ठमेलको वाल्डो क्यासिनोमा अवैध जुवाको ‘इभेन्ट’ पर्दाफास : भारतीय गिरोहका नाइकेसहित ६ जना पक्राउ, करोडौँको सेटिङ र उच्च तहको चलखेलको आशंका
काठमाडौं ।
काठमाडौंको ठमेलस्थित छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोमा अवैध रूपमा जुवा खेलाइरहेको आरोपमा प्रहरीले छापा मार्दा ६ जना पक्राउ परेका छन्। पक्राउ परेकामध्ये दुई जना महिला समेत छन्। करिब एक साता अघि गरिएको गोप्य अपरेसनमा भारतीय क्यासिनो इभेन्ट गिरोहका मुख्य नाइके सुरेश महाजनसहित प्रमोद मोरिया, दिनेश बर्मा, विक्रम सिंह, चिजा खड्का र भवानी पाण्डे पक्राउ परेका हुन्।
प्रहरी स्रोतका अनुसार क्यासिनोमा ‘इभेन्ट’ को नाममा पूर्व–सम्झौता (सेटिङ) मिलाएर जुवा खेलाउने गरिएको थियो। छापाका क्रममा तास, सेन्सर जडित उपकरण, विशेष लेन्सलगायत जुवामा प्रयोग हुने अत्याधुनिक सामग्री बरामद गरिएको छ।
भारतीय गिरोहको जालो
पक्राउ परेका मुख्य नाइके सुरेश महाजन (५७) भारतीय नागरिक हुन्। उनका पिता सतपाल महाजन हुन् भने उनी दिल्लीको रोहिणी सेक्टर–१७, पोकेट ए, ब्लक–२ स्थित १५औँ तलाको घरमा बसोबास गर्दै आएको खुलेको छ। सुरेश महाजन ‘क्यासिनो इभेन्ट ग्रुप’ तथा ‘बीपी एण्ड महाकाय ग्रुप’ का सञ्चालक हुन्।
अनुसन्धानका क्रममा महाजनले विगत १८–२० वर्षदेखि दिल्लीको रोहिणी क्षेत्रमा ‘महाकाया हाईस्टेक प्रा.लि.’ नामक घरजग्गा कारोबार कम्पनी सञ्चालन गर्दै आएको र त्यससँगै क्यासिनो बीपी एण्ड महाकाय ग्रुपमार्फत अन्तर्राष्ट्रिय क्यासिनो इभेन्ट सञ्चालन गर्दै आएको खुलेको छ।
उक्त ग्रुपले नेपाल, भारत, श्रीलंका, भियतनाम र कम्बोडियालगायत देशहरूमा नियमित रूपमा क्यासिनो इभेन्ट सञ्चालन गर्दै आएको प्रहरीको भनाइ छ।
नेपालमा भने सुरेश महाजनले विनोद भन्ने जनार्दन उप्रेती र उचत उप्रेती सँग मिलेर क्यासिनो इभेन्ट सञ्चालन गर्दै आएको खुलेको छ। काठमाडौं बाहिर इभेन्ट सञ्चालन नगरिएको र विशेषतः क्यासिनो प्राइड केन्द्रित गतिविधि हुँदै आएको अनुसन्धानले देखाएको छ।
जेनजी आन्दोलनका क्रममा क्यासिनो प्राइडमा क्षति पुगेपछि पहिलो पटक वाल्डो क्यासिनोमा मंसिर २५ देखि २८ गतेसम्म इभेन्ट सञ्चालन गर्ने योजना बनाइएको थियो। सोही योजनाअनुसार सुरेश महाजन मंसिर २४ गते भारतबाट नेपाल आएका थिए।बीपी एण्ड महाकाय ग्रुपअन्तर्गत क्यासिनो प्लेयरहरू मंसिर २५ गते मात्र करिब ७० जना नेपाल आएका थिए। अन्य ग्रुप समेत सहभागी हुँदा जम्मा करिब २०० जना भारतीय नागरिक नेपाल आएको खुलेको छ।
उनीहरूका लागि होटल अलफ्ट र होटल मेरियटमा करिब ८० कोठा बुक गरिएको थियो। टिकट, खाना र बसोबासको सम्पूर्ण व्यवस्थापन सुरेश महाजनले मिलाएको प्रहरीको भनाइ छ। सुरेश महाजनसहित मोनो सचदौवा भनिने निरज कुमार, गौरव खत्री, दिनेश बर्मा, विक्रम सिंह र प्रमोद मोरिया मंसिर २४ गते काठमाडौं आइपुगेका थिए।‘इन्डियन फलास’ खेलको सम्झौता
वाल्डो क्यासिनोमा ७ देखि १० वटा टेबलमा ‘इन्डियन फलास’ नामक खेल सञ्चालन गर्ने सम्झौता भएको खुलेको छ। उक्त एग्रीमेन्ट विनोद भन्ने जनार्दन उप्रेतीले गरेको अनुसन्धानबाट खुलेको छ।
प्रहरीले अवैध जुवा सञ्चालन, विदेशी नागरिकको संलग्नता, क्यासिनो नियम उल्लङ्घन तथा आर्थिक कारोबारसम्बन्धी विषयमा ठगी मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ। तर, घटनाबारे प्रहरीले औपचारिक रूपमा सूचना सार्वजनिक नगरेको भन्दै घटना मिलाउन मोटो रकमको चलखेल भइरहेको आशंका गरिएको छ।
उच्च स्रोतका अनुसार क्यासिनो र पक्राउ परेकाहरूलाई छुटाउन केही विचौलियाले काठमाडौं प्रहरी परिसर, जिल्ला सरकारी वकिलको कार्यालयसम्म सेटिङ मिलाउने भन्दै करोडौँ रुपैयाँको डिल गरिरहेका छन्। यही कारण प्रहरी प्रशासनले घटनालाई अत्यन्त गोप्य राखेको दाबी गरिएको छ।
वाल्डो क्यासिनो यसअघि पनि विवादमा पर्दै आएको छ। केही समयअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ६१ किलो सुन तस्करी प्रकरणमा वाल्डो क्यासिनोका सञ्चालक र म्यानेजरलाई पक्राउ गरेको थियो।
वाल्डोको आडमा सुन तस्करी, अवैध आर्थिक कारोबार तथा सेटिङमा जुवा खेलाउने कार्य हुँदै आएको आरोप लामो समयदेखि लाग्दै आएको छ। अनुसन्धानका क्रममा क्यासिनोले नेपाली नागरिकको नक्कली आइडी बनाउने, नेपालमा पैसा जम्मा गर्ने तर जुवा नखेली हङकङस्थित अर्को क्यासिनोबाट रकम झिक्ने गरेको तथ्य पनि भेटिएको थियो। उक्त क्यासिनो चिनियाँ नागरिकको व्यवस्थापनमा सञ्चालन हुँदै आएको बताइएको छ।
समाज
थप सामाग्री-
आज पौष ०७ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
ठमेलको वाल्डो क्यासिनोमा अवैध जुवाको ‘इभेन्ट’ पर्दाफास : भारतीय गिरोहका नाइकेसहित ६ जना पक्राउ, करोडौँको सेटिङ र उच्च तहको चलखेलको आशंका
-
कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली सुरु
-
तराईमा बाक्लो हुस्सु र कुहिरो : जनजीवन प्रभावित
-
आज पौष ०६ गते आइतबार,यस्तो छ तपाईको राशिफल
राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल
२ दिन अगाडि
3.4kViews 121 Shares Share on Facebook Share on Twitter चितवन । चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा गरिएको…



