झापामा जंगली जनावरको आतंक : हात्ती र चितुवाका कारण बस्ती त्रसित

झापा । जिल्लाको बुद्धशान्ति र मेचीनगर क्षेत्रमा जंगली जनावरको गतिविधि बढ्दै गएपछि स्थानीयवासी त्रासमा बाँच्न बाध्य भएका छन्। पछिल्ला दिनहरूमा हात्ती र चितुवा दिनैपिच्छे मानव बस्ती नजिक देखिन थालेपछि जनजीवन प्रभावित भएको हो।

बुद्धशान्ति गाउँपालिका–२ स्थित चिया बगानमा बुधबार दुई वटा भाले हात्ती दिनभर भौँतारिँदा सुरक्षा निकाय उच्च सतर्कतामा जुट्नुपरेको थियो। मानवीय क्षति हुन नदिन सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले दिनभर निगरानी गरेको थियो।

इलाका प्रहरी कार्यालय बुधबारेका इन्चार्ज चन्द्र राउतका अनुसार बिहानै बगानमा देखिएका हात्ती हेर्न ठूलो भीड जम्मा हुँदा सुरक्षाकर्मीलाई भीड व्यवस्थापन गर्न कठिन भएको थियो। सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रहरीले माइकिङ गर्दै सर्वसाधारणलाई टाढा राखेको थियो। साँझतिर हात्ती पुनः जंगलतर्फ फर्किएपछि स्थिति सामान्य बनेको थियो।

उता, मेचीनगर नगरपालिका–५ मा चितुवाको आतंक झनै बढ्दो छ। चितुवाले दैनिकजसो बाख्रा र सुँगुर आक्रमण गरी खाइरहेको स्थानीय जनप्रतिनिधिले बताएका छन्। विगत वर्षदेखि नै मेचीनगरका विभिन्न वडामा चितुवाको गतिविधि देखिँदै आएको छ, जसले स्थानीयवासीलाई निरन्तर त्रसित बनाएको छ।

चितुवा नियन्त्रणका लागि स्थानीय युवाहरूले जोखिम मोलेर राति गस्ती गर्ने, पासो थाप्ने जस्ता प्रयास गरे पनि प्रभावकारी नियन्त्रण हुन सकेको छैन। स्थिति जटिल बन्दै गएपछि मेचीनगर नगरपालिकाले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र वन डिभिजन कार्यालयसँग समन्वय गर्दै सहयोगको अपिल गरेको छ।

नगरप्रमुख गोपाल बुढाथोकीले प्रमुख जिल्ला अधिकारी शिवराम गेलालसहित सुरक्षा र वन कार्यालयका प्रमुखहरूसँग छलफल गरी चितुवा नियन्त्रणमा तत्काल कदम चाल्न आग्रह गरेका छन्।

यसअघि केही साताअघि बुद्धशान्तिमा गाउँ पसेको एक चितुवा नियन्त्रणको क्रममा मारिएको थियो। जिल्लाको उत्तरी भेगमा भारततर्फबाट जंगली जनावर आउने क्रम बढ्दै जानु समस्या जटिल बन्दै गएको संकेत मानिएको छ।

स्थानीयवासीले जनधनको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग दीर्घकालीन समाधानको माग गरेका छन्।

Facebook Comments Box
TOP
283 Shares