पर्सा–४ : जालिम मियाँ र टेकबहादुर शाक्यमाथि आचारसंहिता उल्लङ्घनको आरोप, आयोगले स्पष्टिकरण सोध्यो

वीरगंज ।
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा पर्सा निर्वाचन क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा उम्मेदवारहरू जालिम मियाँ र टेकबहादुर शाक्यमाथि निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ।
आइतबार दिउँसो पर्सा निर्वाचन क्षेत्र नं. ४ को निर्वाचन कार्यालयमा दुबै उम्मेदवारलाई उपस्थित गराई आयोगले स्पष्टीकरण लिएको हो। एमालेका उम्मेदवार जालिम मियाँ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार टेकबहादुर शाक्यमाथि आचारसंहिता विपरीत गतिविधि गरेको आरोप लागेको छ।
रास्वपा उम्मेदवार शाक्यमाथि चुनावी प्रचार–प्रसारका क्रममा विद्यालय जाने उमेरका बालबालिकालाई र्‍याली, जुलुस तथा विभिन्न प्रचार गतिविधिमा प्रयोग गरेको आरोप छ। निर्वाचन आयोगको आचारसंहिताले बालबालिकाको प्रयोगलाई पूर्ण रूपमा निषेध गरेको भए पनि उल्लङ्घन भएको भन्दै स्थानीय तहमा असन्तोष व्यक्त गरिएको थियो।
यस्तै, एमाले उम्मेदवार जालिम मियाँले चुनावी प्रचारमा भारतीय नम्बर प्लेट भएका सवारीसाधन प्रयोग गरेको आरोप लागेको छ। ती सवारीसाधनका नम्बर प्लेट कालो टेप र कागजले छोपिएको अवस्थामा देखिएको जनाइएको छ, जुन निर्वाचन आचारसंहिता विपरीत मानिन्छ।
दुवै घटनाबारे सामाजिक सञ्जालमा व्यापक चर्चा र विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि निर्वाचन आयोगले स्पष्टिकरण सोधेको जनाएको छ।

Facebook Comments Box
TOP
338 Shares