काठमाडौंमा श्रृंखलाबद्ध चोरी काण्डको पर्दाफास: पूर्व नगरप्रमुख बालेन्द्र साहको डेरामा भएको चोरीमा संलग्न ३ जना पक्राउ
काठमाडौं । राजधानी काठमाडौंका विभिन्न स्थानमा रातको समयमा घरको ताल्चा फुटाई सुन, चाँदी, नगद तथा विद्युतीय सामग्री चोरी गर्दै आएका गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले सञ्चालन गरेको खोजतलासका क्रममा पूर्व नगरप्रमुख बालेन्द्र साहको डेरामा भएको चोरीसमेतमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिकाका विभिन्न वडामा घर तथा निर्माणाधीन भवनहरूबाट धारा, टुटी, फिटिङ सामग्री, विद्युतीय उपकरण र बहुमूल्य गहना चोरी भएको भनी प्राप्त निवेदनका आधारमा अनुसन्धान अघि बढाइएको थियो। सोही क्रममा मिति २०८२।१०।१६ गते काठमाडौं महानगरपालिका–४ चप्पल कारखाना क्षेत्रमा रहेको पूर्व नगरप्रमुख बालेन्द्र साहको डेराकोठामा भएको चोरीमा समेत उनीहरूको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूलाई मिति २०८२।१०।२४ गते नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
पक्राउ परेका व्यक्ति
मनिष राजवाहक (४२ वर्ष)
स्थायी ठेगाना: काठमाडौं महानगरपालिका–१६, बालाजु हाईट
हाल बसोबास: काठमाडौं महानगरपालिका–२६, बाँसबारी
(२०७२ भाद्र २४ गते नख्खु कारागारबाट फरार)
खिम बहादुर खड्का (४६ वर्ष)
स्थायी ठेगाना: सिन्धुपाल्चोक, लिसंखु पाखर गाउँपालिका–६
हाल बसोबास: काठमाडौं महानगरपालिका–३१, गैरिगाउँ
संजय श्रेष्ठ (४५ वर्ष)
स्थायी ठेगाना: डोटी, दिपायल सिलगढी नगरपालिका–६
हाल बसोबास: धादिङ, धुनिबेशी नगरपालिका–७, खानीखोला
विगतका आपराधिक अभिलेख
प्रहरीका अनुसार मनिष राजवाहकविरुद्ध कालीमाटी प्रहरी वृत्तमा सार्वजनिक अपराध तथा महाराजगञ्ज प्रहरी वृत्तमा चोरी मुद्दा दर्ता रहेको छ। खिम बहादुर खड्काविरुद्ध बौद्ध प्रहरी वृत्तमा बैंकिङ कसुर र संजय श्रेष्ठविरुद्ध जबरजस्ती करणी कसूरसम्बन्धी मुद्दा दर्ता भएको अभिलेख फेला परेको छ।
बरामद सामग्री
प्रहरीले उनीहरूको डेराबाट विभिन्न चोरीका सामानहरू बरामद गरेको छ, जसमा इन्टरनेट राउटर, सीसीटीभी क्यामेरा, ज्याकेट, औजारहरू, चाँदी तथा सुनजस्तै देखिने गहना, मूर्ति, झुम्का, सिक्री, पत्थरका माला, ल्यापटप, डीभीआर लगायतका सामग्री रहेका छन्।
प्रहरीका अनुसार बरामद सामग्रीको विस्तृत परीक्षण र पीडितसँग पहिचान गराउने कार्य जारी छ। साथै, यस गिरोहले अन्य स्थानमा समेत चोरी गरेको हुनसक्ने आशंकामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
राजधानीमा बढ्दो चोरी नियन्त्रणका लागि निगरानी कडा बनाइएको र यस्ता आपराधिक गतिविधिमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने प्रहरीको भनाइ छ।

समाज
थप सामाग्री
सार्वजनिक यातायात सुधार गर्दै काठमाडाैँ महानगर
२ दिन अगाडि
1.6kViews 296 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक यातायात प्रणाली सुधार गर्नुपर्ने भन्दै प्रक्रिया…



