महानगरमा ‘विदेशी खादा’ निषेध, चुनावमा आफैं प्रयोग : राजुनाथ पाण्डेमाथि दोहोरो चरित्रको आरोप

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व प्रहरी प्रमुख तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट काठमाडौं–३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका राजुनाथ पाण्डे यतिबेला दोहोरो चरित्र देखाएको आरोपमा आलोचित भएका छन्।
महानगर प्रहरी प्रमुख रहँदा विदेशी खादा प्रयोग नगर्न निर्देशन दिँदै त्यस्ता खादा बरामद र फ्याँक्ने पाण्डे अहिले भने आफैं त्यही खादा लगाएर चुनावी प्रचारप्रसारमा हिँडिरहेको देखिएपछि सामाजिक सञ्जालमा चर्को आलोचना सुरु भएको हो।
फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पाण्डे हाल घरदैलो अभियानमा सक्रिय छन्। यही क्रममा सार्वजनिक भएको एक भिडिओमा उनी रास्वपाका नेता–कार्यकर्तासँगै खादा लगाएर मत माग्दै हिँडिरहेको देखिन्छ। उक्त भिडिओ सार्वजनिक भएपछि “देखाउने र चपाउने दाँत फरक” भएको आरोप उनीमाथि लाग्न थालेको छ।
महानगर प्रहरी प्रमुख रहँदा पाण्डेले “विदेशी (चाइनिज) खादा प्रयोग नगरौं, ढाकाटोपी लगाऔं” भन्दै विदेशी खादा प्रयोगविरुद्ध कडा अभिव्यक्ति दिएका थिए। त्यतिबेला उनले विदेशी खादा बरामद गर्दै सार्वजनिक रूपमा अस्वीकारसमेत गरेका थिए। तर अहिले भने आफैं सोही खादा प्रयोग गरेको दृश्य बाहिरिएपछि उनको अडानप्रति प्रश्न उठाइएको छ।
भाइरल भिडिओमा विभिन्न व्यक्तिहरूले कटाक्षपूर्ण प्रतिक्रिया दिएका छन्। पुष्प दाहालले कमेन्ट गर्दै लेखेका छन्, “नसकिने भो हौ यिनीहरुसँग पनि।” आत्मा गुरागाईंले भनेकी छन्, “हैट, मलाई चुनावसम्म कोमामा पुर्‍याउने भयो यिनीहरूको चर्तिकलाले।” यस्तै, जेभी गजल खड्काले “होइन, एउटा मात्र सध्ये मान्छे भेटिएन” भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

Facebook Comments Box
TOP
490 Shares