

सरकार न निजी प्लेटका गाडीलाई कानूनको दायरामा ल्याउन सक्छ न सार्वजनिक यातायातमा भएको सिण्डिकेट हटाउँछ
काठमाडौं उपत्यकाभित्रका विभिन्न रुटमा पेट्रोल र डिजेलबाट चल्ने थोत्रा, पुराना सार्वजनिक सवारी साधनले धुँवाको मुस्लो फ्याँलेर गुडिरहेको देखिन्छन्। त्यस्तै, विद्युतबाट चल्ने सफा ट्याम्पो र ग्याँसबाट चल्ने ट्याम्पो र हरियो माइक्रो बस पनि थोत्रो भइसकेको छ। बाटोमा २३ देखि ३२ वर्ष पुराना भाडाका सवारी साधन चलिरहेका छन्।
बाटोमा ट्राफिक प्रहरी खटिएका हुन्छन् । तर, ट्राफिक प्रहरी न त्यस्ता सवारी साधनको बिलबुक चेकजाँच गर्छ न सञ्चालनमा रोक लगाउँछ । यस्ता सवारी साधन चल्दा वातावरण प्रदूषणसँगै दुर्घटना बढिरहेको छ । सर्वसाधारण चर्को भाडा तिरेर यस्ता गाडी चढ्न बाध्य भइरहेका छन् ।
अर्कोतिर, यी गाडीबाट निस्किने धुँवाले आम जनमानसको स्वास्थ्यमा घातक रोग निम्त्याइरहेको छ । उपत्यका नेपालकै प्रमुख शहर हो । देशको राजधानी काठमाडौं उपत्यकाभित्रै पर्छ । अनि उपत्यकाभित्र त यस्ता थोत्रा गाडी चलिरहेका छन् भने बाहिरी जिल्लामा के हालत होला ? त्यहाँ कति वर्ष पुराना, थोत्रा गाडी चलिरहेका होलान् ?
सवारी साधनमा ज्यान गुमाउनेको संख्या यसै दिनप्रति दिन बढिरहेको होइन् । यस्तै थोत्रा, पुराना गाडीका कारण बढिरहेको हो । ०७१ भदौ ५ गतेको मन्त्रिपरिषद् बैठकले दर्ता भएको मितिले २० वर्ष पुगेपछि त्यस्ता सार्वजनिक सवारी साधन हटाउने वा पत्रु गराउने निर्णय गरेको थियो ।
त्यो निर्णय सोही वर्षको फागुन १८ गते राजपत्रमा प्रकाशन गरियो । ०७२ चैत १ गतेको क्याबिनेटले ०७३ फागुन १७ गतेबाट बागमती र ०७४ चैत १ गतेदेखि देशभरिबाट त्यस्ता सवारी साधन हटाउने निर्णय गर्यो । ०७७ माघमा संघीय यातायात मन्त्रालयले २० वर्षे सवारी साधन लत्ताकट्टा गरेर पत्रु गर्ने निर्णय गर्यो ।
०८० जेठ ७ गते बागमती प्रदेशको यातायात मन्त्रालयले २० वर्षे सवारी साधन ३५ दिनभित्र पत्रु गराउन सार्वजनिक सूचना निकाल्यो । ०८० साउन पहिलो साता तत्कालिन संघीय यतायातमन्त्रीसहित सातै प्रदेशका यातायातमन्त्री, मुख्यमन्त्री र यातायात व्यवस्था विभागका महानिर्देशक दुई दिन काभ्रेपलाञ्चोकको धुलिखेलमा बसेर ११ बुँदे निर्णय गरे ।
जसमा यातायात क्षेत्रमा भएको सिण्डिकेट हटाउने, २० वर्षे सवारी साधन लत्ताकट्टा गरेर पत्रु गर्ने वा त्यस्ता गाडीको स्क्राइभ गरेको नम्बर प्लेटमा नयाँ गाडी दर्ता गर्न नदिनेजस्ता निर्णय गरिएको थियो । यता, पत्रु गराउने सूचनाविरुद्ध यातायात व्यवसायीहरु उच्च अदालत पाटन पुगे। ०८० कात्तिक १५ गते अदालतले त्यो सूचनालाई सदर गरिदियो । त्यसविरुद्ध फेरि यातायात व्यवसायीहरु सर्वोच्च पुगे ।
सर्वोच्चले पनि ०८१ कात्तिक २३ गते उच्च अदालतको फैसलालाई सदर गरिदियो । सोही बमोजिम ०८१ पmागुन २६ गते बागमती प्रदेशको यातायात मन्त्रालयले २० वर्षे सवारी साधन सञ्चालनमा रोक लगाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई परिपत्र गर्यो । त्यसपछि ट्राफिकले २० वर्ष कटेका ३५ वटा ट्याक्सी समातेको थियो ।
