

कोठा–जागिर खोजिदिने नाममा बढ्दो ठगी,सरकार बेखबर
‘कामदार चाहियो, मासिक १५ हजारदेखि २५ हजारसम्म तलब, बिहान १० बजेदेखि बेलुका ५ बजेसम्ममात्र काम गर्नुपर्ने, खाजा, गाडीभाडा पाइने र अन्य सेवासुविधा पनि उपलब्ध, एसईई वा प्लस टु पास गरेकालाई पहिलो प्राथमिकता’ भनि सम्पर्क नम्बरसहित लेखिएका पोस्टरहरु अहिले काठमाडौं उपत्यकाका सार्वजनिक विद्युतीय पोल, भित्ता, आकाशे पुलहरुमा छ्यापछ्याप्ती देखिन्छन् ।
राम्रो तलब र सेवासुविधा देखेपछि धेरैले पोस्तरमा विश्वास गरेर सम्पर्क गर्छन् । तर, फोन गरेपछि ठ्याक्कै उल्टो हुन्छ । त्यो नम्बर जागिर लगाइदिने कम्पनीहरुको हुन्छ । अनि कम्पनीले सम्बन्धित व्यक्तिलाई अफिस आउन आग्रह गर्छ । अफिस गएपछि पाँच सयदेखि १५ सय रुपैयाँसम्म तिरेर फाराम भर्न लगाइन्छ । फाराम भरेको एकदेखि तीन महिनासम्म जागिर पाइने कम्पनीले आश्वासन देखाउँछ ।
यद्यपि, त्यस्तो हुँदैन । फाराम भरेपछि कम्पनी सम्पर्कविहीन हुन्छ । र, केहीगरी जागिर लगाइदिए सित्तैमा काम दलाइन्छ । कम्पनी काम लगाइदिएर बेपत्ता हुन्छ, अनि सम्बन्धित व्यक्तिले एकदेखि ६ महिनासम्म काम गर्दा पनि तलब पाउँदैनन् । यसरी पछिल्लो समय जागिरको प्रलोभन देखाएर ठग्ने र शोषण गर्ने क्रम बढ्दो छ । मुलुकमा बेरोजगारी बढ्दो छ । काम नपाएर वा काम गरेको ठाउँबाट तलब नपाउँदा मानिसहरु तनावमा छन् ।
यस्तो अवस्थामा आकर्षक रोजगारी देखेपछि जोकोही लोभिहाल्छन् । तर, उनीहरुको फाइदा यस्ता शोषक, सामन्ती र दलालहरुले उठाइरहेका छन् । जागिर पाउने आशामा एक–दुई जनामात्रै होइन, लाखौं सर्वसाधारण ठगिएका छन्, शोषणमा परेका छन् । विडम्बना, उनीहरुले उजुरीसमेत दिन सकेका छैनन् । किनकि उनीहरुसँग प्रमाण नै हुँदैन । अर्कोतर्फ, १५ सय रुपैयाँ ठगेको पनि के उजुरी दिनु भनेर धेरै मौन बस्ने गरेका छन् ।
यसैले गर्दा पनि त्यस्ता ठग, दलालहरुको मनोबल बढेको छ । जागिरसँगै कोठा खोजिदिने नाममा पनि उत्तिकै ठगी भइरहेको अवस्था छ । कोठा खोज्दै मानिसहरु आफ्नो घर आइपुग्दा घरधनीहरु खाली भएपनि दिँदैनन् । भन्छन्–अफिसमार्फत कोठा खोज्नुस् । अनि अफिस भएपछि एउटा कोठा खोजेबापत शुरुमा पाँच सयदेखि एक हजार वा फ्ल्याटको एक हजारदेखि दुई हजारसम्म तिरेर फाराम भर्नुपर्छ ।
त्यसरी फाराम भरेको एक महिनाभित्र कम्पनीले कोठा खोजिदिन्छ । कोठा खोजेपछि पनि कम्पनीलाई फेरि रकम तिर्नुपर्छ । एउटा कोठा खोजेको दुई हजार र फ्ल्याट खोजेबापत पाँच हजारदेखि दश हजारसम्म तिर्नुपर्छ ।
उता, घरधनीहरुलाई एकदेखि तीन महिनाको भाडा पहिल्यै तिर्नुपर्छ । कम्पनीहरुले घरधनीलाई कमिशन दिने गर्छन् । कोठा खाली भएमा कसैलाई नदिई कम्पनीलाई बताउन भन्छन् । र, खाली कोठामा महँगो भाडा तिर्ने मान्छे ल्याइदिने र कमिशन पनि दिने भनेपछि घरधनीहरु मख्ख हुँदै कम्पनीमार्फत नै कोठा भाडामा लगाउँछन् । आज उपत्यकामा कम्पनीमार्फत मात्र कोठा, फ्ल्याट, सटर पाइन्छ ।
अर्कोतर्फ, कम्पनीमार्फत बसेको ठाउँमा कुनै पनि सेवासुविधा उपलब्ध हुँदैन । पानी न लुगा सुकाउने ठाउँ । अध्याँरो, चिसो कोठाको दश हजारदेखि २० हजार रुपैयाँ भाडा असुलिन्छ । अनि चर्को भाडा र कुनै पनि सेवासुविधा नभएपछि दुई–तीन महिनामै सम्बन्धित व्यक्ति अन्य ठाउँ सर्छ । अनि त्यो व्यक्ति सरेपछि अर्कोलाई फसाइन्छ ।
