फोन विवादबाट सुरु भएको झगडा हत्या सम्म पुग्दा दुई दाजुभाइको ज्यान गयो, साहसिक कारबाही गर्ने प्रहरी पुरस्कृत

पाटन कृष्ण मन्दिरमा दोहोरो हत्या: अभियुक्त पक्राउ गर्ने प्रहरीलाई नगदसहित सम्मान

ललितपुर । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा भएको दोहोरो हत्याकाण्डमा संलग्न अभियुक्तलाई पक्राउ गर्न सफल प्रहरी कर्मचारीलाई नगदसहित सम्मान गरिएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटी र मंगलबजार प्रभागकी प्रहरी जवान सहाना बोहरालाई घटनामा देखाएको साहस र सक्रियताका लागि पुरस्कृत गरिएको हो। उनीहरूलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी ईश्वर कार्कीले रेकर्डमा जनिने गरी नगदसहित सम्मान गरेका हुन्।

प्रहरीका अनुसार बुधबार साँझ करिब ७:४० बजे भएको उक्त घटनामा सिर्जन नेम्बाङ र सुमीत नेम्बाङमाथि धारिलो हतियार प्रहार हुँदा उनीहरूको ज्यान गएको थियो।

हत्या गरेर भाग्ने प्रयासमा रहेका ललितपुरकै भोलढोकाका ३२ वर्षीय सञ्जीव नेपालीलाई घटनास्थल नजिकैबाट प्रहरीले पक्राउ गरेको हो। विशेष गरी प्रहरी जवान सहाना बोहराले एक्लै साहसिक रूपमा पछ्याउँदै छुरासहित उनलाई नियन्त्रणमा लिन सफल भएकी थिइन्।

उक्त अभियुक्तलाई पक्राउ गरेपछि उनलाई दुईवटा प्रहरी कार्यालयले नगदसहित पुरस्कृत गरेका छन् भने जवान बोहरालाई एसएसपी बोगटीले समेत छुट्टै पुरस्कार प्रदान गरेका छन्।

प्रारम्भिक अनुसन्धानअनुसार सुमीतको मोबाइलबाट झुक्किएर सञ्जीवको मोबाइलमा फोन लागेपछि उनीहरूबीच विवाद सुरु भएको थियो। सोही विवाद साँझ कृष्ण मन्दिर परिसरमा भेट हुँदा उग्र बन्दै जाँदा सञ्जीवले छुरा प्रहार गरी दाजुभाइ सुमीत र सिर्जनको हत्या गरेका थिए।

प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Facebook Comments Box
TOP
211 Shares