भावी आईजीका लागि गृहले भोली एआईजी बढुवा सिफारिस गर्ने, चुनावकै मुखमा प्रहरीका प्रदेश प्रमुख (डीआईजी)ले अवकाश पाउँदै

 

मधु लम्साल
काठमाडौं फागुन ७  ।आजको ७१ औं दिनमा प्रहरी महानिरीक्षक शैलेश थापासहित नेपाल प्रहरीका कम्तीमा १६ उच्च अधिकारीले अनीवार्य अवकाश पाउने छन् । महानिरीक्षक थापासहित उनका व्याचका अतिरिक्त महानिरीक्षकहरु हरिबहादुर पाल, निरजबहादुर शाही र प्रध्युम्न कार्कीले पनि आगामी चैत्र १८ गते ३० वर्षे सेवा कार्यकाल पूरा हुने भएपछि सोही दिन रातीदेखि लागू हुने गरी अवकाश पाउने छन्् ।
त्यसैगरी, महानिरीक्षक थापाकै व्याचका डीआईजीहरु घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशलाल कर्ण, देवबहादुर बोहोरा, रामकृपाल साह, उमेश रंजितकार, प्रकाश अधिकारी र शौरभ राणाले पनि अनिवार्य अवकाश पाउने छन् ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नेपाल प्रहरीमा तीन एआईजी दरवन्दी थप गरेकाले सम्भवतः आईतबार उक्त पदमा बढुवा सिफारिस समितिले दर्जन बढी बढुवाका प्रतिस्पर्धी डीआईजी मध्ये ३ जनालाई एआईजीमा बढुवा सिफारिस गर्नेछ । बढुवा सिफारिसमा पर्नेहरुको बढुवा निर्णय अर्काेसाता हुनेछ । अब एआईजीमा बढुवा हुने तीन डीआईजी र अवकाश पाएपछि नेपाल प्रहरीमा पाँच डीआईजी मात्र रहने छन् ।
पूर्ववर्ती एमाले सरकारले १३ एआईजीको दरवन्दी राज्य कोषबाट “फजुल खर्च भएको” भन्दै हचुवा ढंगबाट कटौती गर्दै ३ मा झारेको थियो भने डीआईजीको दरवन्दी पनि ठूलो संख्यामा कटौती गरेको थियो । नेपाल प्रहरीतर्फ पद रिक्त भएको अवस्थामा दरवन्दी कटौती गरिएको भएता पनि सशस्त्र प्रहरी बलमा भने राजनैतिक प्रतिशोधका कारण सेवा अवधी बाँकी रहेकै एआईजीलाई ‘राजीनामा गर्न वा तल्लो तहमा घटुवा हुन’ आदेश दिइएपछि केही आईजीले अमीलो मनका साथ राजीनामा गर्न बाध्य भएका थिए ।
तत्कालिन आईजीपी ठाकुर ज्ञावलीले असहमती प्रकट गर्दागर्दै पनि कटौती गरिएका एआईजी पद तत्काल एमालेकै प्रभावशाली नेता इश्वर पोखरेलको दबाबमा भावी आईजीपीको यात्रा निश्चित गर्न पहिला विश्वराज पोखरेललाई एआईजीमा बढुवा गरियो, त्यसलगत्तै तत्कालिन प्रधानमन्त्री केपी वलीकै विश्वासपात्र महेश वस्नेतको दबाबपूर्ण सिफारिसमा भक्तपुरकै सहकुल थापाको बढुवा गरेर भावी आईजीपीको प्रतिस्पर्धी बनाइयो । तर, सरकार परिवर्तन भएसँगै आउने चुनावी वातावरणमा एमालेलाई प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गर्न सक्ने देखिएकाले दुबै एआईजीलाई आईजीको बढुवा यात्रामा बाटो छेक्ने गरी वर्तमान गठबन्धन सरकारले तीन एआईजीको दरवन्दी थप गरेको हो । भोली १ नम्बरमा एआईजी बढुवा सिफारिसमा पर्ने डीआईजी नै भावी प्रहरी नेतृत्वमा पुग्ने निश्चित प्राय: छ । १ नम्बरमा धिरजप्रताप सिंहको चर्चा बढी छ भने दुई र तिन नम्बरमा आफूलाई उभ्याउन उत्तम सुवेदी, बसन्त लामा, रविन्द्र धानुक र अरुण विसी पनि लागि परेका छन् ।
उता, स्थानीय निकायको निर्वाचन कुनै राजनैतिक उथलपुथल नभएको खण्डमा हाललाई आगामी बैशाख ३० गतेलाई तोकिएको छ । चुनावको अन्तिम तयारी चल्दै गर्दा ११ दिन अघि नयाँ महानिरीक्षकले सुरक्षा नेतृत्व लिने छन् भने कतिपय प्रदेशमा अवकाश पाएकै कारण डीआईजी पद रिक्त रहने छ । त्यो अवस्थालाई ख्याल गर्दै सरकारले एआईजी बढुवा लगत्तै डीआईजी बढुवाको पनि तयारी अघि बढाउनु पर्ने देखिन्छ ।
यता, बैशाख १९ देखि महानिरीक्षक थापा, अतिरिक्त महानिरीक्षक त्रय पाल, शाही र कार्कीले पनि अवकाश पाउने भएपछि र एक एआईजीको आईजीमा बढुवा हुँदा रिक्त हुन जाने एक पद गरी चार रिक्त पदमा तत्काल बाँकी रहने पाँच डीआईजी मध्ये चार जनाको एआईजीमा बढुवा हुने छ ।
अब हुने महानिरीक्षकको कार्यकालमा ३० वर्षे सेवा अवधि हट्न सक्ने चर्चा पनि चलिरहेको छ । हुनत यसअघिका महानिरीक्षकले पनि सेवा अवधि हटाउन निकै चलखेल नगरेका होइनन् । यदि, ३० वर्षे सेवा अवधि कायमै रहेको खण्डमा अब हुने आईजीपी र उनका व्याचका एआईजी डीआईजीहरुले पनि ०७९ चैत्र १० गते अनिवार्य अवकाश पाउने छन् ।

Facebook Comments Box
TOP
Shares