गगनलाई सुझाव – ‘त्यतातिर पनि चासो राख्नु’

आगामी २१ गतेसम्म कुनै षड्यन्त्रमूलक गतिविधि नभए देश संसदीय निर्वाचनतर्फ दृढतापूर्वक अघि बढ्ने देखिएको छ। निर्वाचन आयोगले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ भने सुरक्षा निकायले देशभरको सुरक्षा अवस्था अनुकूल रहेको दाबी गरेको छ। मतदाता आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगिसकेका छन्, उम्मेदवारहरू घरदैलो अभियानमा सक्रिय छन्, र चुनावी माहोल उत्कर्षमा पुगेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार यसपटकको निर्वाचनमा परिणाम जेसुकै आए पनि ठूलो दलका रूपमा नेपाली काँग्रेस उदाउने सम्भावना प्रबल देखिएको छ। बहुमत आए एकल सरकार, अन्यथा सत्ता समीकरण—निर्णय परिस्थितिअनुसार हुनेछ।
निर्वाचन परिणाम सार्वजनिक हुन एक–दुई हप्ता लाग्ने अनुमान छ। वर्तमान सत्तापक्ष नयाँ जनमत प्राप्त नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न आतुर देखिन्छ। भदौ २४ पछि ओरालो गतिमा देखिएको देशको अर्थ–सामाजिक अवस्थालाई उकालो चढाउन नयाँ नेतृत्वले शीघ्र निर्णय लिनुपर्ने आवश्यकता औंल्याइँदैछ। यसपटक सरकार गठनमा विगतजस्तो लामो अन्योल नदेखिने आकलन गरिएको छ।
गगनको अगाडि चुनौती र अवसर
निर्वाचन प्रचारका क्रममा गगन थापा लाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिएको छ। यदि जनमतले उनलाई नेतृत्वको जिम्मेवारी दियो भने, मन्त्रिपरिषद् गठनमा विवादीत वा स्वार्थ–केन्द्रित व्यक्तिलाई स्थान नदिनुपर्ने जनअपेक्षा स्पष्ट छ।
विशेषगरी अर्थ मन्त्रालयजस्तो संवेदनशील जिम्मेवारीमा विवादास्पद छविका उद्योगी–व्यवसायीलाई नियुक्त गर्नु जनमतमाथि धोका हुने चेतावनी राजनीतिक वृत्तमा सुनिन्छ। आर्थिक नीतिमा पारदर्शिता, निष्ठा र राष्ट्रिय हित सर्वोपरि हुनुपर्ने माग प्रबल छ।
प्राथमिकताका मन्त्रालयहरू: विकासको रोडम्याप
यदि पाँच वर्षमै देशलाई विकासको गति दिनु छ भने गगन नेतृत्वले निम्न क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छः
अर्थ मन्त्रालय – कमजोर अर्थतन्त्रलाई सबल बनाउन।
स्वास्थ्य मन्त्रालय – सबैको पहुँचमा सर्वसुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्न।
कृषि मन्त्रालय – बाँझो जमिनको सदुपयोग, युवालाई स्वदेशमै स्वरोजगार, किसानको आय वृद्धि।
जलस्रोत मन्त्रालय – जलसम्पदाको उपयोगबाट समृद्धिको आधार निर्माण।
स्थानीय विकास मन्त्रालय – काठमाडौंकेन्द्रित सोच तोड्दै दुर्गम–सुगम सबै पालिकाको सन्तुलित विकास।
शिक्षा मन्त्रालय – समयअनुकूल शैक्षिक पूर्वाधार, सक्षम र प्रतिस्पर्धी विद्यार्थी उत्पादन।
पर्यटन मन्त्रालय – बाह्य तथा आन्तरिक पर्यटक आकर्षित गर्ने दीर्घकालीन योजना।
विज्ञ, अनुभवी र सकारात्मक सोच भएका सहयोगी चयन गर्नु नै सफल सरकारको आधार बन्नेछ।
शक्ति होइन, परिणाममुखी नेतृत्व
गृह, रक्षा वा अन्य शक्तिशाली मन्त्रालय आफ्नो नियन्त्रणमा राखेर शक्ति प्रदर्शन गर्नु भन्दा परिणाममुखी शासन अहिलेको आवश्यकता हो। यदि सत्ता समीकरण अपरिहार्य भयो भने पनि राष्ट्रिय प्राथमिकता केन्द्रमा राख्नुपर्ने जनअपेक्षा छ।
इतिहासले देखाएको छ—छोटो समयमै पनि जनविश्वास जित्न सकिन्छ। बी. पी. कोइराला ले सीमित समयमै जनताको मन जितेका थिए र अन्तर्राष्ट्रिय जगतमा प्रभाव पार्न सफल भएका थिए। अहिलेको परिस्थितिमा गगन थापासामु पनि त्यस्तै अवसर उपस्थित भएको विश्लेषण गरिन्छ।
विशेष महाधिवेशनबाट नेतृत्वमा आएका बीपीको जस्तै परिस्थितिमा गगन उभिएका छन्। फरक यति मात्र—त्यसबेला अधिकार प्रत्यायोजन सहज थियो, अहिले नेतृत्व स्थापित गर्न आन्तरिक प्रतिस्पर्धा पार गर्नुपरेको छ।

निर्वाचन परिणाम जे आए पनि देश परिवर्तनको अपेक्षामा छ। गगन थापालाई यदि नेतृत्वको अवसर प्राप्त भयो भने, शक्ति केन्द्रित राजनीति होइन—आर्थिक सुधार, सामाजिक न्याय, सुशासन र सन्तुलित विकासमा केन्द्रित कार्यशैलीबाट आफूलाई बीपीपछिको प्रभावशाली नेताका रूपमा स्थापित गर्ने ऐतिहासिक अवसर यही हो।
अब प्रश्न एउटै छ—के गगनले ‘त्यतातिर पनि चासो’ राख्नेछन्

Facebook Comments Box
TOP
262 Shares