यसरी कोठाको नाममा पनि दलालीहरुको ठगीधन्दा मौलाउँदो छ । सरकार यस्ता ठगहरुलाई कारबाही गर्दैन । उजुरी दिन निकाय पनि छैन । अनि ठगहरुको मनोबल झनै बढिरहेको छ । आफूहरुले जतिसुकै जनता ठगेपनि, लुटेपनि केही हुँदैन भन्ने छाप उनीहरुमा बसेको छ । अब सरकारले यस्ता ठगहरुलाई कारबाही गर्नैपर्छ । कुनै पनि बहानामा जनता ठग्न पाइँदैन । जनता पनि सचेत हुनुपर्यो । दलालीहरुको लहैलहैमा लाग्नुपर्छ ।
साथै, केहीगरी शंका लागेमा प्रमाण जुटाइराख्नुपर्छ । यसले तिनीहरुमाथि कारबाही गर्न सहज हुनेछ । गाउँमा शिक्षा, स्वास्थ्य, रोजगारी छैन । छोराछोरी पढाउन, उपचार गर्न वा रोजगारी खान मानिसहरु गाउँमा आफ्नो खेत बाँझो छोडेर, घर र मतानमा ताल्चा लगाएर शहर पसे । अनि शहरमा उनीहरुमाथि एकपछि अर्को प्रकार भइरहेको छ । गाउँका मानिसहरु सोझा हुन्छन् । उनीहरु अरुले जे भन्छन्, त्यसमा सहजै विश्वास गर्छन् ।
जसको फाइदा यस्ता कोठा–जागिर खोजिदिने नाममा अफिस खोलेर ठगीधन्दा चलाइरहेका दलालहरुले उठाइरहेका छन् । शहरमा आएपछि शुरुमा त कतिपय आफन्तको घरमा बस्छन् । तर, कतिञ्जेल आफन्तको घरमा बस्नु ? त्यसपछि उनीहरु कोठा खोज्दै हिँड्छन् । तर, घरधनीहरुले कोठा खाली भएपनि नदिएपछि र अफिसमार्फत आउनुस् भनेपछि उनीहरु त्यस्ता कार्यालय पुग्छन् । त्यहाँ पुगेपछि फाराम भर्नेदेखि विभिन्न बहानामा उनीहरु ठगिन्छन् ।
तर, ठगिएपछि कहाँ उजुरी दिने ? कसरी दिने ? भनेर धेरैलाई थाहा हुँदैन ? अनि उनीहरु लाचार बन्न पुग्छन् । यसरी मानिसहरुको मजबुरीको फाइदा उठाएर दलालहरुले लुटिरहेका छन् । सरकार पनि न त्यस्ता कम्पनीलाई कारबाही गर्छ न जनतालाई सचेत गराउँछ । अर्कोतर्फ, कोठा–जागिर खोजिदने नाममा खुलेका अधिकांश कम्पनी सरकारका कुनै पनि निकायमा दर्ता भएको पनि पाइँदैन । यस्ता कम्पनीहरुको आम्दानी मासिक लाखौंमा हुने गरेको छ तर राज्यलाई सुको कर तिर्दैनन् । एकातिर राज्यलाई कर नतिर्ने, अर्कोतिर जनता ठग्ने । अब सरकार एक्सनमा जानैपर्छ । जनता र राज्य ठग्ने यस्ता दलालहरुलाई कडा कानूनी कारबाही गरिनुपर्छ ।
कम्पनीसँगै व्यक्तिहरुले पनि रोजगारीको नाममा गरिब, बेरोजगार जनताहरुलाई ठगिरहेका छन् । आफ्नो घरमा भाडा माझ्न, लुगा धुन, भुइँ पुछ्न मासिक पाँच हजारदेखि बढीमा सात हजार तलबमा महिला–युवतीलाई राखिन्छ । उनीहरुलाई एकदेखि तीन महिना काम लगाइन्छ । अनि काम राम्रो गरेन भन्दै तलब नै नदिई निकालदिने प्रवृत्ति मौलाउँदो छ ।
ड्राइभरहरुलाई पनि यस्तै गरिन्छ । केही महिना काम लगाएपछि तलब दिनु नपरोस् भनेर तेल चोरीको आरोप लगाइन्छ कि लापरबाहीपूर्वक गाडी चलाएको भन्दै तलब नै नदिई कामबाट निकालिन्छ । यसरी शोषक, सामान्तीहरुले गरिब जनताको रगत, पसिना चुसिरहेका छन् । मुलुकमा लोकतन्त्र गणतन्त्र त आयो तर गरिब जनतामाथि हुने यस्ता अत्याचार अझै जारी छ । अब सरकार आफैं अनुगमनमा निस्कनुपर्छ । जनता ठग्ने र शोषण गर्ने जोकोहीलाई कडा कारबाही हुनुपर्छ ।रुषा थापा
समाज
थप सामाग्री
न्यूरोडको शिव फुड्सलाई ५० हजार जरिवाना, खाद्य वस्तुमा किराको भेट
१५ घण्टा अगाडि
1.6kViews 483 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यूरोडस्थित ‘श्री शिव फुड्स प्रा.लि.’ लाई ५०…



