रौतहटमा प्रहरीमाथि गम्भीर आरोप : कुटपिट र लुटपाटको जाहेरी दर्ता गर्न डीएसपीले अस्वीकार गरेको पीडित पक्षको दाबी

रौतहट । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यमाथि कुटपिट तथा लुटपाटसम्बन्धी जाहेरी दर्ता गर्न अस्वीकार गरेको गम्भीर आरोप लागेको छ। गत माघ १५ गते राति गरुडा नगरपालिका–६ शिवनगरस्थित आदर्श आयल स्टोर मा भएको घटनालाई लिएर पीडित पक्षले आइतबार पत्रकार सम्मेलन गरी प्रहरीको भूमिकामाथि प्रश्न उठाएका हुन्।
पम्प सञ्चालक राकेश चौधरीका अनुसार पेट्रोल भरेको रकमको विषयमा विवाद चर्किँदा एक समूहले आयल स्टोरमा आक्रमण गरेको थियो। आक्रमणका क्रममा गरुडा–६ का वडा अध्यक्ष रामबाबु चौधरीका छोराहरू रञ्जित चौधरी र रोहित चौधरी घाइते भएका छन्।
परिवारका अनुसार गम्भीर घाइते भएका रञ्जित चौधरीको नाकमा गहिरो चोट लागेको र उनको काठमाडौंमा शल्यक्रियाको तयारी भइरहेको छ। घटनाका क्रममा ६५ हजार रुपैयाँ लुटिएको दाबी समेत पीडित पक्षले गरेको छ।
पत्रकार सम्मेलनमा वडा अध्यक्ष चौधरीले नामै किटान गरेर डाँका तथा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्न खोज्दा डीएसपी आचार्यले ‘अभद्र व्यवहार’ को जाहेरी मात्र ल्याउन दबाब दिएको आरोप लगाए। उनले प्रहरी चौकीबाट करिब ३० मिटरको दूरीमै घटना हुँदा पनि सुरक्षा नदिइएको र अहिले अपराधीलाई जोगाउने प्रयास भइरहेको गम्भीर दाबी गरे।
यता, इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन्। उनले घटनासम्बन्धी सीसीटीभी फुटेज अध्ययन भइरहेको जानकारी दिँदै प्रारम्भिक अनुसन्धानमा लुटपाट वा ज्यान मार्ने स्पष्ट उद्देश्य नदेखिएको प्रतिक्रिया दिएका छन्।
डीएसपी आचार्यले औपचारिक जाहेरी नै नआएकाले मुद्दा दर्ता नभएको दाबी गर्दै आफूविरुद्ध लगाइएका आरोप प्रमाणित गर्न चुनौतीसमेत दिएका छन्।

Facebook Comments Box
TOP
410 Shares