यसरी समातिएका गाडी ट्याक्सीले यातायात कार्यालयमा पत्रु गराउनका निम्ति पठाउनुपर्ने थियो । तर, ट्याक्सी तथा यातायात व्यवसायीहरुले ‘हामी आफैं पत्रु गछौं, छोडिदिनुस्’ भनेर ट्राफिकसँग अनुरोध गरे । ट्राफिकले पनि विश्वास गरेर छोडिदियो । तर, व्यवसायीहरुले ती गाडी पत्रु गराउनुको साटो बाटोमा चलाइरहेका छन् ।
थोत्रा, पुराना गाडी बाटोमा गुडिरहँदा ट्राफिक प्रमुख नवराज अधिकारी आँखा बन्द गरेर बसिरहेका छन् । त्यस्ता गाडी समात्न उनी ट्राफिकलाई निर्देशन दिँदैनन् । सरकारकै निर्णय उनले दराजमा थन्काइदिएका छन् ।
२० वर्ष कटेका गाडीको नामसारी, जाँचपास, रुटपरमिट, प्रदूषण, बिलबुक नवीकरण, बीमालगायत केही पनि हुँदैन । किनकि कानूनले २० वर्षे सवारी साधनलाई निषेध गरेको छ । विडम्बना, कानूनको पालना गराउने ट्राफिककै अगाडि २० वर्षे गाडी चलिरहँदा पनि कारबाही भएको छैन। ट्राफिकले नदेखेको हो कि देखेर पनि अनदेखा गरेको हो ? उनीहरुलाई नै थाहा होला ।
तर, ट्राफिकको यस्तो कामले राज्यलाई ठूलो नोक्सानी भइरहेको छ । सवारी दुर्घटना बढिरहेका छन् भने निर्दोष जनताले अकालमै ज्यान गुमाउनु परिरहेको छ । पछिल्लो समय ट्राफिकहरु बाटोमा खटिएपनि सवारी साधनको चेकजाँच गरेको देखिँदैन । बिहान, दिउँसो वा राति होस् कुनै पनि समयमा ट्राफिकले सवारी साधनको स्प्रिड वा चेकजाँच गरेको पाइँदैन । घाम तापेर वा गफ गरेर बसिरहेको मात्र देखिन्छन्, ट्राफिक ।
यातायात व्यवसायीहरु यात्रुसँग सरकारले तोकेभन्दा बढी भाडा असुलेर दिनमै १८ करोड ठग्छन् । सिटभन्दा बढी यात्रु हाल्ने, सहचालक, चालकले यात्रुसँग दुर्व्यवहार गर्नेजस्ता त चलन नै भइसक्यो । अहिले २० वर्ष पुराना ट्याक्सी, माइक्रो बस, ग्याँस ट्याम्पोको स्क्राइभ गरेको नम्बर प्लेट ९ लाखमा किनबेच भइरहेको छ । यी नम्बर प्लेटमा नयाँ गाडी किनेर दर्ता गरिन्छ ।
सरकारले नयाँ दर्ता खोलिदिने हो भने नम्बर प्लेटबापतको ९ लाख रुपैयाँ तिर्नुपर्दैन । सित्तैमा नम्बर प्लेट पाइन्थ्यो । र, गाडी मात्र किनेर व्यवसाय गर्न मिल्थ्यो । तर, सरकार सीमित यातायात व्यवसायीको सामु झुक्दा न राज्यको ढुकुटीमा राजस्व आएको छ न जनताले सस्तोमा सेवा पाएका छन् । न त ट्याक्सी, ट्याम्पो किनेर व्यवसाय गर्छु भन्नेहरुले अवसर पाएका छन् । यातयाात क्षेत्रमा ०३२ देखि ०८२ सालसम्म एउटै व्यवसायीले व्यवसाय गरिरहेका छन् ।
सट्टाभर्नामा गाडी ल्याउने क्रम जारी छ । उनीहरु न सरकारलाई नयाँ दर्ता खोल्न दिन्छन् न आफैं जनतालाई सस्तोमा सेवा दिन्छन् । रोड कब्जा गरेर उनीहरु जनता र सरकार दुवैलाई ठगिरहेका छन् । सरकारले यातायात व्यवसायीसँग विभिन्न ३२ वटा शीर्षकमा लिने राजस्व ३५ वर्षदेखि बढाएको छैन । जबकी यस अवधिमा जनताले व्यवसायीलाई तिर्ने भाडा भने सयौं गुणा बढेको छ ।
अहिले यातायातमन्त्री कुलमान घिसिङ छन् । कालिमाटी फलफूल तथा तरकारी बजारमा २०४३ सालदेखि ढुवानी गाडीको नयाँ दर्ता खुलेको छैन । त्यहाँ जम्मा एक सय सात वटा ढुवानी गाडी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चल्ने हरियो प्लेटको ट्याक्सीको दर्ता पनि ०५० सालदेखि खुलेको छैन । त्यहाँ जम्मा दुई सय सात वटा ट्याक्सी छन् ।
