८० लाख बैना, एकै जग्गा दुई पटक बिक्री र फरार अभियुक्त : सुदिप आले परिवार कानुनी फन्दामा

काठमाडौं ।
जनरक्षा मिडियाले विगतमा नै उठाएको स्वीफ्ट एचआर मेनेजमेन्टका सञ्चालक सुदिप आलेको ठगी धन्दाबारेका समाचारहरू आज प्रमाणित हुने चरणमा पुगेका छन्। जनरक्षाको समाचारमाथि प्रश्न उठाउँदै केही व्यक्तिहरूको आडमा आफ्नो कारोबारलाई निरन्तरता दिँदै आएका आले परिवार अहिले भने कानुनी घेराबन्दीमा परेको छ।
चितवन प्रहरीले सुदिप आलेकी श्रीमती अञ्जु थापा लाई पक्राउ गरिसकेको छ भने सुदिप आले र उनका सहोदर भाइ सुशील आले हालसम्म फरार रहेका छन्।
पहिले नै चेतावनी दिएको थियो जनरक्षाले
मिति २०८२ मंसिर ५ गते शुक्रबार, जनरक्षा मिडिया प्रा.लि.द्वारा सञ्चालित जनरक्षा डटकम मा“स्वीफ्ट एचआर मेनेजमेन्टका सञ्चालक सुदिप आलेको ठगी धन्दा भण्डाफोर”
“ठगीको जालोमा स्वच्छन्दता, प्रहरीको मौनता—किन सुदिप आले अझै ‘अछुतो’ ?”
शीर्षकमा प्रकाशित समाचारप्रति सुदिप आलेले आपत्ति जनाए पनि पछिल्ला घटनाक्रमले जनरक्षाको दाबीलाई थप बल दिएको छ।
४ आना जग्गा, २० लाखको कागज र ८० लाखको बैंक कारोबार
काठमाडौं महानगरपालिका–५, खड्का भद्रकाली मा रहेको ४ आना चानचुन जग्गा अञ्जु थापाको नाममा रहेको देखिन्छ। उक्त जग्गा मिति २०८१ मंसिर २० गते निर्मल शाहीकी श्रीमती सुनिता शाहीले रु २० लाख बैना दिई कागज गरेको तथ्य खुलेको छ।
तर कागजमा २० लाख मात्र देखाइए पनि, बैंक स्टेटमेन्टअनुसार निर्मल शाहीले पटक–पटक गरी रु ८० लाख रकम सुशील आले र अञ्जु थापाको खातामा जम्मा गरेको स्पष्ट प्रमाण भेटिएको छ।
गरिब, दुःखीले जीवनभरको कमाइ जम्मा गरेर “जग्गा पाइन्छ” भन्ने विश्वासमा दिएको रकम लिएर, उही जग्गा बिक्री गरी फरार हुनु कत्तिको न्यायसंगत हो—यो प्रश्न अहिले सार्वजनिक बहसको विषय बनेको छ।

प्रहरीलाई छल्दै फरार
विगतमा “प्रहरी हाम्रो साथी” भन्ने भावनाको मर्म नबुझी महाराजगन्ज प्रहरी वृत्त लाई झुक्याउँदै, भोलिपल्ट उपस्थित हुने सर्तमा साक्षी–जमानी मा छुटेका सुदिप आले त्यसपछि प्रहरी सम्पर्कमा आएनन्।
महाराजगन्ज प्रहरी वृत्तका तत्कालीन डीएसपी निरञ्जन थापाले दिनभर फोन सम्पर्क गरी कार्यालयमा उपस्थित हुन अनुरोध गर्दा पनि टार्दै–टार्दै बेपत्ता हुनु, आलेको नियतमाथि गम्भीर प्रश्न उठाउने आधार बनेको थियो।

यदि सुदिप आले आफूलाई “सदनियतको व्यक्ति” प्रमाणित गर्न चाहन्थे भने, पीडितसँग संवाद किन गरेनन् ? भन्ने प्रश्न जनरक्षाले सोही समय उठाएको थियोे ।
महाराजगन्ज प्रहरी वृत्तको विगतको रिपोर्टले पनि आले कस्ता चरित्रका व्यक्ति हुन् भन्ने प्रष्ट संकेत गर्छ। मेनपावरको आवरणमा मिटरब्याजी धन्दा, विभिन्न प्रलोभन देखाएर वैदेशिक रोजगारका नाममा सोझा–सिधा व्यक्तिमाथि ठगी गर्दै आएका आले हाल आएर कानुनी फन्दामा परेका छन।

आलेले  एकै व्यक्तिबाट पटक–पटक गरी ८० लाख बैना लिएर १ करोडको जग्गा बेच्नु, र त्यो सकिएको प्रमाणित भएपछि उही जग्गा अर्को व्यक्तिलाई पास गर्नु नै ठगि गर्ने नियत रहेको पुष्टि हुन्छ। तसर्थ : यो कुनै सामान्य आर्थिक विवाद होइन।
यो अपराधिक विश्वासघात, योजनाबद्ध ठगी र नागरिक अधिकारमाथिको सीधा आक्रमण हो।
जनरक्षा मिडिया जनजनको रक्षा लागि आफ्नो कलम चलाउँछ—र चलाइरहनेछ।
हेक्का रहोस्, सत्य ढाकिँदैन।

Facebook Comments Box
TOP
129 Shares