रणी अर्थतन्त्रमध्ये एक बनेको छ । नेपालमा त्यस्तो सोच विकास हुन सकेको छैन । यहाँ रेमिटेन्सलाई उपभोगमा प्रयोग गरिन्छ उत्पादनमा होइन । परिणामतः हामीले रेमिटेन्सलाई विकासको माध्यम होइन अस्तित्वको टेको बनाएका छौं ।
नेपालका अधिकांश कामदारहरू खाडी मुलुकहरूमा छन् । ती देशहरूबाट आउने रकमले नेपाललाई स्थायित्व दिएको छ त्यसकै पछाडि हजारौँ दुःखद कथा लुकेका छन् । वैदेशिक रोजगार विभागका अनुसार हरेक वर्ष १,२०० भन्दा बढी नेपाली कामदार विदेशमा मृत्यु हुन्छ । कामको जोखिम, स्वास्थ्य समस्या, मानसिक तनाव र कानुनी असुरक्षाले उनीहरूको जीवन कष्टकर बनाएको छ। अनौपचारिक रूपमा जानेहरूको मृत्यु वा हराइने तथ्यांक अझै भयावह छ । जसको अभिलेख पनि छैन । फिलिपिन्स, बंगलादेश र भारतले श्रमिक सुरक्षाका लागि गन्तव्य मुलुकहरूसँग ठोस सम्झौता गरेका छन् नेपालले यस्ता सम्झौतामा ढिलाइ गर्दै आएको छ । सरकारले दर्जनौँ मुलुक रोजगारीका लागि खोले पनि श्रम सम्झौता गिन्तीका देशसँग मात्र गरेको छ जसले श्रमिकहरूको सुरक्षा सुनिश्चित गर्न असफल बनाएको छ ।
यति धेरै रकम रेमिटेन्सका रूपमा भित्रिँदा पनि यसको सदुपयोगको सवाल अझै अनुत्तरित छ । बैंक तथा वित्तीय संस्थामा जम्मा हुने विदेशी मुद्रा प्रायः उपभोगमुखी क्षेत्रमा जान्छ उत्पादनमुखी क्षेत्रमा होइन । उदाहरणका लागि कर्जा सुविधा व्यवसाय वा उद्योगमा भन्दा व्यक्तिगत उपभोगतर्फ बढी प्रवाहित हुन्छ । सरकारले वैदेशिक रोजगारीबाट फर्किएका कामदारका लागि लगानी प्रोत्साहन कार्यक्रम ल्याउने घोषणा त गरेको थियो तर त्यो कार्यान्वयनमै आएको छैन । विदेशबाट फर्किएका सीपयुक्त युवाहरूलाई उद्यमशीलतामा जोड्ने प्रयासको पनि गम्भीर कमी छ । जसका कारण विदेश गएका युवाहरू फर्किएपछि पनि उत्पादनमा योगदान गर्न सक्दैनन् ।
रेमिटेन्समा आधारित अर्थतन्त्रको अर्को गम्भीर असर कृषि क्षेत्रमा देखिएको छ । जब परिवारको आय विदेशबाट आउँछ गाउँमा बाँकी परिवार खेतीपातीप्रति उदासीन हुन्छ । अहिले नेपालले वार्षिक दुई खर्ब रुपैयाँभन्दा बढीको कृषि सामग्री आयात गर्छ । खाद्यान्नदेखि पशुपालनका वस्तुहरूसम्म यसले रेमिटेन्सको विडम्बना देखाउँछ देशमा पैसा त छ तर उत्पादन छैन पैसा विदेशबाट आउँछ तर त्यसले आयातमा निर्भरता बढाउँछ । यिनै कारणले नेपालमा आत्मनिर्भर अर्थतन्त्र निर्माण हुन सकेको छैन ।
अर्थतन्त्रका विश्लेषकहरूका अनुसार रेमिटेन्सले सरकारले राजस्व लक्ष्य भेट्न सहज बनाएको छ । किनभने उपभोग बढेपछि आयात बढ्छ आयात बढेपछि भन्सार महसुल बढ्छ । तर यही भ्रममा सरकारले संरचनागत सुधारका विषय बेवास्ता गरेको छ । राजस्व बढेको देखाएर सरकारले अर्थतन्त्र सुदृढ भएको भ्रम फैलाएको छ । वास्तविक उत्पादन र रोजगारीको अवस्था भने दिनप्रतिदिन कमजोर बन्दै गएको छ । यसले दीर्घकालमा अर्थतन्त्रलाई थप असन्तुलित बनाउने खतरा छ ।
