युएई बाट खुल्ला पत्र हुम्लाका नवनिर्वाचित – माननीय जयपती रोकाया लाई : जित बहादुर टमटा

आदरणीय नवनिर्वाचित माननीय ,
श्री जयपती रोकाय ज्यु
हुम्ला जिल्ला
सादर नमस्कार।
हिमालको काखमा बसेको हाम्रो प्रिय जिल्ला हुम्ला प्राकृतिक सौन्दर्य, संस्कृति र अपार सम्भावनाले भरिपूर्ण भए पनि वास्तविकतामा यहाँका आम नागरिक अझै पनि धेरै आधारभूत सेवा–सुविधाबाट वञ्चित जीवन बिताउन बाध्य छन्। संघीयता आएको वर्षौँ बितिसक्दा पनि हुम्लाका धेरै गाउँहरूमा सडकको सहज पहुँच छैन, गुणस्तरीय शिक्षा सीमित छ, स्वास्थ्य सेवा अझै कमजोर अवस्थामा छ, र रोजगारीका अवसर त छदै-छैन।
विशेषगरी हुम्लाका समग्र गाउँबस्तीका गरिब, दलित, जनजाति, किसान तथा सर्वसाधारण नागरिकहरू अझै पनि विकासको मूलधारबाट टाढा छन्। बिरामी हुँदा अस्पतालसम्म पुग्न अझै पनि घण्टौँ होइन, कतिपय अवस्थामा दिनौँसम्म पैदल यात्रा गर्नुपर्छ। विद्यार्थीहरू सीमित स्रोत–साधनका बीच आफ्नो भविष्य निर्माण गर्ने संघर्ष गरिरहेका छन्, र धेरै युवाहरू अवसरको खोजीमा आफ्नो गाउँघर छोडेर बाहिरिन बाध्य भएका छौं ।
यी सबै पीडामध्ये सबैभन्दा पीडादायी र हृदयविदारक अवस्था हाम्रो आमा–दिदीबहिनीहरूको स्वास्थ्यसँग जोडिएको समस्या हो।
हुम्लाका धेरै दुर्गम गाउँहरूमा आज पनि सुत्केरी हुने बेलामा सुरक्षित र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध छैन। सुत्केरी व्यथा लाग्दा समयमा अस्पताल वा स्वास्थ्य संस्था पुग्न नसकेर कैयौँ आमाहरूले ज्यान गुमाउनु परेको दुःखद घटनाहरू हाम्रो समाजले भोग्दै आएको छ। यो केवल एउटा तथ्य मात्र होइन, हाम्रो समाजको गहिरो पीडा र राज्यले तत्काल ध्यान दिनुपर्ने मानवीय विषय हो।
त्यसैले आज हुम्ली जनताको यही पीडा, आशा र अपेक्षालाई बोकेर यहाँसमक्ष एउटा विनम्र निवेदन प्रस्तुत गर्न चाहन्छु—
हुम्लाका आमा–दिदीबहिनीहरूको सुरक्षित मातृत्व, गुणस्तरीय स्वास्थ्य सेवा र पहुँचयुक्त स्वास्थ्य पूर्वाधार निर्माणमा विशेष ध्यान दिनुहोस्। यदि स्वास्थ्य सेवा सुदृढ भयो भने धेरै आमाहरूको जीवन बचाउन सकिन्छ र धेरै परिवारहरूलाई शोकमा डुब्नबाट जोगाउन सकिन्छ।
यसै सन्दर्भमा, हुम्ला जिल्लाबाट जनताको अमूल्य मतद्वारा निर्वाचित हुनुभएकोमा तपाईंलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु। जनताको विश्वास र भरोसालाई आत्मसात गर्दै समग्र हुम्लाको विकास, शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, रोजगारी सिर्जना तथा सामाजिक न्यायका विषयहरूलाई उच्च प्राथमिकतामा राखी दृढतापूर्वक नेतृत्व गर्नुहुनेछ भन्ने गहिरो अपेक्षा राख्दछु।
चुनावी मैदानमा राजनीतिक दल र विचार फरक–फरक हुन सक्छन्, तर अन्ततः हामी सबै पुग्नुपर्ने गन्तव्य एउटै हो—समृद्ध, विकसित र अवसरले भरिएको हुम्ला।
हुम्लाका जनताले तपाईंलाई कुनै एउटा समूह वा कार्यकर्ताको प्रतिनिधि मात्र होइन, सम्पूर्ण हुम्लावासीको साझा आवाज र अभिभावकका रूपमा संसदमा पठाएका हुन्। त्यसैले आगामी दिनहरूमा संकीर्ण राजनीति भन्दा माथि उठेर आम नागरिकको हित, सुशासन, पारदर्शिता, जवाफदेहिता र समावेशितालाई केन्द्रमा राखी काम गर्नुहुनेछ भन्ने दृढ विश्वास व्यक्त गर्दछु।
विशेषगरी समाजका सीमान्तकृत समुदाय—गरिब, दलित, जनजाति तथा अवसरबाट वञ्चित वर्गहरूको आवाजलाई नीति निर्माणमा स्थान दिनुहुनेछ भन्ने अपेक्षा राखेको छु। यदि तपाईंको कार्यकालमा हुम्लाको विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य र युवाहरूका अवसरहरूमा वास्तविक परिवर्तन आयो भने त्यो केवल एक नेताको उपलब्धि मात्र होइन, सम्पूर्ण हुम्लाको इतिहासमा सम्झिने उपलब्धि हुनेछ।
हामी हुम्ली युवाहरू पनि सकारात्मक सोच, सुझाव र सहयोगका साथ सधैँ साथ दिन तयार छौँ। हाम्रो चाहना एउटै हो—
हुम्ला पछाडि परेको जिल्ला होइन, सम्भावनाले भरिएको समृद्ध जिल्ला बनोस्। हाम्रो हुम्ला सधैं गघी बढोस् ।
पुनः एकपटक हार्दिक बधाई तथा सफल, जनमुखी र ऐतिहासिक कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु।
शुभेच्छा सहित
उहीँ
हुम्लाको एक साधारण युवा
शुभेच्छुक भाइ–भतिजो
-✍️जित बहादुर टमटा
संस्थापक अध्यक्ष
पावरफुल युवा क्लब, हुम्ला
हाल यो पत्र अबुधाबी युएई बाट ✍️लेखेको छु।।

Facebook Comments Box
TOP
119 Shares