जापान रोजगारीको नाममा बढ्दो ठगीप्रति वैदेशिक रोजगार विभागको गम्भीर चेतावनी
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार विभागले जापानमा रोजगारीको प्रलोभन देखाएर भइरहेको ठगीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपाली राजदूतावास, टोकियोबाट प्राप्त सूचनाका आधारमा विभागले जापानमा वैदेशिक रोजगारीसम्बन्धी अनियमित तथा गैरकानुनी गतिविधिहरू बढ्दै गएको भन्दै आम नागरिकलाई सचेत गराएको हो।
विभागका अनुसार व्यावसायिक कुक, केयरगिभर, सीपयुक्त तथा अन्य कामदार पठाउने बहानामा व्यक्तिगत श्रम स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था उल्लंघन गर्दै गैरकानुनी रूपमा काम र तलबको आश्वासन दिने, चर्को शुल्क असुल गर्ने तथा सम्झौताअनुसार काम र पारिश्रमिक नदिने गुनासोहरू बढिरहेका छन्।
सूचनामा उल्लेख भएअनुसार वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने अनुमति नपाएका विभिन्न कम्पनी, संस्था तथा व्यक्तिहरूले जापानमा काम लगाइदिने भन्दै नक्कली कागजात तयार गर्ने, व्यक्तिगत श्रम स्वीकृतिका लागि आवेदन गराउने र ठूलो रकम असुल गर्ने जस्ता गैरकानुनी कार्यहरू गरिरहेको पाइएको छ। यस्तो कार्य वैदेशिक रोजगार ऐन विपरीत भएकाले संलग्न व्यक्ति तथा संस्थामाथि कडा कानुनी कारबाही गरिने विभागले चेतावनी दिएको छ।
विभागले जापान रोजगारीमा जान चाहने व्यक्तिहरूलाई प्राप्त भिसाको प्रकार, रोजगारदाता, कम्पनी वा संस्थासँग भएको करार सम्झौता (COE) तथा कामको आधिकारिक विवरणबारे पूर्ण जानकारी लिएर मात्र श्रम स्वीकृतिका लागि आवेदन गर्न आग्रह गरेको छ। जापान पठाइदिने नाममा भिसा, COE वा करार सम्झौता उपलब्ध गराइदिने भन्दै रकम मागेमा तत्काल सम्बन्धित निकायमा उजुरी दिन पनि अनुरोध गरिएको छ।
त्यस्तै, Transport Driver Candidate Visa अन्तर्गत विगतमा पेश भएका केही निवेदनहरूमा जापानमा ड्राइभिङ लाइसेन्सको परीक्षा उत्तीर्ण गरेपछि मात्र रोजगार सुनिश्चित हुने र स्वदेशमै रोजगारदाता खोज्नुपर्ने अवस्था रहेकाले उक्त भिसा प्रकारमा श्रम स्वीकृति जारी नगरिने स्पष्ट गरिएको छ।
वैदेशिक रोजगार विभागले जापान रोजगारीको नाममा हुने कुनै पनि किसिमका ठगी, अनियमितता तथा गैरकानुनी क्रियाकलापमा संलग्न व्यक्ति वा संस्थाविरुद्ध कानुनअनुसार कडा कारबाही गरिने दोहोर्याउँदै आम नागरिकलाई सचेत, सजग र सावधान रहन आग्रह गरेको छ।
समाज
थप सामाग्री
सार्वजनिक यातायात सुधार गर्दै काठमाडाैँ महानगर
२ दिन अगाडि
1.6kViews 296 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक यातायात प्रणाली सुधार गर्नुपर्ने भन्दै प्रक्रिया…



