

गाउँ फेरिएर बजार बनेको ‘खौलारा’
ढोरपाटन । “विकास हुन धेरै समय लाग्दो रैनछ, यो गाउँ यति छिट्टै फेरियो, विगतलाई सम्झिँदा यस्तो होला भन्ने कसैले कल्पाना गरेका थिएनौँ”, बडिगाड गाउँपालिका–५ का ७१ वर्षीय चूडामणि घिमिरे गाउँ फेरिएकोमा दङ्ग छन् । दुई दशकअगाडिसम्म सनुसान गाउँ रहेको खौलारा अहिले स्वरुप बदलेर बजार बनेको छ । मध्यपहाडी लोकमार्ग खौलाराको मध्यभागबाट हुँदै गए पछि यहाँ थुप्रै विकासका सम्भावना पनि खुलेका छन् । करिब २३ वर्ष अगाडि मध्य पहाडी लोकमार्गको ट्रयाक खुले पनि एक दशक अगाडिसम्म बस्ती विस्तार भएको थिएन । अहिले बजार बनेको यो ठाउँमा स्थानीयले धान, गहुँ, तोरीलगायतका खाद्य बाली उत्पादन गरी यहीबाट जीवन चलाउथे । पाँचवर्ष अगाडि जब लोकमार्ग कालोपत्रे भयो तब यहाँ तीव्ररुपमा बजार विस्तार भयो । अहिले खौलाराको चारैतिर ठूला–ठूला घर भवन निर्माण भइरहेका छन् ।पहिले अन्न उत्पादन हुने ठाउँमा अहिले बजार विस्तार हुँदा खुसी लागेको चूडामणि बताउछन् । उनले लोकमार्गले जोडिएपछि यो ठाउँका मुहार फेरिएको बताए । सडकले नजोडिँदा यहाँ चार-पाँच वटामात्रै घर रहेको स्मरण गर्दै अहिले ठूला–ठूला सहरमा जस्तै भवन बनेको घिमिरेले सुनाए । अब नुन बोक्न बुटवल जानै नपर्ने उनको भनाइ छ । “खौलारामा धेरै राम्रो धान फल्थ्यो, समथर ठाउँ थियो, यो गाउँका मान्छेले यही धान, गहुँ उत्पादन गरेर जीविका चलाउथे, अहिले मोटर गाडी आए, धान फल्ने ठाउँमा बजार बन्यो, गाडी गुड्छन्, पहिलेको खौलारा र अहिलेको खौलारामा आकाश पातल फरक छ”, घिमिरेले भने, “खेती मासियो, घर भवन ठडिए, दिनदिनै घर बनेका छन्, पछिपछि त यहाँ खाली ठाउँ देख्नै पाइन्न होला ।”
उनले सडक नआउँदा घण्टौँ यात्रा गरेर दैनिक उपभोग्य सामान ढुवानी गर्ने स्थानीय अहिले घरै अगाडि सबै सामान किनमेल गर्न पाएको बताए । बजार बन्न थालेपछि आवश्यक सामान सबै यही पाइन थालेको घिमिरेको भनाइ छ । उनले अब सामान्य कामका लागि गाउँ छोडेर टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको बताए । उनले भने, “हाम्रो पालामा सामान्य नुन, तेल किन्न पनि बटौली जानुपथ्र्यो, लत्ताकपडादेखि हामीलाई आवश्यक पर्ने सामान यहाँ पाइँदैनथ्यो, अहिलेको जस्तो पसल थिएनन्, बजार देख्न त कि बुटौलीनै जानुपथ्र्यो, कि सुनवल पुग्नुपथ्र्यो, अहिले भन्नुहुन्छ भने घरबाट बाहिर निस्किए बजार देखिन्छ, चाहिएको सामान सबै यहीँ पाइन्छ ।”
स्थानीय देवीराम खरेलले लोकमार्गका कारण यो ठाउँसँगै स्थानीयको जनजीवन परिर्वतन भएको बताउछन् । उनले सडक नआउँदा सामान्य कामको लागि हप्ता दिन हिँडेर सदरमुकाम बागलुङ बजार पुग्ने गरेको भन्दै अहिले तीन घण्टामै पुग्न सकिने बताए । सडकले नागरिकको जीवन सरल र सहज बनाउँदै गएको खरेलको भनाइ छ ।
बडिगाडको सबै ठाउँ सडकले जोडिएको बताउँदै सडकले यहाँ उत्पादन भएका उत्पादित वस्तु बजारसम्म पु¥याउन सहज भएको उनले बताए। अहिले लोकमार्ग छेउछाउका जग्गामा धमाधम बस्ती विस्तार भइरहेको भन्दै यसरी बस्ती बढ्दै जाँदा सडक छेउका जग्गाको मूल्य निकै आकासिँदै गएको उनको भनाइ छ । सडक नआउँदा बाँझै रहेका जग्गा अहिले घडेरीमा परिणत भएको घिमिरेको भनाइ छ ।
सडकले स्थानीयलाई व्यावसायिक पनि बनाएको छ, पहिले गाउँमा उत्पादन हुने तरकारी तथा फलफूल निःशुल्क बाँड्ने चलन थियो, अहिले बजारसम्म ल्याएर थोरै भए पनि पैसा पार्ने बानी बस्दैछ”, उनी भन्छन्, “अहिले त लोकमार्गले छोएको जग्गा खाली छैनन्, कहीँ ठाउँ घर बने, कतै बन्दै छन् भने केहीँ ठाउँमा घडेरी निर्माण भएका छन्, पहिले बाँझो बनेका जग्गा पनि अहिले लाखौँ मूल्यमा बिक्री हुन थालेका छन्, खौलारामा सानादेखि ठूला–ठूला भवनले खाली ठाउँ ढाकिन थालेका छन् ।”
बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले बजारलाई व्यवस्थित बजारका रुपमा विकास गर्न गाउँपालिकाले योजना बनाएको बताए । उनले पालिककै मुख्य बजारका रुपमा यस ठाउँ रहेको भन्दै अब यहाँ बन्ने कुनै पनि घर भवन मापदण्डविपरीत नबन्ने बताउछन् । अब मापदण्डपालना गरेर मात्रै संरचना निर्माण हुने उनको भनाइ छ ।
अध्यक्ष अधिकारीले बजारमा ढल, फोहोर व्यवस्थापनका, सिसी क्यामेरा र सोलार बत्ती जडान गर्ने योजना रहेको जानकारी ए । बजारको सौन्दर्यकरणका लागि गाउँपालिकाले काम सुरु गर्न थालेको उनले बताए ।रासस
समाज
थप सामाग्री-
प्रधानमन्त्री शाहको बुद्ध जयन्ती सन्देशप्रति रक्षा बमको फरक धारणा
-
जग्गा धितो रोक्का–फुकुवा अब अनलाइनबाट, मालपोत धाउनु नपर्ने
-
पेट्रोल र डिजेल सस्तो, एलपी ग्यास तथा हवाई इन्धन महँगियो
-
बल्खुमा डोजर अभियान सुरु, सुकुमबासी व्यवस्थापनमा सरकार सक्रिय
-
वंशीघाट सुकुम्बासी बस्तीमा डोजर : कडा सुरक्षा, स्थानीय त्रसित
२५७०औँ बुद्ध जयन्ती : शान्ति, करुणा र सहअस्तित्वको सन्देशसहित विश्वभर भव्य रूपमा मनाइँदै
९ घण्टा अगाडि
2.1kViews 99 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपालसहित विश्वभर आज (शुक्रबार) २५७०औँ बुद्ध जयन्ती श्रद्धा, भक्ति…