नेपालको समस्या केवल रेमिटेन्स निर्भरता होइन नीतिगत अस्थिरता पनि हो । सरकार परिवर्तनसँगै आर्थिक नीतिमा निरन्तरता हराउँछ । लगानी वातावरण असुरक्षित हुन्छ उद्योगी–व्यवसायी सरकारप्रति संशय गर्छन् । निजी क्षेत्र र सरकारबीच सहकार्यको अभावले रेमिटेन्सको धन उत्पादनमुखी क्षेत्रमा प्रवाहित हुन सकेको छैन । निजी क्षेत्र सरकारप्रति आशावादी रहन्छ तर सरकार निजी क्षेत्रप्रति अविश्वास राख्छ फलस्वरूप सहकार्यको कमीले रेमिटेन्सको धन निष्क्रिय रहन्छ ।
अबको आवश्यकता स्पष्ट छ रेमिटेन्सको वैकल्पिक उपयोग र स्वदेशी उत्पादनको सुदृढीकरण सरकारले कृषि, उद्योग, पर्यटन र प्रविधि क्षेत्रमा दीर्घकालीन लगानी योजना बनाउनुपर्छ । विदेशबाट फर्किएका युवाहरूका लागि उद्यमशीलता प्रवर्द्धन कार्यक्रम, सीप पुनर्स्थापन केन्द्र र सहुलियत ऋण योजना अनिवार्य रूपमा लागू गर्नुपर्छ । यस्ता कार्यक्रमले मात्र रेमिटेन्सलाई उत्पादनमुखी क्षेत्रमा प्रवाहित गर्न सक्छन् । अन्यथा रेमिटेन्सले मुलुकलाई स्थायित्व होइन निर्भरता मात्र बढाउँछ ।
रेमिटेन्सले अर्थतन्त्रलाई तत्काल राहत त दिएको छ । त्यसकै भरमा समृद्धि सम्भव छैन । जब उत्पादनमुखी अर्थतन्त्र विकास हुन्छ तब मात्र रेमिटेन्स सहायक स्रोत बन्न सक्छ । रेमिटेन्सले आम्दानी बढाएको छ तर यसले असमानता पनि बढाएको छ । सहरमा उपभोग बढेको छ गाउँका खेत बाँझिएका छन् र युवाहरू विदेशिएका छन् । यस्तो अर्थतन्त्र कहिल्यै आत्मनिर्भर हुन सक्दैन ।
अब नीति निर्माताले बुझ्नुपर्ने समय आएको छ । रेमिटेन्स राहत हो समाधान होइन यसले देशलाई केही समयका लागि जोगाउन सक्छ तर दीर्घकालमा बचाउन सक्दैन दिगो अर्थतन्त्र निर्माणका लागि राजनीतिक स्थायित्व, प्रशासनिक व्यावसायिकता र लगानीमैत्री वातावरण अपरिहार्य छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको श्रम र सीपको मूल्य स्वदेशमै उपयोग गर्न सकिएन भने देश सदैव परनिर्भर रहिरहनेछ ।
विदेशमा पसिना बगाउने नेपालीहरूका कारण देश चलिरहेको छ । उनीहरूकै भविष्य अनिश्चित छ । सरकार र समाजले अब उनीहरूको योगदानलाई केवल रकमको रूपमा होइन सीप र अनुभवको रूपमा मूल्यांकन गर्नुपर्छ । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई उत्पादनमा जोड्ने नीति निर्माण गरिएन भने रेमिटेन्स घट्नेबित्तिकै देशको अर्थतन्त्र धरासायी हुनेछ । अब समय आएको छ । रेमिटेन्सलाई उपभोग होइन उत्पादनको आधार बनाउन जब युवाको श्रम स्वदेशमै उपयोग हुनेछ तब मात्र आत्मनिर्भर र समृद्ध नेपालको सपना साकार हुनेछ ।
(लेखक :- बोहोरा अर्थ सवाल साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव हुनुहुन्छ)
Facebook Comments Box
समाज
थप सामाग्री
घरबारविहीन नबनाउने सरकारको प्रतिबद्धता, सुकुम्बासी व्यवस्थापनमा विशेष आयोग गठन गरिने
१६ घण्टा अगाडि
1.7kViews 134 Shares Share on Facebook Share on Twitter काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घरबारविहीन नागरिकको…



