विदेश जाने सपनामा ठगी : नियमन र चेतनाको अभाव कहिलेसम्म ?
काठमाडौं । वैदेशिक रोजगारी नेपाली युवायुवतीका लागि सपना मात्र होइन, जीवन बदल्ने आशा बनेको छ। तर यही आशालाई हतियार बनाएर ठगी गर्ने गिरोहहरू सक्रिय भइरहँदा राज्यको नियमन र नागरिक चेतनामा गम्भीर प्रश्न उठिरहेको छ।
हालै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले “बेलायत पठाइदिन्छु” भन्दै आकर्षक तलबको प्रलोभन देखाएर बेरोजगार युवायुवतीबाट लाखौं रुपैयाँ ठगी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ। नुवाकोटको तार्केश्वर गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौँ बस्दै आएकी ३६ वर्षीया कुमारी तामाङले दुई जना पीडितबाट ७ लाख ९० हजार रुपैयाँ असुली लामो समयसम्म विदेश पठाउने बहानामा झुक्यानमा राखेको प्रहरीको अनुसन्धानले देखाएको छ।
विदेश पठाउने नाममा रकम लिई सम्पर्कविहीन भएपछि मात्र पीडितहरू प्रहरीको शरणमा पुगे। यो घटना अपवाद होइन, प्रवृत्ति हो। हरेक वर्ष यस्तै प्रलोभनमा परेर ठगिने सयौं नेपालीहरूको पीडा तथ्यांकमा सीमित बनेको छ, जबकि ठगीका जालो अझै सशक्त बन्दै गएका छन्।
प्रहरीले माघ २१ गते काठमाडौं महानगरपालिका वडा नम्बर १२ क्षेत्रबाट तामाङलाई पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाएको छ। यो कदम स्वागतयोग्य भए पनि प्रश्न उही रहन्छ—अपराध भएपछि मात्र कारबाही गर्ने कि अपराध हुन नदिन प्रभावकारी संयन्त्र विकास गर्ने?
वैदेशिक रोजगारीसँग जोडिएका ठगी नियन्त्रणका लागि सरकारी निकायबीच समन्वय, कडा अनुगमन र छिटो न्याय अपरिहार्य छ। साथै, विदेश जाने चाहना राख्ने नागरिक स्वयंले पनि कानुनी प्रक्रिया, इजाजतप्राप्त म्यानपावर र सरकारी सूचनाप्रति सजग रहनु आजको आवश्यकता हो।
सपनाको मूल्य ठगी होइन, सुरक्षित भविष्य हो। त्यसका लागि राज्य र नागरिक दुवैको जिम्मेवारी बराबर हुन्छ।
समाज
थप सामाग्री
सार्वजनिक यातायात सुधार गर्दै काठमाडाैँ महानगर
२ दिन अगाडि
1.6kViews 296 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक यातायात प्रणाली सुधार गर्नुपर्ने भन्दै प्रक्रिया…