कालो प्लेटको ट्याक्सीको नयाँ दर्ता ०५७ जेठ १७ गतेदेखि बन्द छ । त्यतिबेला पेट्रोलबाट चल्ने पाँच हजार ६५० र डिजेलबाट चल्ने १८५० गरी साढे सात हजार ट्याक्सी दर्ता भएकोमा डिजेलबाट चल्ने ट्याक्सी एक–दुई वर्षमै विस्थापित भयो । अहिले पेट्रोलबाट चल्ने ट्याक्सी मात्र सञ्चालनमा छन् ।
यसरी ट्याक्सी सीमित हुँदा उपत्यकाको जनसंख्या भने करोडौंको हाराहारीमा पुगिसकेको छ । अर्को कुरा, ट्याक्सी उपत्यकामा मात्र चल्छ । बाहिरी जिल्लाका जनता अहिले पनि ट्याक्सी चढ्नबाट वञ्चित छन् । बिरामी पर्दा डोकोमा बोकेर अस्पताल पुर्याउनुपर्ने बाध्यता छ भने हतार हुँदा निजी प्लेटको गाडीलाई एक किलोमिटरकै एक हजार रुपैयाँ तिरेर यात्रा गर्नुपर्ने बाध्यता छ ।
यता, ट्याक्सीसँगै फोस्टक ट्याम्पोको पनि दर्ता बन्द छ । यदि, सरकारले फोस्टक ट्याम्पोको दर्ता खोलिदिने हो भने पैसा हुने ट्याक्सी र पैसा नहुने ट्याम्पो चढ्थे । तर, सरकार सीमित यातायातको अगाडि निरीह छ । ०६९ माघमा ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयले ट्याक्सी अपुग भएको भन्दै पाँच हजार नयाँ दर्ता तत्काल खोलिदिन यातायात मन्त्रालयसँग माग गरेको थियो । सँगै वर्षेपिच्छे ट्याक्सीको नयाँ दर्ता खोल्न पनि माग गरिएको थियो ।
०७२ जेठ २८ गते सरकारले १८ सय ५० ट्याक्सीको दर्ता खोल्यो । त्यसका निम्ति साउन २० गते यातायात व्यवस्था विभागले १५ दिने सूचना निकाल्यो । आवेदन शुल्क एक हजार एक सय दश रुपैयाँ थियो । १५ दिनमा १५ हजार ७५१ ज्नाले आवेदन बुझाए । तीमध्ये १८ सय ५० ले गोलाप्रथाबाट ट्याक्सी पाए भने अरु खाली हात ।
०७२ वैशाख १२ गते महाभूकम्प गयो । १४ जिल्लामा क्षति पुग्यो । भूकम्पपीडितलाई १५ सय नयाँ ट्याक्सी दिने भनि ०७२ चैत २१ गते सरकारले निर्णय गर्यो । त्यसका निम्ति ०७३ साउन ५ गतेदेखि भदौ ५ गतेसम्म आवेदन बुझाउन विभागले आह्वान गर्यो । आवेदन भर्न भूकम्प पीडित भएको रातो कार्ड चाहिन्थ्यो । एक सय दश रुपैयाँ शुल्क बुझाउनुपथ्र्यो ।
एक महिनामा एक लाख ४९ हजार ५५८ जनाले आवेदन बुझाए । जसमध्ये १५ सयले गोलाप्रथाबाट ट्याक्सी पाउँदा अरु फेरि हेरेको हेर्यै भए । यी दुई घटनाले पनि देखाउँछ कि नेपालमा ट्याक्सी किनेर व्यवसाय गर्न जनता कति उत्सुक छन् । तर, सरकार नयाँ दर्ता खोल्दैन । यातायात व्यवसायीहरु आफू पनि जनतालाई सस्तोमा सेवा दिदैँनन् ।
हुँदाहुँदै अहिले त निजी प्लेटका सवारी साधनको ठगीधन्दा मौलाएको छ । आफूखुशी भाडा तोकेर निजी प्लेटका गाडीहरु यात्रु बोकिरहेका छन्। जबकी उनीहरुले राज्यलाई एक सुको कर तिर्दैनन् । सरकार निजी प्लेटका गाडीलाई न कानूनी दायरामा ल्याउन सक्छ न सार्वजनिक यातायातमा भएको सिण्डिकेट हटाउन सक्छ।
समाज
थप सामाग्री
घरबारविहीन नबनाउने सरकारको प्रतिबद्धता, सुकुम्बासी व्यवस्थापनमा विशेष आयोग गठन गरिने
१६ घण्टा अगाडि
1.7kViews 134 Shares Share on Facebook Share on Twitter काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घरबारविहीन नागरिकको…



