धरौटीमा रिहा भए युवराज पौडेल (सफल)

काठमाडौं । काठमाडौं जिल्ला अदालतले सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिएको अभियोगमा पक्राउ परेका युवराज पौडेल (सफल) लाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

जिल्ला न्यायाधीश कौशलेश्वर ज्ञवालीको इजलासले बिहीबार थुनछेक बहसपछि उक्त आदेश जारी गरेको हो। अदालतले पौडेललाई तोकिएको धरौटी रकम बुझाएर तारेखमा रही मुद्दाको पुर्पक्ष गर्न निर्देशन दिएको छ।

पौडेलमाथि सामाजिक सञ्जालमार्फत महान्यायाधिवक्ता तथा महान्यायाधिवक्ता कार्यालयको मानमर्दन हुने गरी अभिव्यक्ति दिएको आरोप लागेको थियो। सोही अभियोगमा उनी यसअघि पक्राउ परेका थिए भने प्रारम्भिक चरणमा हाजिरी जमानीमा रिहा भएका थिए।

अदालतको पछिल्लो आदेशसँगै अब उनी धरौटीमा छुटेर नियमित तारेखमा उपस्थित हुँदै मुद्दाको प्रक्रिया अगाडि बढाउनेछन्।

Facebook Comments Box
TOP
286 Shares