सीआईबीको असई भन्दै नक्कली परिचयमा लाखौँ ठगी गर्ने महिला पक्राउ

काठमाडौं/रौतहट —
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की असई भएको नक्कली परिचय दिई सर्वसाधारणबाट लाखौँ रुपैयाँ ठगी गर्दै आएकी एक महिलालाई रौतहट प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बरहथवा नगरपालिका–६ स्थायी घर भई हाल सर्लाहीको कबिलासी नगरपालिका–१० सलेमपुर टोल बस्दै आएकी अन्दाजी ३५ वर्षीया नेहा, निशा, पुनम कुमारी भन्ने निर्मला महतो रहेकी छन्।
इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरका प्रहरी नायब उपरीक्षक रूपा लाबुङका अनुसार महतोविरुद्ध सर्लाही लालबन्दीका राजेश्वर साह, रौतहट चन्द्रपुरका सन्तोषबहादुर विश्वकर्मा, प्रवीण साह तथा गुजरा नगरपालिका निवासी विजय साहले लाखौँ रुपैयाँ ठगी भएको उजुरी दिएका थिए। सोही उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदै महतोलाई पक्राउ गरिएको हो।
सीआईबीको असई भन्दै जालसाजी
प्रहरीका अनुसार करिब एक वर्षअघि सर्लाहीको नवलपुर बजारमा पीडित राजेश्वर साहसँग चिनजान गरेकी महतोले आफू सीआईबीको असई भएको, नवलपुरमै डेरा गरी बस्ने तथा मलंगवा भन्सारका कर्मचारीहरूसँग राम्रो सम्बन्ध रहेको दाबी गरेकी थिइन्। उनले सस्तोमा स्कार्पियो गाडी निकालिदिने प्रलोभन देखाउँदै भन्सार कर तिर्नुपर्ने बहानामा साहकी श्रीमती पुनम कुमारीको सक्कल नागरिकता र ६–७ थान पासपोर्ट साइज फोटो लिई पटक–पटक गरी रु. १ लाख ५० हजार नगद ठगी गरेको खुलेको छ।
नक्कली पहिचान, बैंक खाता र चेक ठगी
अनुसन्धानका क्रममा महतोले पुनम कुमारीको नागरिकता र फोटो दुरुपयोग गरी आफू नै पुनम कुमारी भएको झूटो विवरण दिँदै इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरबाट राष्ट्रिय परिचयपत्रसमेत बनाएको पाइएको छ। सोही पहिचान प्रयोग गरी माछापुच्छ्रे बैंक लिमिटेड, चन्द्रपुर शाखामा पुनम कुमारीको नाममा खाता खोली चेकमार्फत ठगी कार्यलाई निरन्तरता दिएको प्रहरीले जनाएको छ।
सुनचाँदीदेखि नगद सापटीसम्म
आफू सीआईबीको असई भएको प्रभाव देखाउँदै महतोले चन्द्रपुरनिवासी सन्तोषबहादुर विश्वकर्माको ज्वेलर्स पसलबाट रु. २ लाख ७४ हजार बराबरको सुनचाँदी उधारोमा खरिद गरेकी थिइन्। यस्तै, गुजरा नगरपालिका निवासी विजय साह बनियाँसँग रु. ५ लाख नगद सापटी, चन्द्रपुरका प्रवीण साहको किराना पसलबाट उधारो सामान खरिद, स्कार्पियो गाडी भाडामा लिई रु. १ लाख २६ हजार भाडा नतिर्ने तथा पर्याप्त मौज्दात नभएको खाताबाट चेक काटी पीडितहरूलाई दिने गरेको तथ्य खुलेको छ।
अनुसन्धान जारी, थप पीडित हुनसक्ने
महतोलाई माघ ४ गते चन्द्रपुर नगरपालिका–६ क्षेत्रबाट पक्राउ गरिए पनि घटनाको वास्तविकता पुष्टि गर्न करिब २० दिन लागेको डिएसपी लाबुङले जानकारी दिइन्। उनका अनुसार प्रतिवादीविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ।
यस घटनामा थप पीडितहरू पनि हुनसक्ने सम्भावना रहेकाले आवश्यक परे उजुरी दिन प्रहरी प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।

Facebook Comments Box
TOP
414 Shares